-नेपाली कांग्रेसको १४ औं माहाधिवेशन डिसेम्बर १० देखि हुँदै, १३४ जनाको नेतृत्व चयन हुने, ४३१९ प्रतिनिधिहरु

नेपाली कांग्रेसको १४ औं माहाधिवेशन डिसेम्बर १० देखि हुँदै, १३४ जनाको नेतृत्व चयन हुने, ४३१९ प्रतिनिधिहरु

Hollywood Khabar December 08,2021 Comments

मुख्य कुरा:

  • ४३१९ प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक
  • १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने
  • मतदानमा मोबाइल लिएर जान नपाइने
  • संस्थापन इतर पक्ष सभापतिमा साझा उम्मेदवार तय गर्न असफल शेखर र प्रकाशमानको सभापतिमा दाबी कायमै

काठमाडौँ, जनासवालबाट---नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार अहाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ।

यसैगरी उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवाररको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ०८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ । सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ। सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

महाधिवेशनको उदघाट्न मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र हलमा बन्द सत्र हुनेछ । कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।

मतदानमा मोबाइल लिएर जान नपाइने

यसैगरी समितिले व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाईने, मर्यादित र अनुशासित भइ शान्तिपूर्णरुपमा प्रचारप्रसार गर्न पाइनेलगायत आचारसंहिता पनि जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय र राष्टियसभा गृह÷भृकुटी मण्डप, प्रदर्शनी मार्ग यी दुई स्थान महाधिवेशनसँग सम्बन्धीतस्थल रहेकाले उक्त दुई स्थानको वरिपरी ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री व्यानर भित्तेलखन, पोष्टर, तुल, पम्लेट, इत्यादी टास्न एवम् माइकिङ गर्न मनाही गरिएको छ । यस प्रकारका प्रचार सामग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा समितिले हटाउने जनाएको छ । साथै मतदानस्थल (भृकुटीमण्डप÷राष्ट्रियसभा गृह)भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा उल्लेख छ ।

१३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । यस महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने, तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवम् विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब १५० जना महाधिवेशन प्रतिनिधिको नाम भने थप हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

यसैगरी सर्लाहीका चार सङ्घीय निर्वाचन क्षेत्र र महोत्तरीको एक सङ्घीय निर्वाचन क्षेत्रका १३० जना महाधिवेशन प्रतिनिधिको नाम बुधबार साँझसम्म आइपुग्ने उनले बताए । यस महाविधेशनमा जम्मा चार हजार ७०० भन्दा केही बढी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि हुने समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आगामी शुक्रबार प्रकाशन गरिनेछ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत् सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।

संस्थापन इतर पक्ष सभापतिमा साझा उम्मेदवार तय गर्न असफल

काँग्रेसको संस्थापन इतर पक्ष सभापतिमा साझा उम्मेदवार चयन गर्न असफल भएको छ । संस्थापन इतर पक्षको बुधबार चाक्सीबारीमा भएको बैठकमा सभापतिका दाबेदारले आफ्नो दाबी नछोडेको काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिएका छन् । बैठकमा सभापतिका दाबेदार वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा. शशांक कोइरालाले आफ्नो दाबी नछोडेको डा. महतले बताए । यद्यपी डा. शशांक कोइरालाले पौडेलको नाममा सहमति भएमा आफुले छोड्ने बताएका थिए। तर प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबि छोड्न मानेका छैनन् ।

उनले बैठकमा नेता पौडेलले सहमतिमा उम्मेदवार तय नभएमा आफु सक्रिय राजनीतिबाट अलग हुने चेतावनी दिएको बताए । अब फेरि विहिबार बिहान संस्थापन इतर पक्षमा सहमतिको प्रयास हुने बताइएको छ । यसअघि बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विनानिष्कर्ष निस्किएको थियो । महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो । मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् । सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले मंगलबारैै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ । चार नेताहरुका बीचमा बुधबार सहमति नभएकाले बिहीबार फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिए । उनका अनुसार बिहीबार विहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको छ । उनले भने, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला । उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो । नेता प्रकाशमान सिंहको निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी रहेका थिए ।