दिपक अभिमन्यू

लघुकथा मखमली बिछ्यौना

Hollywood Khabar October 10,2018 Comments

उ आज रातभरमा करीब सातपटक बिउँझियो‚कारण आज उसको ओछ्यान फेरिएको थियो।गाउँको पातलो गुदको गुन्द्री ओछ्याएर त्यसमा एउटा डसना राखेर सुतेर हुर्केको मान्छे आज उ सरकारी नोकरीमा लागेको नि सत्र अठार बर्ष पछि सरकारी खर्चमा बिदेश भ्रमणको अवसर जुटेको उसलाई फाईभस्टार होटेलको मखमली बिछ्यौनामा निन्द्रा पर्न गाह्रो भयो।हुन त त्यो एउटा बहाना मात्रै थियो भित्री कारण त अरु नै थियो।उसको प्राणपखेरु मुटुको ढुकढुकी र जीवनको खुशी उसले नेपाल मै छाडेर आएको थियो।हुन त सरकारी कामले ब्यस्त कार्यक्रम तालिकाका बिचमा पनि उसको मन मस्तिष्क उहि मुटुको ढुकढुकी र जीवनको खुशीमै घुमीरहेको हुन्थ्यो।साथीहरुको रमाईलोमा पनि उत्तिकै सरिक उसको मनसगै उसले आफनो  खुशीपनि सङ्गै लिएर घुमीरहन्थ्यो उ।घरिघरि उ त्यो जीवनको खुशी यहाँपनि साथै भए सायद सुनमा सुगन्ध हुन्थ्यो तर पनि उसले मनभरि लिएर कहि उसको अभाव हुन भने दिएको थिएन।

उसको मन मस्तिष्क नेपालमै उसको खुशी र ढुकढुकीसंग हुन्थ्यो भने शरिर र आँखा मात्रै कार्यक्रम तालिकामा नाचिरहेको थियो।दिनभरिको भागम भाग अनि दौडाहा सकेर बल्ल होटेल पुगेर खाना खाएर सुतेको उसलाई मखमली बिछ्यौना पनि बिझायो।दशैंको मुखमा छोरा छोरी र श्रीमतीलाई बजार डुलाउदै उनी उनीहरुको फर्माईस पुरा गर्दै सारा किनमेल सकेर रेस्टुरामा गएर उनीसंगै रमाउँदै खाजा खानुको मजा यहाँ कहाँ।दशैंको मुखमा यस्तै यस्तै सम्झिएर होला सायद उसको मस्तिष्क निदाउन सकेन र घरिघरि बिउझिरह्यो।

भन्थे भोक नहुदाको चौरासी ब्यञ्जन र निँद नहुदाको मखमली बिछ्यौना उस्तै हो । तर आँखाभरि निँद र शरिरभरि थकान हुदाहुदै पनि उ उसको खुशीसङ्ग लुटुपुटु हुदै निदाउनुको आनन्द सम्झिएर होला सायद गाढा निदाउन सकेन । तथापि उ सम्झना र यादैयादका लहरहरुसंगै जीवनको त्यो अथाहा खुशीलाई अङ्गालीरह्यो खुशीसङ्गै यात्रारुपी सागरमा पौडीरह्यो । उसलाई त्यो मखमली बिछ्यौनाको आनन्द भन्दापनि यादैयादका लहरहरुसंगै खुशीलाई अङ्गाल्दै लुटुपुटु गर्दै खुशीसङ्गै यात्रारुपी सागरमा पौडनुको आनन्दमा उ रमाईरह्यो । उसका लागि मखमली बिछ्यौना भन्दा उसकै खुशी ठुलो रह्यो अरु सब फिक्का।