असोज ९ मै स्थानीय तह अधिवेशन गर्ने कांग्रेसको निर्णय

असोज ९ मै स्थानीय तह अधिवेशन गर्ने कांग्रेसको निर्णय

Hollywood Khabar September 21,2021 Comments

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको बताए ।

‘अब दशैंअघि पालिका अधिवेशन मात्रै हुन्छ, बाँकी त्यसपछि हुन्छन्,’ उनले भने । नयाँ परिमार्जित कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन ।कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा यी जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । पौडेल समूहले बाँकी जिल्लाको वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने माग गरेपछि कार्यतालिका संशोधन भएको बताइएको छ ।

पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता पौडेल समूहको बैठक बसेको थियो । पौडेल समूहले सबै अधिवेशनहरु सबै जिल्लामा एकै समयमा हुनुपर्ने निर्णय गरेको थियो । पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कार्यतालिका संशोधनबारे कुनै निर्णय नभएको बताए । उनले ९ असोजका लागि तय भएको पालिका अधिवेशन तोकिएकै मितिमा गर्ने सहमति भएको बताए ।