-अब नेपाल जाँदा अनअराइभल भिसा पाइने, क्वारेण्टाइनमा बस्नु नपर्ने

अब नेपाल जाँदा अनअराइभल भिसा पाइने, क्वारेण्टाइनमा बस्नु नपर्ने

Hollywood Khabar March 29,2021 Comments

अब नेपाल जाँदा अनअराइभल भिसा पाइने, क्वारेण्टाइनमा बस्नु नपर्ने

नेपाल सरकारले कोभिड-१९ को संक्रमणका कारण बन्द गरेको अनअराइभल भिसा अब खोलेको छ। नेपालमा पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएता पनि नेपाल सरकारले भने नेपाल प्रवेशमा खुकुलो नीति अपनाएको छ।

नेपाल सरकारको पर्यटन विभागले २०७६ चैत ७ गते सूचना प्रकाशित गरी पदयात्रा, भ्रमण, क्यक्तिगत तथा सामूहिक पदयात्रा स्थगित गरेको थियो। हाल विभागले एक सूचना प्रकाशित गर्दै सो निर्णय गरेको जानकारी दिएको छ। गत बर्ष फागुनबाट रोक लगाइएको अनअराइभल भिसा अब प्रदान गर्ने भएको छ।

नयाँ ब्यबस्था:

  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले हवाइ रुटबाट नेपाल आउने पर्यटकलाई उनीहरुको देशमा भिसा उपलब्धता नभए अनअराइभल भिसा उपलब्ध हुने।
  • स्थलमार्गबाट नेपाल आउने पर्यटकले भने विदेशस्थित नेपाली मिसनबाट भिसा प्राप्त गरेपछि मात्र नेपाल प्रवेश गर्न पाउने।
  • नेपाल आउने पर्यटकले नेपाल प्रस्थान गर्नुपूर्व ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको पिसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ। अथवा कोभिड-१९ विरुद्को पूर्ण भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्ने छ।
  • नेपाल प्रस्थान गर्नुपूर्व विदेशीले नेपालको भिषा वा पर्यटन विभाग अथवा पर्यटन बोर्डको सिफारिस बुझाउनुपर्ने छ।
  • नेपालमा बस्ने होटलको बुकिङ वा बास बस्ने व्यवस्थाको ग्यारेन्टी देखाउनु पर्नेछ।
  • यात्रा बीमाको कागज देखाउनुपर्ने छ। बीमामा नेपाल बसाइका क्रममा आपतकालीन खोज, उद्दार, उपचार लगायतका सूचना समेत समावेश हुनपर्ने छ।
  • अब क्वारेन्टाइनमा बस्न भने नपर्ने निर्णय भएको छ।
  • तर पीसीआर नेगेटिभ रिपोर्ट अथवा कोभ्याक्स कार्ड भएका पर्यटकले नेपाल प्रवेश गरेपछि पुन:पीसीआर परीक्षण गर्नुपर्ने छ।
  • पीसीआर रिपोर्ट प्राप्त नहुँदासम्म उनीहरु होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ। यदि पीसीआर रिपोर्ट पोजेटिभ आए उनीहरु होटलमै स्वास्थ्य मापदण्ड पालना गर्दै नेगेटिभ रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ।
  • यदि नेगेटिभ आयो भने उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छैन। उनीहरु पदयात्रा, पर्वतारोहण तथा यात्रा गर्न पाउने छन्।
  • यसअघि नेपाल आउने जोसुकैले पनि यहाँ प्रवेश गरिसके पछि कम्तिमा ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हटाइएको छ।
  • पर्यटकलाई घुमाउने एजेन्सीहरुले उनीहरुसँग यात्रामा सहभागी हुने पथ प्रदर्शकहरुको एक लाख सम्मको स्वास्थ्य बीमा गराउनुपर्ने छ।
  • भारतीय पर्यटकका हकमा हवाइ मार्गबाट नेपाल प्रवेश गर्नेहरुले नेपाल-भारत ट्राभल बबल एग्रिमेन्ट आकर्षित हुने विभागले जनाएको छ।
  • स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका हकमा सीमा नाकामा उनीहरुले पीसीआर नेगेटिभ रिपोर्ट अथवा कोभ्याक्स कार्ड देखाउनुपर्ने छ। नेपाल प्रवेश पछि उनीहरुले पीसीआर परीक्षण गर्नुपर्ने छ।
  • नेपालमा रहँदा सबै पर्यटकको निगरानी, उपचार उनीहरुलाई नेपाल ल्याउने संस्थाको जिम्मेवारी हुने। नेपालमा पदयात्रा, पर्वतारोहण गर्दा पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गराउने जिम्मेवारी समेत यात्रा सहजिकरण गर्ने कम्पनीको हुने छ।
  • मापदण्ड पालना नगरे, पर्यटक, उनीहरुको यात्रा सहजीकरण गर्ने कम्पनी दुवैलाई कारवाही गरिने छ।