-खानेपानी मन्त्री मगरको प्रतिबद्धता:एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ

खानेपानी मन्त्री मगरको प्रतिबद्धता:एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ

Hollywood Khabar November 16,2019 Comments

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उहाँले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताउनुभयो । सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो । उहाँले भन्नुभयो, ‘जसका कारण अहिले सम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।

उहाँले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताउनुभयो । यो सडक भित्री सडक भएपनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उहाँको भनाइ छ । ‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ, उहाँले भन्नुभयो, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।

मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गर्नुभयो । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गर्नुभयो । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ ।

मन्त्री मगरले सोमबार नै प्राबिधिकको टोली आएर सडकको अवलोकन गर्ने र थप प्रक्रियाहरु अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो सडकमा पानी जम्ने समस्या पनि रहेकोले त्यसको दीर्घकालिन समाधानको उपायका साथ सडक कालोपत्रे गरिने मन्त्री मगरको भनाइ छ ।

सो अवसरमा पुनर्वास नगरपालिकाका मेयर थापा, बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, सडक डिभिजनका ईञ्जीनियर अर्जुन बहादुर बम लगायतको उपस्थिति थियो ।

गत बर्ष पनि खानेपानी मन्त्री मगरले सरकारले दिएको ४ करोड रकम कञ्चनपुर क्षेत्रको विकासमा नै खर्च गर्नुभएको थियो । उहाँले १ करोड रुपैयाँ पुनर्वास नगरपालिकालाई प्रदान गर्नुभएको थियो । जसमा ४० लाख रकम पुनर्वास १० को लमैया पुल निर्माणका लागि खर्च भएको थियो । १० लाख पुनर्वास ९ मा भ्यू टावर निर्माणका लागि खर्च भएको थियो ।

त्यस्तै उहाँले बेलौरी नगरपालिकामा पनि १ करोड रुपैयाँ सडक निर्माण, बाटोघाटो निर्माण, बिद्यालय भवन निर्माण लगायतका कामका लागि छुट्याउनुभएको थियो । त्यसैगरि लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका लागि पनि १-१ करोड रुपैयाँ उहाँले छुट्याउनुभएको थियो ।

उहाँले कञ्चनपुरका बिभिन्न स्थानीय तहका १ सय स्थानमा खानेपानीका योजनाहरु समेत दिनुभएको छ। उहाँले बिद्यालय, मठ–मन्दिर, सार्वजनिक स्थानहरु, खेलकुद मैदान, चर्च, बिभिन्न समुहहरु, स्मृति भवनहरुमा पनि ट्यांकी, पानी फिल्टर, साना सिचाईका उपकरणहरु पनि पु-याउनुभएको छ ।