-नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले नियन्त्रणमा लिए

सन्दीप लामिछानेलाई विमानस्थलमै लगाइएको हतकडीको सर्वत्र बोरोध

Hollywood Khabar October 07,2022 Comments

-रजेन्द्र केसी, अमेरिका

बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत्त लगिएको छ। नाबालिगलाइ बलात्कार गरेको आरोप लागेका लामिछानेले आफूलाई हतकडी नलगाउन आग्रह गरेका थिए तर पनि उनलाई हतकडी लगाएर लगिएको थियो।

अमेरिकाबाट दोहा हुँदै कतार एयरवेजको विमानमार्फत सन्दीप नेपाल फर्किएका थिए। आउँदो सोमवार लामिछानेलाई अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। आइतवारसम्म सार्वजनिक बिदा परेकाले अब सोमवार हामी उनलाई अदालतमा पेस गर्छौँ, जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी उपरीक्षक दिनेश मैनालीले हलिउडखबर लाई भने।

करिब एक महिनाअघि बलात्कार अभियोग लागेका सन्दीप लामिछाने तत्कालीन समयमा क्यारेबियन प्रिमियर लिगका लागि जमैकामा थिए। तर उनी त्यहाँ पुगेलगत्तै बलात्कारको आरोप लागे पनि तत्काल नेपाल भने फर्किएनन्। यो बीचमा प्रहरीले लामिछाने नफर्किएपछि इन्टरपोलमार्फत सूचना जारी गरेको थियो।

गत २३ भदौमा उनलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै सन्दीपले २४ भदौमा समाजिक सञ्जाल फेसबुकमा पहिलो स्टाटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए। उनले सिपिएल छाडेर केही दिनमा स्वदेश फर्किने उल्लेख गरेका थिए।

उनले ९ असोजमा आफ्नो स्वास्थ्यमा समस्याका कारण आउनमा ढिलाइ भएको भन्दै अर्को स्टाटस लेखेका थिए। उनले मानसिक रुपमा आफु अस्वस्थ भएको भन्दै आफूलाई आइसोलेसन राखेको र आफू गम्भीर षड्यन्त्रको सिकार भएको उल्लेख गर्दै नेपाल फर्किने तरखरमा रहेको बताएका थिए। पछिल्लो पटक उनले १५ असोजमा आफू २० गते नेपाल फर्किन लागेको बताउँदै आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताएका थिए।

विमानस्थल कर्मचारीका अनुसार जहाजको बिजनेस क्लास टिकटमा यात्रा गरेका सन्दीप करिब एक महिनापछि बिहीबार नेपाल फर्किएका हुन यसअघि अमेरिकाको फ्लोरिडामा थिए। उनी त्यहीँबाट टेक्सास, दोहा हुँदै कतार एयरवेजको विमानबाट नेपाल फर्किएका हुन् अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलो पहिचान बनाएका सन्दीप सँग अमेरिका,क्यानडा सहतिका देशको भिषा रहेको थियो। पहिला बाजागाजा र फूलमालाको सम्मान अहिले हत्कडी।

नेपाली क्रिकेटरले हरेक अन्तर्राष्ट्रिय सफलतापछि स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा सयौँ समर्थक बाजागाजासहित एयरपोर्ट पुग्ने गर्थे। खादा र मालाको सामानसहित स्वदेश फर्किँदाको गौरवपूर्ण अनुभव पछिल्लो समय सन्दीपले जति कसैले पनि भोगेका छैन।

तीनै सन्दीप प्रहरीमा परेको किशोरी बलत्कार उजुरीपछि बिहीबार विमानस्थल उत्रिँदा भने फरक अवस्थाबाट गुज्रिए। उनको हातमा हतकडी थियो।उनले प्रहरीलाई हतकडी नलाउन आग्रह गर्दै पत्र पठाए पनि प्रहरीले नियमानुसार उनलाई हतकडी त लगायो। तर उनको हतकडी रुमालले छोपियो। सेतो ट्रयाकसुटमा एयरपोर्ट झरेका सन्दीपको अनुहारमा कुनै कान्ति थिएन। उनलाई सिधै प्रहरीले नियन्त्रणमा लियो। सायद यो अनुभव भोगाईपनि सन्दीपका लागि फरक रह्यो।

सामाजिक सञ्जाल बेस्सरी तात्यो

बिहीबार नेपाल उत्रिएलगतै सन्दीपलाई प्रहरीले एयरपोर्टबाटै हतकडी लगाएर गौशाला प्रहरी वृत्त लगेपछि सामाजिक सञ्जालमा भने उनलाई हतकडी लगाएको विषयले दिनभर स्थान पायो।

यसअघि जघन्य अपराधको आरोपमा थुनामा रहेका मोहम्मद अफ्ताव आलम तथा बलत्कारकै उजुरी परेका पुर्वसभामुख कृष्णबहादुर महारालाई हतकडी नलागाइएको फोटाहरु राखिएको थियो। कतिपयले कानुन सबैलाई बराबरी हुनुपर्ने भन्दै सन्दीपको हतकडी लगाउनु ठूलालाई चैन र सानालाई ऐन भएको व्यंग्य गरेका थिए। कतिपयले भने फौजदारी मुद्दा लागेपछि हतकडी लगाउनु स्वभाविक भएको प्रतिकृया दिएका थिए।