-एनआरएनए एनसीसी अमेरिका:क्यालिफोर्निया च्याप्टर अध्यक्ष उम्मेदवार एकदेव शर्मा

एनआरएनए एनसीसी अमेरिका:क्यालिफोर्निया च्याप्टर अध्यक्ष उम्मेदवार एकदेव शर्मा

Hollywood Khabar March 17,2021 Comments

हलिउडखबर, मार्च १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि क्यालिफोर्निया राज्य च्याप्टर अध्यक्षमा एकदेव शर्मा उम्मेदवार हुनुहुन्छ।

बाग्लुङ्ग जिल्लाको छिष्टीमा जन्मनु भएका एकदेव शर्माले बुटवल बहुमुखी क्यम्पसबाट IA र BA, ताहचल क्याम्पसबाट BEd, किर्तिपुर केन्द्रिय क्याम्पसबाट MEd सम्मको अध्ययन गर्नुभएको छ। नेपाल सरकारको स्वास्थ्य सेवामा १५ बर्ष काम पनि गर्नुभएका शर्मा बिधार्थी देखिने राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। नेपाल बिधार्थी संघको रुपन्देही जिल्ला कार्यसमितिमा काम गर्नु भएका शर्मा नेवि संघको ४८ औं अर्थात बुटवल महाशिधिवेशनमा चाहिँ आयोजक समितिमा हुनुहुन्थ्यो। सोहि क्रममा नेपाली कांग्रेसको कृयाशील सदस्य पनि हुनुहुन्थ्यो।

२००६ मा अमेरिका आउनु भएका शर्मा सुरु देखिने क्यालिफोर्निया राज्यको लस एन्जलसमा बस्दै आउनु भएको छ। पेशाले रियल स्टेट गर्ने शर्माले थुप्रै सामाजिक काम पनि गर्नुभएको छ। क्यलिफोर्नियामा आधारित रहेको अमेरिका नेपाली सोसाइटीको महासचिव, उपाध्यक्ष हुँदै हाल अध्यक्ष समेत हुनुहुन्छ। यस बाहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्य भएर गतिबिधिमा पनि सहभागी हुनुहुन्छ शर्मा।

गैरआवासीय नेपाली संघको सदस्यता चाहिं २०१२/१३ तिर आर्टेसिया, क्यालिफोर्नियामा लिनु भएको हो। २०१९ मा उहाँले आजीवन सदस्यता लिनुभएर २०१७ मा एनसीसी अमेरिकाको हेल्प डेस्कमा काम गर्नुभएको थियो। यो पटक भने एकदेव शर्मा क्यालिफोर्निया राज्य च्याप्टर अध्यक्षका लागि प्रतिस्पर्धी हुनुहुन्छ।

नेपाल हुँदै देखि गैरआवासीय नेपाली संघबारे जानेका एकदेव शर्माले अमेरिका आएर आफू अलिकति स्थापित हुन समय लिएको। अब एक किसिमले समाजमा स्थापित भएपछि संघमा जिम्मेवारी लिएर काम गर्न अगाडी आएको कुरा हलिउडखबरलाइ बताउनु भयो। एनआरएनए एनसीसी अमेरकामा नयाँ र पुराना दुबैलाई लिएर जानुपर्ने, हाम्रा प्रमुख मुद्दा उठाउन र बृहत्तर रुपमा प्रतिनिधित्व बधाउनको लागि योगदान दिने योजना भएकाले आफूलाइ मत दिनुपर्ने जिकिर शर्माको छ।