-Chet Nath Kanel/चेतनाथ कणेल-हरित

एक वृद्धको आत्मव्यथा (कविता): म अल्जाइमरे बूढो नबिर्सूं कसरी ?

Hollywood Khabar September 05,2020 Comments

यहाँ हो कि त्यहाँ, ठाउँ कहाँ कहाँ ?
बिर्सनेले छोएछ क्यारे आफैं परेँ ट्वाँऽऽ
पुरानै हुन् काम तर लाग्दैछन् है कठिन
बिर्सिजान्छु सबै कुरा भुल्न थालेँ रुटिन ।

चिजबिज उही ठाउँमा, राख्ने गयो ख्याल
ढोका खोलेँ भन्दा पनि खुल्छ किन झ्याल ?
सम्झूँ सम्झूँ भन्दाभन्दै बिर्सन पो थालेँ
आफ्नै नाता–पाता पनि भुली जान थालेँ !

समयको हेक्का पनि, भागी जान आँट्यो
सत्य कुरा बोल्दा भन्छन् ‘बूढो’ले नै ढाँट्यो
जमघट बाट किन अलग् बसम् लाग्छ ?
कुरा पनि आफ्नै मात्र गरम् जस्तो लाग्छ ।

सुन्न मन नलाग्नै खै, बोल्नै मन लाग्ने
कानको सुनाइ कम हुँदा झर्को पनि लाग्ने
सानातिना समस्या ’नि पहाड लाग्न थाले
हिसाब–किताब गर्ने कुरा ‘टन्टा’ लाग्न थाले ।

खुट्टाले ’नि टेक्ने ठाउँमा, छोडे किन टेक्न ?
आँखाले नि हेर्ने ठाउँमा छोडे किन देख्न ?
ऐना हेर्छु आफ्नै मुहार धमिलो पो लाग्छ
भुलक्कड’को गाली सुन्दा अमिलो पो लाग्छ !

सम्झनामा आइरहन्छन्, जमानाका कुरा
दिमागबाट भागी जान्छन्, ताजा–ताजा कुरा
शब्द पनि ‘तोते’ बन्दै मुखमा हराइदिन्छन्
नबुझेर परिवारले सातो उडाइदिन्छन् !
झर्को, फर्को, लर्को, तर्को कस्तो बुढेस् आयो !

विस्मृतिको पिरलोले वाक्क–दिक्क लाग्योे
लौन डाक्टर मलाई पनि निको पारिदेऊ
डिमेन्सिया अल्जाइमर्सलाई नास गरिदेऊ !!