Hollywoodkhabar advertisement

नदी किनारमा परमानन्द !

-Chetnath Kanel
0
shares

-चेतनाथ कणेल-हरित/श्रृङ्गा, गुल्मी, हाल, नयााबानेश्वर, शङ्खमूल, काठमाडौ

हिजोसम्म देख्दै थिएँ
विशाल आकाशभित्र बटारिएका
सेता, काला, राता बादलका डोरीहरू
र, छिनमै बर्सेर धर्तीमा
यो मेरो सामिप्यको नदी चुलिएको छ
सुख्खायाममा रोइरहँदा थाकेको
मेरो प्रिय नदी फेरि फुलिएको छ
प्रफुल्लित र उल्लासित बनेको छ !

बादलका टुक्राहरू–
जो समुद्रबाट उठेर फिँजिन्छन्
र, छिनमै मेरा खहरे, खोला र नदीहरू हँसाउँछन्
छिनमै उच्छालित र तरङ्गित हुन्छन्
र, हाँस्छन् भ्यागुताहरू, माछाहरू, बकुल्लाहरू
र, यिनै प्राकृतिक हाँसोहरूबीच म हराउँछु
नदीको अविच्छिन्न तरङ्गमा
कलकल जल–सङ्गीतमा
अथकताको परिचायकमा
प्रकृतिको अपूर्व ‘गायक’मा !

प्रवाह छ, पर्वाह छैन
गति छ, चिन्ता छैन
फोहोर हुनसक्छ, तर आत्म शुद्ध छ
र,
यही शुद्धताको परिपाकभित्र
यही बाध्यताको नियतिभित्र
जब सूर्यको प्रकाश परावर्तन हुन्छ
जब चन्द्रमाको शीतलता प्रसारित हुन्छ
म नदीसँगै हराउँछु
म नदीसँगै धुनमय बन्छु–
नदी किनारमा ध्यानस्थ बन्छु,
र भन्छु–
“यथा नदीना बहवोडम्बुवेगाः
समुद्रमेवाभिमुखा द्रवन्ति ।”
र,
अर्थ खोज्दै गीताका पङ्क्तिमा समवेत्
स्वर/लय/भाका र ‘ट्युनिङ्ग’ मिलाउँदै
नदीसँगै/नदीको बहावयुक्त तरङ्गसँगै
एकछिन म पनि
समुद्रतर्फ प्रवाहित हुन्छु
पर्वाहविनाको प्रवाह
जीवनातीत ‘परमानन्द’को प्रवाह !!