-नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै

Hollywood Khabar December 09,2021 Comments

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ।उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन्। तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन्।यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।

शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ । दाबी विरोधउपर निर्णय पनि भोदि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ ।