-Gita Bajagain Adhikari

मानवता

Hollywood Khabar January 17,2023 Comments

-गीता बजगाईॅ अधिकारी, अमेरिका, जनवरी १७, २०२३

 

मानवभित्रको

चैतन्य शक्तिको

उपयोग गर्दै

मान्छेले

मान्छेलाई

मान्छेको जस्तै

व्यवहार गर्नु

मानवता थियो नि

होइन र ?

तर

आजकलका मानवहरू

आफूले जन्मजात पाएको

अलौकिक क्षमताको

विरासत चटक्कै भुलेर

बत्तिएका छन्

हुत्तिएका छन्

दौडिएका छन्

पैसाको खेल खेल्न

पदको ओढ्ने ओढ्न

अनि कसैलाई फसाउन

कसैलाई बसाउन

कसैलाई बेच्न

कसैको बाटो छेक्न

कसैको खुट्टा तान्न

कसैलाई गौँडा कुरेर हान्न

यस्तै यस्तै

बितण्डा मच्चाउन

हुल

र झुन्डहरूको

ताली पिट्न

अर्काको धज्जी उडाई

आफ्नो अभीष्ट पूरा गर्न

फसेको छ

गुदी सुकेर बोर्क्रिएको छ

कसैप्रति दया छैन

माया छैन

सद्भाव छैन

इज्जत छैन

सम्मान छैन

जन्मजात पाएको

विवेक र चेतनालाई

बन्धक बनाई

मलामी बन्न आतुर छ

मान्छे

र उसभित्रको मानवता!

 

साच्चै आजकल

मानवता हराएको छ

कहीं कतै भेटिन्न

मानवता

न त

रामनामीको

खास्टोभित्र भेटिन्छ

न मन्दिरको

घण्टीले ओकल्छ

न चर्च

न गुम्बा

न मस्जिद

न पोप

न कोट

कठै ! किन होला

कतै भेटिन्न

मानवता!

मानवता बेचिएछ

अचेल

कसैलाई उचाल्न

अनि कसैलाई पछार्न

हो

मानवता!

कोठीमा बन्धक बनेको छ

भेरीमा बगेको छ

उखुबारीमा लुकेको छ

चोकहरूमा

च्याँखे पारिएको छ

कारागारमा खॅादिएको छ

न्यायलयमा साँधिएको छ

घरभित्रै जलिरहेको छ

समाजभित्र गलेको छ

अन्यायमा थिचिएको छ

हुलमा मिचिएका छ

स्कुलहरूमा निमोठिएको छ

प्रशासले कुल्चिएको छ

भट्टीहरूको उन्मादमा

पोखिएको छ

लौ भन

सच्चा मानवता कहॅा छ?

आजका दिनमा

मानवता खोज्नु भनेको

आफैँलाई फसाउनु

र आफैँ बेच्नु

जस्तै हो

यो झेली दुनियाँमा

मानवताको आवाज निकाल्नु

बेकार झैँ लाग्छ

सच्चा मानवता भेट्न त

इतिहासको पाना पल्टाउॅदै

नियाल्नु पर्छ

वेदव्यास ,

घोत्लिनु पर्छ

गीतामा

अनि पढ्नु पर्छ

लक्ष्मीप्रसाद देवकोटा

सुन्नु पर्छ

पाल्वो पिकासोका कथा

देख्नु पर्छ

हेनरी वर्डओथका काव्यात्मक

दृष्टान्तहरू

खेल्नु पर्छ

वेलियम शेक्सपिएरका

नाटकहरू

यस्तै गरी

जान्नु पर्छ

विपी

जान्नु पर्छ

मार्टिन लुथर किंग जुनिएर

खट्नु पर्छ

फ्लोरेन्स नाइटेंगलझैँ

साच्चै

यसो गर्न सक्नेहरूको

अन्तष्करणभित्र मात्रै

मानवता मासिंदैन

अग्रजको प्रेरणाले

कवित्वभित्रको

ईश्वरीय शक्ति बोल्छ

तथा

ओकालिन्छ

हृदयको पिंधबाट

बुलन्द आवाज

हे मान्छे हो !

सृष्टिले

नवरसले भरिपूर्ण बनाई

सर्वोत्कृष्ठ प्राणी भनी

घोषित भएका

तिमी

र ऊ

ए ! हामी

सबैको रक्षार्थ खट्ने

सच्छा सिपाई स्वरूपको

मान्छे बन्न सकौं

सबैको साझा भएर

बॅाचौँ

र नाचौँ

यो चोला साच्चै

एकै पटक हो

होस् गरौ

मानवताबाद जिन्दावात॥

गीता बजगाईं अधिकारीका कविताहरु

गद्य कविता-चुनाव!

बाल गीत:साना साना

गद्य कविता:दशैँ

गद्य कविता:गौंडाहरू

तीज गीत