धार्मिकस्थल गोसाइँकुण्डमा विद्युत् विस्तार गर्न निकुञ्जको अवरोध

Hollywood Khabar September 15,2021 Comments

धार्मिकस्थल गोसाइँकुण्डमा विद्युत् विस्तार गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ । विद्युत् विस्तार गर्दा वातावरणमा असर पर्ने भन्दै निकुञ्जले अवरोध गरेको हो । तीन वर्ष अघि नेपाल विद्युत् प्राधिकरणले गोसाइँकुण्डमा विद्युत् लैजानका लागि टेण्डर गरेको थियो ।

टेण्डर भएपछि चन्दनबारीसम्म विद्युत् विस्तार गरिएको छ । निकुञ्जको अवरोधका कारण त्यहाँबाट माथि लैजान नसकिएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । चन्दबारीदेखि गोसाइँकुण्डसम्म विद्युत् विस्तारका लागि आवश्यक सामग्री पुगिसकेकाले निकुञ्जले सहजीकरण गरेकोे खण्डमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम भण्डारीले बताए ।

आर्थिक वर्ष २०७५र७६ भित्र गोसाइँकुण्डमा विद्युत् विस्तार गरिसक्ने गरी काम सुरु गरिएको थियो । मिनी गोसाइँकुण्डदेखि गोसाइँकुण्डसम्म ११ केभीको लाइन निर्माण हुने छ । पहिलो चरणमा मिनी गोसाइँकुण्डदेखि चन्दनबारीसम्म पुर्याइने योजना थियो । प्राधिकरणले वातावरण तथा वन्यजन्तुलाई हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै पोलमा एबीसी केबल राखेको छ भने पोलमा समेत हरियो रङ्ग लगाउने योजना बनाएको छ । निकुञ्जका सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार निकुञ्जको कोर क्षेत्र परेकाले समस्या आएको हो । गोसाइँकुण्डसम्म विद्युत् सेवा नपुग्दा तीर्थयात्री तथा व्यवसायीलाई समस्या हुँदै आएको छ ।