Hollywoodkhabar advertisement

सन्दर्भ मे १ :मजदुर दिवसको उपलब्धी !

लेखक अधिवक्ता दिपक कुमार बिष्ट

मे १ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवका रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ। मजदूर दिवसको दिन हुने हरेक कार्यक्रमहरुमा आफुलाई मजदुरका नेता भन्नेहरु ठुला ठुला भाषण दिन्छन र तालि परररर बजाउने चाहि उही मजदूरहरु नै हुन्छन् । त्यसैले यहाँ मजदूर दिवस किन र के का लाग भन्ने बिषयमा केहि कोट्याउने प्रयास गर्दैछु ।

मजदुर दिवसको सन्दर्भ के हो र यो किन मनाउने भन्ने बारेमा अहिले मजदुरहरुमा नै उदासिनता देखिन थालेको छ । २४ घण्टाको समयमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोञ्जन हो तर यहाँ रोजी रोटीकै लागि सधैं मजदूरी । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा शुक्रबार विश्वभर १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । संयोगले यसबर्ष संसारभर फेलिएको कोरोनाको महामारीले गर्दा मानिसहरु सबैजसो मुलुकमा कोरोना संक्रमणबाट बच्न र बचाउन लकडाउनमा छन्।कल कारखाना उध्योग व्यवसाय जहाँ मजदुरहरु काम गर्छन ति सबै लकडाउनका कारण बन्द छन्। यसैकारणले हरेक बर्ष मनारउने गरिदै आएको मे दिवसका यस बर्षका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्।  

संविधानको धारा ३३ ले प्रष्टरुपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने तथा रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुन बमोजिम हुने उल्लेख गरेर नयाँ संविधानले श्रम र श्रमिकको सवाललाई मौलिक हकका रुपमा नै व्यवस्था गरेको पाईन्छ । यसले प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हकसमेत सुनिश्चित गरेको छ । त्यस्तै नेपालको संविधानको धारा ३४ मा ‘प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ।प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ।’  भाषण गर्दा मञ्चमा नेता देखिएपनि हरेक ऐतिहासिक आन्दोलनमा हुर्ने हो भने अग्रमोर्चामा रहेर नारा लगाउने र गोली खाने तिनै निमुखा मजदूर अर्थात श्रमजीवी हुन्छन् । आन्दोलनपछि प्राप्त हुने हकाधिकार र हरेक परिवर्तनमा रमाउने फेरि उही नेता हुन्छन्। मजदुर अर्थात श्रमिकको अवस्था भने जहाँको तहिँ हुन्छ र कुनै पनि आफुलाई मजदुरका नेता भन्न रुचाउनेहरु कसैले पनि मजदुरलाई मजदुर भन्दा माथि उठाउन चाहादैनन् भन्ने कुरा सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनदेखि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्दासम्मका अध्ययनबाट पनि यस्तै देख्न सकिन्छ । नेपालकै सन्दर्भमा भन्दा २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिए पनि मजदुरको अवस्था आजका मितीसम्म पनि उस्ताको उस्तै छ भन्दा फरक नपर्ला। २००७ साल देखि २०७७  सालसम्म आईपुग्दा एकदलिय पञ्चायती व्यवस्था बहुदलिय व्यवस्था प्रजातान्त्रिक लोकतान्त्रीक गणतान्त्रिक मुलुक हुदै संघिय गणतान्त्रिक नेपालसम्मको अभ्यास गरिरहदा पनि मजदुरका उत्थानका बारेमा न त मजदुरका नेता न त राज्य नै चिन्तित भएर लागेको देखिन्न ।मुलुकमा श्रमिक, मजदूर, किसान र न्यून आय भएका वर्गको हितमा काम के के भए औंलामा गन्न सकिने समेत अवस्था देखिन्न। श्रमजीवी वर्गको नेतृत्व गर्नेहरु नै अहिले सरकारमा छन् । 

संसारका अन्य मुलुक झैं नेपाल पनि लकडाउनमा छ । छिमेकी मुलुकमा मजदुरीका लागि गएका र सीमामा अलपत्र परेका,देशकै विभिन्न शहरमा मजदुरी गरिरहेका लकडाउनमा घर फर्किदा बाटोमा अलपत्र परेका मजदुरलाई घरसम्म पुर्याउन पनि सरकार गम्भिर देखिएन। जव केहि नेताहरुले आफ्ना कार्यकर्ताका रुपमा र देश बिभन्न शहरहरुमा मजदुरी गरिरहेका र दैनिकी जिवीकोपार्जनमा कठिनाइ भएका कारण आ आफना जिल्लामा फर्काउन थालेपछि बल्ल राज्यको ध्यान गएको देखिन्छ । सीमामा कति हाम्रा नेपाली मजुदुरहरु अलपत्र छन? वैदेशिक रोजगारीमा कुन देशमा कति नेपाली मजदुरी गरिरहेका छन् सरकारसंग कुनै अभिलेख नहुनुले पनि मजुदरको हकहितमा कति लागि परेको छ भन्ने प्रष्टै देखिन्छ । 

न्यूनतम ज्यालाले डेरा गरेर बस्नेले परिवार पाल्न र सामान्य रोग लाग्दा उपचार गर्न समेत कठिन हुने अवस्थामा आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा त उसको सामार्थ्य भन्दा बाहिरको कुरा हुन जान्छ। अर्कोतिर मजदूरका नेताहरु भने आलिशान महलमा बसेर विलाशी गाडीमा सयर गर्दै मालिकसंग ह्वीस्कीको चुस्की लिएर सौदावाजी गरिरहेका हुन्छन् वा आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दलको स्वार्थका लागि मजदूरलाई सडकमा उतारिरहेका हुन्छन् ।

मजदूर र मालिकबीचको सुमधुर सम्बन्ध नै मुलुकको आर्थिक विकासको आधार भनिन्छ । श्रम अनुसारको ज्याला पाउनु श्रमिकको अधिकार हो भनि भन्छौं हामी । तर, न्यूनतम आवश्यकता पूर्ति गर्ने गरी पारिश्रमिक निर्धारण भएपनि नेपालमा यसको कार्यान्वयन हुन सकेको छैन । “संसारका मजदूर एक हौं” भन्दै माक्र्स–लेनिन–माओका तस्वीर अंकित पम्प्लेट छापेर टाँस्दैमा मजदूर एकता हुँदैन । एउटै कारखानाभित्र कैयौं राजनीतिक दलमा आबद्ध मजदूर संगठन हुन्छन् । उनीहरु राजनीतिक दलको नीति अनुसार विभाजित भएर काम गर्दछन् । उनीहरुले एक पक्षले उठाएको माग अर्को पक्षले वेवास्ता गर्ने गर्दछन् । मजदूरहरुमा चरम विभाजनले गर्दा मजदूरहरुले पाउनुपर्ने सुविधा पाउन सकेका छैनन् । मजदूरमाथि त्यहीँबाट राजनीति शुरु हुन्छ ।   वास्तवमा भन्ने हो भने श्रमिकको तलब अन्यको भन्दा बढी हुनुपर्ने हो तर उनीहरु नै न्यून ज्यालारकममा काम गर्न बाध्य छन् । मजदूरको सम्मानजनक मजदूरीका लागि राजनीतिक दलहरुबाट मात्र होईन सरकारका तर्फबाट पनि कुनै पहल भएको पाईदैन । नारा घन्काएर मात्र मजदुरको हित हुने होईन।के मजदूर सडकमा टायर बाल्न, गोली खान मात्र हो त ? अनि यो मजदुरका लागि भनिए पनि मजदुर दिवस कसका लागि मनाईन्छ केका लागि मनाईन्छ र उपलब्धी के ? सोच्नु पर्ने अवस्था आईसकेको छ । यसतर्फ सरकारको छिट्टै ध्यन जाओस । मजदुर दिवस सबै मजदुरको अत्थानका लागि कोशेढुङ्गा सावित होस । अस्तु !! 

ADVERTISEMENT-----