-शीतल निश्चल, गोरखा, लप्सीबोट, मार्च २३, २०२३
डाँडापारी ओझेल पर्न लागेको घाम
एक घडी एक पला कुर्दाकुर्दै
तिमीलाई पर्खेको समय
झिसमिसे साँझ परेको
पत्तै भएन !!
दुईतर्फी आउने जाने मान्छेको क्रम
झनभन्दा झन पातलिँदो छ
तिम्रो पर्खाइमा मेरा आँखाहरू
लम्पसार छन् घनाबस्तीको चौबाटोमा
कहिले पूर्व फर्कन्छु , कहिले पश्चिम
कहिले उत्तर फर्कन्छु , कहिले दक्षिण
एकान्त सुनसान ठाउँ
मन्द गतिमा हावा चलिरहेको छ चौतारीमा,
एकआपसमा पातहरू ताली पिटिरहेछन्
उता
जुनका किरणहरू
धर्ती निकाल्दै मेरो पर्खाइलाई
समयको क्रान्ति भएको संज्ञा दिदैछन्
चराहरू आफ्नो वासस्थानमा
चिर्बिरचिर्बिर चिर्बिराइरहेछन्
खोलानाला, डाँडापाखाले
सुस्त चिसो हावा फाल्दैछन्
बस्तीको सुनसान कुनामा
एकहुल कुकुर भुकिरहेका छन्
आकाशको जून
नदीमा डुबेको देखिन्छ
केही तारा रकेटको वेगमा
आकाशबाट भुइँमा खसेका छन्
सुनसान रात
म तिम्रो पर्खाइमा
उही चौतारीको घेराभित्र
त्रासले काँपेर बसिरहेछु
तिमी आउने प्रतिक्षामा !!
तिम्रो सेतो बस्त्रमा
कयौँपटक अल्झिएको मेरो सपना
भेटेर केही कुरा गरौँ भन्छ
मायाँ,प्रेम साटासाट गरौँ भन्छ
तिमी सपनीमा जस्तै
कताकता देखिन्छौ
आँखा अगाडि हराउँछौ !!
तिम्रो अद्भुत शक्तिमा
पोखिएको आँखाको ज्योति
अचेत भएर मरिरहेको छ
म अन्धो भएको छु
म कायर भएको छु
समय समयमा
तिम्रो प्रेमको लिप्त ह्रासलिलाले
खिचेको मेरो तन र मन
चिहान डाँडाको टाकुरामा पुगेर
अन्त्य हुन्छ
कतै ईन्द्रजालमा पारेर
मेरो अन्त्य गर्ने
षड्यन्त्र रच्ने
कल्पित सुन्दरी त होइनौँ !!
शीतल निश्चलका कविताहरु
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!