काठमाण्डौंको सडक:सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

Hollywood Khabar August 28,2018 Comments

१३ भाद्र काठमाण्डौं।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो।सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

सो कार्यालयले मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाइएको थियो।सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको उक्त सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा स–साना खाल्डाखुल्डी देखिएको छ।अनुगमनका क्रममा विद्युत् र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिबद्धताअनुसार नभएको पाइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए । सडक छेउको नाली तथा पैदल मार्गको मध्यभागमा नयाँ पोल गाडिएको भेटिएको छ।त्यस्तै निर्माण सामग्री यत्रतत्र छरिएर राखिएको अवस्थामा पाइएको थियो।