-मोरङ राजघाटका पत्रकार तेजन खड्का

यूट्यूबरले जस्तो नाटक नगरी समाचार लेखेरै करोडौ जुटाईदिएका पत्रकार तेजन

Hollywood Khabar May 27,2022 Comments

सामान्यता पत्रकारहरु समाचार लेखेर पाठकहरुलाई सुसुचित गर्छन। लुकेर रहेर रहेको समाचारलाई बाहिर ल्याउन पत्रकारको महत्वपूर्ण भुमिका हुन्छ । यद्यपि, मोरङ राजघाटका पत्रकार तेजन खड्काको पत्रकारिता भने फरक छ। यूट्यूबरले जस्तो नाटक नगरी समाचार लेखेरै करोडौ जुटाईदिएका पत्रकार हुन् उनि। समाचार लेखेर पाठकलाई सुसुचित गर्न त सक्रिय छदै छन् नै उनले दिनदुखी र उपचार गर्ने रकम नहुँदा मृत्युसँग संघर्ष गरिहरेका मानिसहरुको लागि उनको कमल निरन्तर चल्ने गरेको छ।

पत्रकार खड्काले हालसम्म करिव १ करोड भन्दा बढि रकम संकलन गरेर बुझाईदिसकेका छन्। जहिल्यै समाचारको खोजीमा हुने यि २३ बर्षे पत्रकार खड्काले समाचार लेखनसँगै सहयोगी हात पनि जुटाई दिन थालेका हुन। खड्काले सामाजिक सन्जाल र अनलाईन न्युज मार्फतसहयोग जुटाईदिएका हुन्।

उनले खुट्टाको मासु कुहिएर झर्न थालेपछि ओछ्यानमा थलिएका मोरङ राजघाट—७ का देवान तामाङको पीडा अनलाइन पत्रिकाहरू प्रकाशित गरिदिएपछि उपचारका लागि देशविदेशबाट २ लाख रकम संकलन गरिदिए । आर्थिक अभावमा मृत्युसँग संघर्ष गर्दै देवान भन्ने शीर्षकको समाचार खड्काले विभिन्न अनलाइनहरूमा प्रकाशित गरे लगत्तै राजघाटबाट हङकङ गई बसेका नेपालीहरूले सहयोग गरे।

आफ्नो गाउँको साथीको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्ने राजघाटबासी हङकङेहरूले समाचार आउना साथ खड्कासँग सम्पर्क गरेका थिए। सबै वास्ताविकता र अस्पतालको रिपोर्ट हेर्नासाथ त्यहाँ कार्यरत जीवन पोमुको सक्रियतामा नेपाली ५० हजार रुपैयाँ पठाइदिएका थिए भने अन्यदेशबाट पनि सहयोग रकम जुट्यो।

तामाङले अहिले उपचार पछि नयाँ जिवन नै प्राप्त गरेका छन्। हालैमात्र तेजनले क्यान्सर पिडीत उमाहाङद्धारा सहयोगको याचना भन्ने शिर्षकको समाचार लेख्नसाथ राजघाट—८ मोरङ निवासी ६५ बर्षीय उमाहाङ चोङबाङलाई ४ लाख भन्दा बढि रकम जुट्यो । हाल उहाँको उपचार भईरहेको छ ।

यति मात्र होइन, पत्रकार खड्काले राजघाट –९ की मुनाकुमारी धिमालको दुबै मिर्गौला फेल भएको बेला पनि ११ लाख रुपैयाँ जुटाउन सहयोग गरे । उनि भन्छन–हामी समाचार लेखेर समस्या उठान मात्र गर्ने हौं । तर अनलाइनमा समाचार आएपछि विदेशमा रहेका गाउँका अग्रज दाजुहरूले तिम्रो अगुवाईमा उपचार खर्च संकलन सुरु गर्न अनुरोध गरेपछि मैले नाई भन्न सकेको छैन् ।

खड्का थप्छन्–सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गरिरहेको बोध हुन थालेको छ । उपचार सुरु भएको झण्डै १८ महिना पछि मुनाको मृत्युभयो । छोरीको उपचारका क्रममा सबै सम्पत्ति सिध्याएका भक्तबहादुरलाई ११ लाख सहयोग जुटाइदिँदा पनि २ लाख रुपैयाँ ऋण लागेको छ ।

खड्काको सामाजिक उत्तरदायित्व यत्ति मै सकिएको छैन् । उर्लाबारीकी ११ वर्षिया एलिसा धिमाल क्यान्सरबाट पिडित भएको बेला पनि खड्काले सहयोगको याचना सम्वन्धी समाचार लेखे । बाबुले आफैंले कुदाउने गरेको रिक्सा बेचेर उपचार गरिरहेको समाचार छापिएपछि एलिसाको उपचार गर्नेको बाढी नै लाग्यो ।

विदेशबाट मात्र हैन्, स्वदेशमा पनि थुप्रै सहयोगी हातहरू जुटे । ७ लाख रुपैयाँ जम्मा भएको थियो । जसमध्ये ३ लाख रुपैयाँ उपचारमा खर्च भयो । तर ,एलिसाको पनि प्राण पखेरु जोगिएन । संकलन भएको मध्ये केही पैसाले एलिसाका बुवालाई सिटी सफारी किनीदिएको र बाँकी पैसाले एलिसा फाउण्डेसन गठन गरिने खड्काको भनाई छ।

खड्काले गत जेठमा ओछ्यानमा थलिएका राजघाट –७ का मोतीप्रसाद खतिवडा उपचार नपाएर छटपटाइरहेको समाचार लेखे।कमजोर आर्थिक अवस्थाका मात्रै होइन ,कान समेत नसुन्ने खतिवडाको समस्यालाई खड्काले गज्जवले उठाए। समाचार आए लगत्तै ,राम्रै सहयोग जुट्यो ।

आफन्त नातेदार समेत उपचार र अस्पतालको बारेमा कम जानकार भएपछि खड्का आफैंले खतिवडालाई उपचारका लागि चितवनको क्यान्सर अस्पताल लगे। तर खतिवडाको रोग छिप्पिसकेकोले उपचार हुन सकेन ।

उपचार खर्च जुटाउने मात्र होइन, मोरङको इटहरा –१ सोमवारेमा फेला परेकी ८४ वर्षीया वृद्धालाई समेत खड्काले विराटनगर स्थित वृद्धाश्रममा थन्क्याउने काम गरे । जहिल्यै चौरस्तामा बसेर मागी खाने ब्राम्हण समूदायकी वृद्धाको विजोग भन्ने शीर्षकमा समाचार लेखेपछि वृद्धाश्रमले पुर्नस्थापनाका लागि ल्याईदिन अनुरोध गरेपछि खड्काले आफैं भ्यानमा राखेर वृद्धालाई विराटनगर वृद्धाआश्रम लगेका थिए ।

त्यस्तै मोरङ इटहरा—७ सिकिम्मे टोलका एकैघरमा ५ जना अपाङ्गता भएका छोराछोरीहरुको समस्याबारे खड्काले समाचार लेखेपछि ५ लाख भन्दा बढि रकम त जुट्यो नै खाद्यन्य तथा लत्ताकपडा समेत त्यो परिवारलाई सहयोग भयो ।

उनीहरुको समस्या खड्काले उठाएपछि अन्य मिडीयाहरुले पनि समचारको फलो गरे । साँसद राज्यलक्ष्मी गोल्छाले घर बनाउने बचन दिएर घर बनाईदिनन् भनेर खड्काले समाचार लेखेपछि इटहरा—४ कै डिल्ली गुरागाईले बेलायतबाट छोरा सुर्य गुरागाईको सहयोगमा १५ लाख बराबरको पक्कि घर बनाईदिए । ढुङ्गना परिवारको यसअघि काठको मक्किएको पुरानो घर थियो । अपाङ्गता मात्र होईन,सुस्तमनस्तिथीका छोराछोरीलाई हेरचाह गर्न गाह्रो थियो ।

खड्का लगायत पूर्ण सिंगक,सरोज बस्नेत,किशोर श्रेष्ठ,बिबेक हिङमाङ,सन्जिब बुढाथोकी,संजिब कार्की,बिजय धिमाल लगायत टीमले न्यानो अभियान कार्यक्रम मार्फत गत पुश माघमा निम्न स्तरका पूर्वी मोरङका सय घर परिवारका अभिभावक तथा वालबालिकालाई न्यानो कपडा र कम्मल तथा सिरक प्रदान गरेको थियो ।

यो कार्यक्रमलाई निरन्तरता दिईने खड्काको भनाई छ । उनीहरुको यहि टिमले उर्लाबारी ४ का अशक्त दम्पत्ति कमल र कमला श्रेष्ठको लागि सहयोग संकलन गरेर १ तले घर निर्माण गरिदिएका थिए ।

यस्तै, उर्लाबारी—१ का दृष्ट्रिबिहीन दम्पत्ति राजकुमार राई र इन्दिरा राई समाचार खड्काले लेखेपछि उनीहरुलाई पनि सहयोग जुट्यो । अहिले उनीहरुको लागि दाताहरुको सहयोगमा पक्की घर निर्माण कार्य भईरहेको छ ।

केहिदिन अघिमात्र खड्काले केहि दिन अघि मात्र इटहरा—१ का दुबै मृगौला पिडीत तेजबहादुर नेपालीको सहयोगको याचना सम्बन्धी समाचार लेखिदिएका थिए । नेपालीलाई ५ लाख भन्दा बढी सहयोग जुटेको र हस्तान्तरण गरिसकेको खड्काले बताए ।

पत्रकारिताका माध्यमबाट समाज रुपान्तर गर्ने अभियानमा लाग्नु भएका २३ वर्षीय खड्का कुनै पत्रिकाको वेतनभोगी पत्रकार होइनन् । कान्तिपुर साप्ताहिक लगायत दर्जन बढी अनलाइन पत्रिकामा समाचार लेख्ने खड्का उर्लाबारी पेज नामको अनलाइन सञ्चालन गर्छन।

पत्रकारिता कमाउन भन्दा पनि सामाजिक प्रतिष्ठाको लागि गरिरहेको बताउने खड्का भन्छन–आफ्नो गोजीमा चिया खाने पैसा हुँदैन,फोनमा ब्यालेन्स हुँदैन । तर समाजले पत्याइ सकेकोले आफ्नो समस्या लुकाएर समाजको समस्या बोकेर हिडिरहेको छु । खड्काले भने – विधवा भत्ता थापेको पैसा आमासँग मागेर धेरै सामाजिक काम गर्न हिडेको छु ।

केहि दिन अघिमात्र राजघाट—७ आसामेटोलकी मृगौला पिडीत सुकमाया लिम्बूको लागि पनि खड्का सहयोग संकलनमा लागिपरेका थिए । उनले लेखेको समाचार हेरेर देशविदेशमा रहेका नेपालीहरुले ६ लाख भन्दा बढी रकम सहयोग गरे ।

खड्का भन्छन् पत्रकारितामा पिडा समस्या आफ्नै ठाउँमा छ । घर नभएर समस्यामा परेका र उपचार गर्ने पैसा नभएर छटपट्टीरहेकाहरुको समाचार लेख्दा घर बन्छ भने, उपचार हुन्छ भने किन नलेख्ने ।

आजभोली कोहि बिरामी परे, समस्या परे घरमा अफिसमा खोज्दै आउनेहरु धेरै छन् । प्राय फोनहरु सहयोग उठाउने जुटाउने सम्बन्धी नै आउने गरेको छ । खड्का भन्छन्‘ लेखेर सहयोग गरिदिने हो । अहिलेसम्म समाचार लेखेपछि सहयोग जुटिनै रहेको छ ।

पत्रकार खड्का अनुसार आफ्नो फेसबुकमा थुप्रै सहयोगी भावका साथीभाई दाजुभाई दिदी बहिनीहरु छन् । उनीहरुले पनि कोहि बिरामी परे कसैलाई सहयोग गर्नुपरे भन्नु हामी सकेको सहयोग गर्छौ भन्नेहरु थुप्रै रहेका छन् ।

खड्काले गत बैशाकमा गएको भुकम्पबाट पिडीत बनेकाहरुको लागि पनि कुलझोडा समुह मार्फत सक्रिय भएर झण्डै १० लाख संकलन गरेर दोलखा,नुवाकोट लगायतको जिल्लामा राहत लिएर पुगे ।

आफुले समस्या उठाइदिने हो,सबैभन्दा ठुलो हात त दाताहरुको छ । रैपनि आफ्नो समाचार हेरेर सहयोग संकलन हुँदा खुशी लाग्छ खड्का भन्छन्‘यसरी नै आफ्नो कामलाई निरन्तरता दिन्छु ।’खड्काको आमा मालती खड्का भन्छिन्–पैसा सबै कुरा होइन् ।

खान लगाउन उसलाई दुख छैन् । नाम र सामाजिक प्रतिष्ठा कमायो,उसको बुवाको नाम राख्यो भने पुग्यो । तर घर ढिलो आउदा पत्रकार मान्छे कसले केहि गरे कि भन्ने चिन्ता जाग्छ , खड्का पुर्व जिशिअ खगेन्द्रबहादुर खड्काका छोरा हुन् ।

उहाँको बुवाको निधन २०५८ सालमा भएको थियो । पत्रकार खड्का हङकङमा रहेका राजघाटका नेपालीबाट ल्यापटव र क्यामेराबाट पुरस्कृत भईसकेका छन् भने राजघाट गाविसबाट सम्मानित भईसकेका छन्।