-सन्तानेश्वर महादेव मन्दिर

९ महिनापछि खुलेको गोदावरीको सन्तानेश्वर महादेव मन्दिर

Hollywood Khabar December 24,2020 Comments

सन्तोष दाहाल, ललितपुर/१२/२४/२०

विश्वव्यापी कोरोना भाईरस कोभिड १९ को महामारी र सरकारले घोषणा गरेको लकडाउनसंगै भक्तजन र हजारौं दर्शनार्थीहरुको लागि बन्द गरिएको गोदावरी नगरपालिका १३ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर खुल्ला गरिएको छ।हिन्दुहरुको सबैभन्दा ठुलो आराध्येदेव पशुपतिनाथ पनि खुल्ला गर्ने निर्णय संगै उक्त मन्दिर पनि खुल्ला गरिएको हो।

सामाजिक तथा भौतिक दुरी कायम गर्दै र सरकारले तोकेका स्वास्थ्य मापदण्डको पालन गर्दै सन्तानेश्वर महादेव संरक्षण तथा संवर्धन सेवा संघले मन्दिर दर्शनको व्यवस्था मिलाएको छ। सन्तान नभएकालाई सन्तान प्राप्ति र भएका सन्तानको रक्षाको लागि परिचित रहेको यस सन्तानेश्वर महादेव मन्दिर सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ। लामो समयदेखि सन्तान नभएका दम्पत्तीले पनि यहाँको दर्शन गरेपछि सन्तान प्राप्ति भएका उदाहरणहरु प्रचलित रहेका छन्।

यो मन्दिर ललितपुरको सातदोबाटोबाट ५ किलोमिटर दक्षिणपूर्व र समुद्र सतहबाट करिब १५०७ मिटरको उचाईमा रहेको छ। कैलाश पर्वतमा अवस्थित यस शिवालयबाट काठमाडौँ उपत्यकाका तीनै शहरको दृश्यावलोकन गर्न सक्ने भएकाले यसलाई प्राकृतिक भ्युटावरको रुपमा समेत लिने गरिन्छ। यसको शिवलिङ्गको पिठिका दक्षिणतिर फुकेको र उत्तरतिर सुकेको रुपमा कैलाश पर्वत रहेको छ, दक्षिणतिर महादेव र पार्वती विराजमान छन्,उत्तरतिर महाङ्काल भैरवको मन्दिर अवस्थित छ।

पौराणिक कालदेखि नै यहाँ अवस्थित शिलालाई महादेव पार्वती मान्दै पुजा गरिंदै आएको छ, जसको मुर्ति प्राकृतिक हो, यसलाई कहीं कतैबाट मुर्ति कुँदेर या प्राणप्रतिष्ठा गराएर राखिएको होइन। तसर्थ यसलाई ज्योतिर्लिङ्ग महादेव पनि भन्ने गरिन्छ।

औपचारिक रुपमा २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा श्री सन्तानेश्वर महादेव संरक्षण तथा संवर्धन सेवा संघ दर्ता भएपछी यस शिवालयलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको संघका अध्यक्ष विनोद खड्का बताउछन। त्यही बेलादेखि नै नेपाल सरकारको विधिविधान बमोजिम यो चल्दै आएको छ। इन्जिनियर समेत रहेका खड्काले २०६८ मा आफू संघको अध्यक्ष भएपछी वृहत्तर गुरुयोजना सहित सन्तानेश्वरलाई धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि बढ्यो। उनीसंग पुरातात्विक तवरले संरचनाहरुको डिजाईन गर्नसक्ने ज्ञान पनि थियो।

गुरुयोजना अनुसार यहाँ ३५ वटा संरचना छन् जसको पहिलो संरचना अनुसार पशुपतिनाथकै शैलीमै निर्माण गर्ने भनेर काम सुरु गरियो। सोहीअनुसार अहिले मन्दिर निर्माण भएको छ। जसमा दुईतले तामाको छानो, चारवटा बुट्टेदार प्रवेशद्वारहरु, १६ वटा आँखीझ्यालहरु, ४८ वटा टूडाल रहेका छन्। अरु ठाउँ अनुसारका संरचनाहरु जस्तै भक्तजनहरुलाई सुख सुविधा हुने पाटीहरु,आराम गर्ने ठाउँ, शौचालय, पानीको व्यवस्थापन, भजनकीर्तनको लागि भजनमण्डली,प्रहरी चौकीको व्यवस्था लगायतका कामहरु लगभग सम्पन्न भईसकेका छन्।

नेपालको प्राय सबी जिल्लाबाट यस मन्दिर दर्शनका लागि दैनिकजसो भक्तजनहरु आउने गर्छन।कतिपय मेला तथा चाडपर्वको समयमा त भीड थेग्न प्रहरीलाई समेत हम्मेहम्मे पर्ने गर्दछ। मुख्य रुपमा साउने सोमबार,शनिबार,माघ महात्म्यको समय तथा शिवरात्रीको समयमा विशेष मेला र शिवपुराण लाग्ने गर्दछ।

यी सबै काम र संरचना हालसम्म भक्तजन,सहयोगदाता तथा स्थानीयवासीको उल्लेख्य रुपमा सहयोग रहेर नै सम्पन्न भएको संघका अध्यक्ष विनोद खड्का बताउँछन । स्थानीय सरकार आएपछि वार्षिक रुपमा सन्तानेश्वर महादेवको नाममा १० लाख छुट्टिने गरेको तर यतिले मात्र केही हुन नसक्ने उनको गुनासो छ। अन्य सरकारी निकाय बाट यसको थप वृत्तिविकासका लागि ध्यान जान नसकेको उनले बताए।

यद्यपि गोदावरी १३ का वडाध्यक्ष भाष्कर थापाले भने गत वर्षहरुमा १० लाख नगरपालिकाबाट छुट्टिए पनि यस वर्ष १५ लाख छुट्याईएको र संघीय सांसद नवराज सिलवालको पहलमा पर्यटन मन्त्रालय मार्फत ४० लाख स्वीकृत भईसकेको समेत बताए। सन्तानेश्वर महादेव क्षेत्र विकास भई यो अवस्था सम्म आईपुग्नमा वडा कार्यालय, नगरपालिका, स्थानीय जनता,भक्तजनहरु, संरक्षण समिति समिति सबैको उल्लेखनीय योगदान रहेको उनको भनाई छ।

कहाँ पुग्यो मनोरेलको नारा ?

गत स्थानीय निर्वाचनको संघारमा वादाध्यक्षको उम्मेदवार बनेका भाष्कर थापाले वडाको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सन्तानेश्वरमा नेपालकै पहिलो मनोरेल निर्माण गर्ने भन्ने घोषणापत्रमा उल्लेख गरेका थिए भने समय समयमा यो विषयलाई सन्तानेश्वर महादेव संरक्षण तथा संवर्धन सेवा संघले उठाउँदै आएको थियो। यद्यपि हालसम्म यसको प्रगति विवरण जनताले देख्न पाएका छैनन्।

यस विषयमा के कस्तो पहल र काम भईरहेको छ भन्नेमा वडाध्यक्ष भाष्कर थापाले यसको निर्माण डिलिंग कम्पनीले सम्भाव्यता अध्ययन गरेको र वडा, स्थानीयवासी , समिति बसेर छलफल गर्दा वातावरणीय परिक्षण (आईईइ) गर्ने चरणमा पुगेको र लकडाउनले असर गरेको बताए। संघका अध्यक्ष विनोद खड्काले पनि काम अगाडी बढ्दै गर्दा कोरोना महामारी र लक्डाउनकै कारण काम रोकिएको बताउछन।