-क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन थुनामा राख्न अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन थुनामा राख्न अदालतको आदेश

Hollywood Khabar October 10,2022 Comments

रजेन्द्र केसी, अमेरिका/काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई साथ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।बिदाले अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको थियो।

प्रहरीले लामिछानेलाई अदालत खुल्नासाथै अदालत लगेको थियो । कतारको दोहा हुँदै बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले अदालतको अनुमति लिएर २४ दिनसम्मको समय पाउनेछ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको थियो ।

प्रहरीमा जाहेरी परेको कारण अब प्रहरीले सन्दीपसँग बयान लिई सन्दीपले अन्य कुनै व्यक्तिको नाम लिएका ती व्यक्तिहरुसँग पनि बयान लिन वा बुझ्न सक्नेछ ।

अभियोग पुष्टि हुने आधार र प्रमाण भएमा प्रहरीले अदालतबाट पाएको म्यादभित्रै अनुसन्धान सकी कुन कानुनको कुन दफा लगाएर मुद्दा दर्ता गर्नुपर्ने हो सो को रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलले सरकारवादी मुद्दा बनाएर अदालतमा मुद्दा दर्ता गर्नेछ।