इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षाकाे व्यवस्था

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षाकाे व्यवस्था

Hollywood Khabar September 23,2021 Comments

रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले  र वैदेशिक रोजगार विभागका महानिर्देशक  दीपक काफ्लेले सो जानकारी दिएका हुन् । 

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७  सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तवार्ता अवधिभरलाई अवसर दिइएको छ । छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तरवार्तामा सहभागी हुन पाउने भएका हुन । विभागका महानिर्देशक काफ्लेले भने, “कुनै कारण विशेषले छुटेकालाई पुनःआवेदन दिएर सहभागी गराउन सकिनेछ ।” 

सरकारले सेवा शुल्क १० हजार तोकिएका मुलुकमा रोजगारीमा पठाउँदा नागरिक र सरकार दुवै ठगिएको सचिव गौतमले बताए । सरकारलाई तोकिएको रकम कागजातमा देखाइने गरिए पनि त्योभन्दा बढी रकम लिइरहेका छन् ।  बैठकमा वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष मेघनाथ भुर्तेलले सरकार आफैँले व्यवसायी भएर वैदेशिक रोजगारमिा नागरिक पठाउन नहुने बताए । सङ्घका उपाध्यक्ष ईश्वर केसीले बन्दाबन्दी पहिले ‘भिजिट भिसा’मा गएका नागरिक अहिले अलपत्र परिरहेको जानकारी दिए। समिति सभापति विमलप्रसाद श्रीवास्तवले भिजिट भिसामा पठाएर त्यहाँ अलपत्र परेका नागरिकका गुनासो समितिसमक्ष आइरहेको बताए । रासस