-कपिल अन्जान

कविता -पैताला मुनिको माटो

Hollywood Khabar June 18,2019 Comments

किन ल्याप्चे भन्दा 
स्वतन्त्र छैन हाम्रो नीति ?
किन आकाश भन्दा 
फराकिलो छैन आश्वासन ?
किन माटो दुख्दा दुख्दैन मन ?

एकाविहानै
किसान खेतबाट लेखेटिएपछि
उसले खोजेको छैन नागरिकता
खोजेको छैन परिचय

उसलाई थाहा छैन नेपाल कहाँ पर्छ
तर,
यही माटो खन्दा खन्दै 
खनिएकी हुन् उसकी आमा
जोत्दा जोत्दै जोतिएका हुन् उसका बा
त्यसरी नै ऊ आफ्नै साँधमा
छिमेकीहरुबाट खाली हात लखेटिएको छ

उसको बालीमा कहिल्यै चरेनन् पशुहरु
कहिल्यै डामिएन बटुवाका पैताला
आज उसकै आँगनमा युद्ध मैदान जस्तो 
हतियारहरु बिसाइए 

उसको खेतसम्म आइपुगेको छ सिमानाको पिलर
अब खेत पनि युद्ध मैदान हुनसक्ने डर छ

ऊ यति मात्र जान्दछ
माटो भएन भने 
किसान हुन्न
यो देश हुन्न
र कोही पनि हुन्न

यही नहुनेको पीडामा
ऊ पैतालामुनीको माटो खोज्दैछ

ऊ जान्दैन
सरगमाथाको रंग कस्तो हुन्छ !
बुद्धका दुई आँखाले के सिकाउँछन् !
अहिले कसको सरकार छ !

थाहा छ त केबल
माटोमाथि हुन्छ देश
उसलाई नेपाल थाह छ
तर थाह छैन नेपाल कहाँ पर्छ
र कहाँसम्म पर्छ

समय बदलिएछ भने
फेरी पनि कुनै दिन  
एउटो बीर सन्तान जन्मनेछ
छिमेकीसँग युद्ध गर्नु भन्दा पहिले
शासकसँग लड्ने छ 
र च्यात्नेछ
पुराना असमान सन्धि र दस्तावेजहरु