म तिम्रो सहरमा

Hollywood Khabar April 20,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, अप्रिल २०, २०२३

म तिम्रो सहरमा आउनेछु
मेरो गाउँको पहिचान बोकेर
तिमीलाई उपहार केही दिन सक्दिन
तर
तिमीले लिन सक्छौ भने
धेरै सद्- ज्ञान दिएर जानेछु
हामी त्यतिबेला
आरामदायी होटल र कफी पसलमा भेट्नेछैनौँ
साँगुरो गल्लीमा हाम्रो भेट हुनेछ
किनकि
मेरो पसिनाको गन्धले
तिम्रो सहर दुर्गन्धित हुनेछ
मेरो गाउँको चिसो झरनाको पानीले
तिम्रो सहरको मिनिरल्स बोतल
अपवित्र हुनेछ
मेरो नेपाली पोसाकले
तिम्रो सहरको पहिचान मेटिनेछ
जब हामी भेटिनेछौँ
तिमीले सोच्नेछौ
फेरि नयाँ युग फेरिएछ !!

आजसम्म मेरो गाँउबस्तीले
रातमा उज्यालो देखेको छैन
जुनकिरी जस्तै धिपधिपे बल्ने टुकी
मट्टीतेल नपाएर थन्किएको छ मझेरीमा
मेलापात, घाँसदाउरा, वनपाखा गर्नेहरू
आफ्नै पैतालाको डोबले खोस्रदैछन्
हिडडुल गर्ने गोरेटोहरू
कयौँ पटक बिजेकाछन्
डमर र निलकाँडाका तिखा भालाहरू
आफ्नो अमूल्य जीवन निर्वाह गर्न
चौघेरा पर्खाल लगाएर
खरको फलिकोले खुला आकाश छोपेका छन्
झुपडीलाई छाउने कर्कट पाता नपाएर
शान्तिपूर्वक बाँच्न पाएका छैनन्
भोक, प्यास र थकानले !!
 
सुनेको छु तिम्रो सहरमा त !
दिन के हो ? रात के हो ?
थाहा हुदैन अरे ?
चिल्लो सडकमा चिल्ला सवारीहरू
दिनरात सवार हुन्छन् अरे ?
हिलजुत्ता र सुटबुट बिना
हिडडुल गर्न सुहाउँदैन अरे
अन्दाज गरेको छु
एकदिन पुगेर आउनेछु
तिमीलाई भेट्नेछु
तिम्रो शुन्दर सहरमा
तिम्रो सफा सहरमा
रङ्गै रङ्गले रङ्गिएको
तिम्रो  रङ्गिन सहरमा
तिम्रो हरियाली सहरमा !!
*******