१ असार काठमाडौं ।सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नाताभित्रको नै हुनु नपर्ने भनी व्याख्या गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६ मा गरेको अंश विवाद सम्बन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेको हो ।
नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ । अंशहकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्ने छैन, स्याहारसुसार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्छ वा कानुनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्त गर्न सक्छ ।
‘अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछे,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘छोरीहरूमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ । छोरी नभए सँगै बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरू हकवालाले अपुताली पाउँछ ।’
सर्वोच्चले अंश र अपुताली फरक विषय भएकाले यसको दाबी पनि फरक फरक हुने व्याख्या पूर्णपाठमा गरेको छ । पूर्णपाठमा ‘अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्ने छैन,’ सर्वोच्चको फैसलामा भनिएको छ,‘स्याहार सम्भार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्छ वा कानुनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्त गर्न सक्छ ।’भन्दै कानुनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्ने नसकिने उल्लेख छ । तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ । आफ्नो रगतको गर्भको सन्तान हुँदा हुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन नसक्ने सर्वोच्चको फैसलामा उल्लेख छ । सोही महलको तत्कालीन ४ नम्बरमा सँगै बसेका वा भिन्न बसेका बाबु छोरामा अघिबाट छोरो र पछिबाट बाबु मरी अपुताली परेकोमा त्यो अपुताली छोरीहरूले पाउने रहेछन् भने बाबुकी छोरी र छोराकी छोरी दुवै भए दुवैले बाँडी खान पाउने सर्वोच्चको फैसलामा उल्लेख छ । भिन्न नभई सँगै बसेका अरू अंसियारहरूमा सबै मरी अपुताली पाउने भएमा सबै अंसियारहरूका छोरीहरूले ऐन बमोजिम बाँडी खान पाउने सर्वोच्चको फैसलामा उल्लेख छ ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!