फलामे छडको मूल्य घट्यो

फलामे छडको मूल्य घट्यो

Hollywood Khabar October 02,2021 Comments

सरकारले फलामे छडमा लाग्दै आएको अन्तस्शुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पञ्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तस्शुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तस्शुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए । नेपाल सरकारले गत २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तस्शुल्क नलाग्ने व्यवस्थाको यस सङ्घ स्वागत गर्दछ ।  सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु चारले घट्न जाने जानकारी गराउदछौँ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी रु चार घटाई फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ ।’

सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने पाँच प्रतिशतको भन्सार र अन्तस्शुल्कमा छुट दिएको भन्दै बिलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस बिलेट आयातमा प्रतिटन रु एक हजार ६५० अन्तस्शुल्क लाग्ने गरेकोमा बढाएर रु दुई हजार ५०० पुर्‍याइएको छ ।