दिपक अभिमन्यू

लघुकथा : लोग्नेको माया

Hollywood Khabar July 02,2017 Comments

अब त दैनिकी पनि आधुनिकताले छपक्कै छोपे झै लाग्छ।व्यस्त दैनिकीले कुशल प्राय थकित हुन्छ।परिवारलाई राम्रोसँग समय दिन सकेको छैन उसले।अब त उसको बानी व्यवहारलाई हेर्दा,घर परिवारभन्दा पनि काम नै पहिलो प्राथमिकतामा परेको हो कि भन्ने लाग्छ।उ बेलुका घर जाँदा बच्चाहरु सुतिसकेका हुने अनि आफू बिहान घरबाट निस्किँदा उठेकै नहुने।बच्चाले बाबु नचिन्ने अनि बाबुले बच्चा।कसैको पिता भएर पनि पिता हुनुको महसुससम्म थिएन उसलाई बाबुको माया कस्तो हुन्छ बच्चाले बुझ्न सकेका थिएनन्।

श्रीमतीको सामीप्यताको आवश्यकताले उसले एकरात निदाएकी श्रीमतीलाई बिउँझायो।खुशी र उल्लासको मौका छोपी यूजिनले कुशलसङ्ग मनमा लागेको कुरा भनीन-“बिहेपछि हामी एकदिन पनि बाहिर घुम्न गएका छैनौँ,हजुरसँग दुईचार रात एकान्त सुन्दर ठाउमा घुम्न जान मनछ, जाउन है।हामीलाई नपुग्दो के छ र? तैपनि तपाईंको व्यस्ततालाई बुझेर नै आजसम्म केही नभनि बसेँ म।” यूजिनले एकै सासमा आफना थोरै ईच्छाहरु भन्न भ्याई।अँगालोमा बेरिएकी यूजिनलाई घचेट्दै कुशल कड्कियो “रातिसँगै छँदैछौँ त हामी,के वाहियात कुरा गर्या के म मेरा लागि मात्र खटिरा हो र !” भन्दै फन्किएर अर्कोतर्फ फर्किएर सुत्यो कुशल।

कुशल त निदायो तर यूजिन रातभर निदाउन सकिन।उसको मनमा  एउटै कुरा घुमिरह्यो।के लोग्नेस्वास्नीको साथ भनेको केवल लोग्नेको ईच्छा अनुसार उसको ईच्छा पुरा गर्न तयार भई दिनुसम्म मात्र सीमित हो त? लोग्नेका कुराले उसलाई लोग्नेसङ्गको आत्मियतादेखि धेरै टाढा पुर्याएको थियो।उ बिछिप्त भएकी थिई।उसका आँखा साउनको झरिले निथ्रुक्क भएको मुसाझैं भएको थियो मन।आँसुले सिरानी भिजेर सुत्नै नहुने भएर अर्कोतिर पल्टाउँदै निदाउने कोसिस गर्दा पनि निदाउन सकिन त्यो रात आँखा झिमीक्कै नगरि बित्यो।

कुशल जिरी गएको आज तीन दिन भयो।एक साँझ कुशल बसेको होटलमा एक जना बृद्ध हिमश्रृङ्खलाहरुको दृश्यपान गर्दै वाईनको चुस्कीमा रमाईरहेका थिए भने अर्को छेउमा करीब उस्कै उमेरका एक दम्पति गफ्फिदै मस्किदै जिस्किदै सन्ध्याकालिन त्यो सुन्दरतामा रमाईरहदाको त्यो दृश्यलाई उ अर्को कुनामा बसेर टुलटुलु हेरिरहेको थियो।खै आज उसको मनमा के कुराले छोयो थाहा छैन।उसले ती बृद्धलाई नजिकै गएर सोधे हजुर किन एक्लै वाईन पिईरहनु भएको छ?उसको प्रश्न चुहिन नपाउदै बृद्धले भने आज उनी मेरो साथ भैदिएको भए जिरीको यो साँझको रौनकता छुट्टै हुन्थ्यो किनकी उनी मसंग यस्तै राईलो ठाउँमा बस्न अनि घुम्न चाहान्थिन तर आज उनी यस ससारमा छैनन तारा बनीसकिन्। तैपनि म उनलाई यी दुईटा आँखामा राखेर मुटुको ढुकढुकीसङ्ग लिएर यो प्राकृतिक सुन्दरताको रसपान गरिरहेको छु। तिम्रो उमेरमा त हामी बुढाबुढी कति घुम्थ्यौं कति डुल्थ्यौं जीवनको मज्जै छुट्टै थियो।यति सुन्नासाथ उसले त्यो रात पहिलो पटक श्रीमतीले कतै घुम्न जाने ईच्छा व्यक्त गर्दा उल्टै उसलाई गाली गरेर गैरजिम्मेवार भएको पल सम्झदै होटल भित्र गयो। 

कुशलका आँखाबाट आँशुको बाढी आउन थाल्यो।ती वृद्धको कुराले कुशलको सोचाईमा कायापलट गरिदियो।उ आजसम्म एउटा असल र कर्तब्यनिष्ठ पिता अनि जिम्मेवार पति हुन नसकेको भान भयो।यतिखेर साँच्चै नै एउटा पति र पिता जागेर आयो उसको मनमा।केही बेर मौन रह्यो,कोठामा गयो र यूजिनलाई फोन गर्यो तर उठेन।आज उ ती बृद्धका कुराले भाव विह्वल भयो उसलाई यूजिनको त्याग र उसको सफलतामा पुर्याएको योगदानप्रति नतमस्तक हुन मन लाग्यो।यूजिनले फोन नउठाएपनि निरन्तर फोन डायल गरिरह्यो गरिरह्यो। उसलाई केहि खान मन लागेन।कतिखेर उज्यालो हुन्छ र काठमाण्डौं पुग्नु र अङ्गालोमा बेरेर आजसम्म नदिएको अथाह माया र स्नेह एकै पटक खन्याउँ झै भयो उसलाई।यस्तै यस्तै कल्पनामा डुबेर भित्ताको घडीमा हेर्दै कोल्टे फेरिरह्यो।