बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बढायो

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बढायो

Hollywood Khabar October 05,2021 Comments

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।

संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।  

पछिल्लो एक साता यता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । यातायात व्यवसायीले आफूखुसी भाडा बढाएपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि चक्रपथमा गाडी तेर्स्याएर विरोध नै गरेका थिए । 


यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा बागमती प्रदेशका यातायात मन्त्री केशवराज पाण्डेलाई नै भेटेर भाडा समायोजन गर्न दबाब दिएको थियो । आजसम्म प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा नबढेमा आन्दोलनको चेतावनी व्यवसायीहरुले दिएका थिए ।

संघीय सरकारले भाडा समायोजन गरिसकेको र व्यवसायीले पनि दबाब दिन थालेपछि प्रदेश सरकारले भाडा समायोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव अशोक कुमार शाहले जानकारी दिए । उनले उपत्यका बाहिरको हकमा २३ प्रतिशत भाडा बढेको बताए ।