-Bidhya Bhushan Karki

नेपाली काँग्रेस क्रियाशील सदस्यताको भुक्तानी ओली ट्रान्सपोर्टमा

Hollywood Khabar February 11,2021 Comments

बिद्याभुषण कार्की, क्यानाडा, फेब्रवरी १२, २०२१

बहुदलीय व्यवस्थामा आस्था राख्ने भएपछि राजनैतिक प्राणी मानिसको आ-आफ्नै पार्टी हुने नै भयो। करीव ६० हजारको नेपाली जनसंख्या रहेको क्यानाडामा अधिकांश नेपाली मुलका व्यक्तिहरु प्रजातान्त्रिक विचार धारा याने कि नेपाली कांग्रेसप्रति झुकाव राख्छन भन्ने कुरामा विमति देखिएन।

यति भएपछि नेपाली कांग्रेसको विदेश स्थित रहेको पार्टी एकाई नेपाली जनसम्पर्क समिति क्यानाडाको गतिबिधिप्रति परोक्ष वा अपरोक्ष्य चासो रहने नितान्त स्वाभाविक कुरा नै हो। फेरी म जस्ता झन्डै पूर्णकालीन कांग्रसको कार्यकर्ता बन्छु भन्ने व्यक्तिको लागि त अझै बढी चासो रहनेभयो। त्यसैले केही सयको लागि जनसम्पर्क समिति क्यानाडाप्रति केहि चासो रहुनुलाई किमार्थ नकार्न सकिन्न।

२०४६ सालबाट नेपाल बिधार्थी संघ (नेविसंघ) स्कूल कमिटिको सचिव पदबाट नेपाली कांग्रेससंग जोडिन पुगेको म स्कुल कमिटीको अधक्ष्य हुदैं जिल्ला समिति, सम्पर्क समिति र काठमण्डौको नाम चलेको कलेजबाट स्वतन्त्र बिधार्थी युनियन (स्वबियु) मा निर्वाचित भए। अनि नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यता नबिकरण गर्नु एक कांग्रेस कार्यकर्ताको हैसियतले मेरो नियमित स्वेच्छिक धर्म र अधिकार पनि हो।

आफ्नो बसोबास रहेको ठाउँबाट क्रियाशील सदस्यता भर्नु नियम संगत र व्यबाहारिक पनि हो। त्यसैले मैले नेपाली कांग्रेसको क्रियाशील नबिकरण गर्न जनसम्पर्क समिति क्यानाडा मात्रै एक मध्यम थियो। अन्यथा सदासयता नै नभरी बस्नु पर्थ्यो। तर त्यसबाट मेरो क्रियाशीलको निरंतरत बिगत २० बर्षमा पहिले पटक टुट्न जान्थ्यो। त्यसैले यही ढोकाबाट मात्रै मेरो क्रियाशील नबिकरण हुन्थ्यो।

त्यसपछि मैले अनलाइन सदस्यता नबिकरण गर्ने बाटो रोजे। कांग्रेसप्रति अस्थावान म जस्तालाई वेब साइट खोल्ने बित्तिकै नेपाली कांग्रेसको झन्डा अनि रुख चिन्ह देख्दा पुलकित नहुने कुरै भएन। अझ त्यो भन्दा नि ज्यादा मेरा श्रदेय नेताहरु बिपी कोइराला, सुबर्ण शम्शेर, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुको तस्वीरले केही बेर मन लालाहित हुने नै भयो। तनमा जोश र मन भरी यिनै नेतालाई सम्झदै त्यही पार्टीको क्रियाशील सदस्यता नबिकरण गर्दै मस्तिष्क भरी कयौ स्मृती उछलकुद भैरह्यो।

वेबसाइटबाट करिव ५/१० मिनेट जति लगाएर क्रियाशील सदस्यताको फाराम भर्दै गएँ। नेपाली कांग्रसको बिधानको परिच्छेद ३ दफा ५ बमोजिम नबिकरण शुल्क आधा मात्रै अर्थात १५ अमेरिकी डलर लाग्थ्यो। सोही अनुरुप दिमागले हिसाब किताब गरिसकेको थियो। तर जब पेमेन्ट गर्न नबिकरण शुल्क वापत ५० क्यानेडियन डलर देखियो। त्यसले मेरो उत्साह प्रद यात्रामा झ्याप्प ब्रेक हान्यो। म केहि बेर रोकिएँ पनि। फेरी एक मनले सोचे, शुल्कको बारेमा पछि कुरा गरौला अहिले चाहिं यो जाबो ३० क्यानेडियन डलर थप नै त हो। त्यो पनि म जस्तो चार्टर्ड एकाउण्टेनलाई कति नै ठुलो भयो र ? पार्टी कै लागि हो भन्ने दिमागमा आयो। अनि फेरी यात्रालाई निरन्तरता दिन एक्सिलेटर थिचे क्रियाशील सदस्यता लिनको लागि। क्रेडिट कार्डको जानकारी सहित पेपालबाट दस्तुर बुझाउन जव किल्क बटन थिचे तब मात्रै मैल सोच्दै नसोचोको कुरो आइलाग्यो।

त्यो सरप्राइज थियो ई भौचारमा प्रापक ओली ट्रान्सपोर्ट लि थियो, जनसम्पर्क समिति थिए। मैल पैसा जनसम्पर्क समिति क्यानाडा मार्फत मेरो पार्टी नेपाली कांग्रेसलाइ बुझाएको थिएँ तर पैसा गयो अर्कै साइनो नै नभएको परिकल्पना बाहिरको प्राइभेट कम्पनिमा। मैले पो गल्ती गरे कि भनेर पुन हेरे होइन रहेछ। केहि बेरमा मेरो इमेलमा पे पालले पनि इरिसिप्ट पठायो जसमा पनि सोहि बिबरण उल्लेख थियो। त्यस पछि भने म निश्चित नै भएँ कि मैल पठाएको पैसा नेपाली कांग्रेसलाई होइन ओली ट्रान्सपोर्ट लिलाई रहेछ। जुन पैसा लिन मेरो अस्थाको झन्डा, पार्टी र नेता (माथि उल्लेख गरिएको नाम) जानेर या नजानेर प्रयोग भएछ। यो मेरो चौथो पटकको क्रियाशील नबिकरण हो भने यस्तो अनुभव भने नितान्त नौलो र पहिलो पनि। यस अघि भने पार्टी कै आधिकारिक खातामा या रिसिप्टबाट पैसा बुझाएर सोही अनुसारको निश्सा लिएको झल्झली दिमागमा आयो।

प्रश्न मेरो ५० डलर को थिएन, वित्तीय संस्थाको नियामक निकायमा उच्च पदमा एक दशक काम गरेको र सेतो धन, कालो धन अनि एन्टाइमनि लण्डरिङ्गको राष्ट्रिय, अन्तरास्ट्रिय तालिम लिदै र दिदै हिडेको म जस्तोलाई एउटा कामको प्रयोजनको लागि तिरेको पैसा अर्को खातामा जम्मा हुँदा आत्मग्लानी हुनु स्वाभाविक थियो। अरुले त्यस्तो गरे त गर्नु हुन्न भनेर खबरदारी गर्ने मेरो जस्तो पेशा (सर्टिफाइड अडिटर) भएको जो कोहीलाई पनि आफैले सो काम अन्जानमा गर्दा पनि पश्ताप लाग्नु स्वभाबिक थियो।

संसारको मात्रै हैन क्यानाडा कै नियमानुसर पनि यसरी गलत खातामा पैसा जम्मा गर्न लगाउने कार्य गैरकानुनी हो। मैल तिरको ५० डलर मध्ये खातावालाको दयामायाले पार्टीलाई पठाएमा अधिकारीक शुल्क वापत करिव १९ डलर जति नेपाली कांग्रेसले पाउने भयो भने बाकी ३१ डलर सोही नाम नसुनेको ट्रान्सपोर्ट लिलाई जबर्जस्ती चन्दा भयो।

कम्पनीलाई प्राकृतिक व्यक्त्ति पनि भनिन्छ जसको अस्तित्व अविछिन्न रहन्छ भने परिकल्पना गरिएइको हुन्छ। संस्थामा व्यक्ति आउछन जान्छन तर संस्था भने अनवरत रुपमा अघि बढ्छ भन्ने अवधरणामा संस्था दर्ता गरिऎको हुन्छ। अनि दर्ता गर्ने नियामक निकायले पनि सोहि सर्वव्यापी मान्यताको आधारमा सस्था दर्ता गरिदिएको हुन्छ।

नेपालको अति दुरदराजमा जन्मिएको संस्थाको पनि आफ्नै बैक खाता हुन्छन। जहाँ बैंकसम्म पुग्न घण्टौ हिड्नुपर्छ तैपनि संस्थाको सबै कारोबार संस्थाको आफ्नै बैक खाताबाट अनिबार्य गर्ने गराउने निर्देशन दिदै हिडेको म स्वयमको अनुभव छ। झन् क्यानाडा जस्तो मुलुकमा त टोलमा मात्र होइन हातहातमा नै बैंकको स्मार्ट सिष्टम छ। न पैदल यात्राको झन्झट, न समय खर्च, न त त्यत्रो ठुलो खाता संचांलन शुल्क नै।

संस्था जन्मसंगै सोको आफ्नै बैंक खाता अनिबार्य शर्त हो। तर करिव ८ बर्ष अघि जन्मेको नेपाली जनसम्पर्क समिति क्यानडालको हालसम्म बिना खाता संचालमा रहेको हो या भएर पनि नचलाएको हो अनुमान भन्दा कयौ गुना आश्चर्यको बिषय भयो। संस्थाको खाता नै नहुने या भएर पनि सो भन्दा बाहिरबाट आर्थिक कारोबार गर्नु दुवै जघन्य बित्तिय अपराधको बिषय हो भन्ने कुराको हेक्का संस्थाका पधादिकारीलाई छैन भनेर परिकल्पना गर्न मिल्दैन। हैन त्यस्तैमा आदत बसिसकेको हकमा भने यो लेखलाई तीललाई पहाड बनाएको भनेर भन्ने ऐच्छिक छुट सरोकारवालामा निहित रहने नै छ।

क्यानाडामा नै उच्च शिक्षा लिए यहीको बजारमा उच्च तहमा कार्यरत केही साथीहरु पनि कार्य समिति भित्र हुनुहुन्छ। यो खाता संचालनको बिषयमा चर्चा नभएको हो या बिरोधको बाबजुद पनि कार्यन्वयनमा गएको हो भावी दिनले बताउला तर म जस्तै कयौ व्यक्तिलाई नेपाली कांग्रसलाई जानुपर्नु पैसा अन्यत्र नै पुग्दा अमिलो अनुभूति पक्कै नै भएको होला। यस आलेखलाई प्रतिनिधि भावना मानि अहिले पढ्न पाउदा पक्कै पनि खुशी मिल्ने नै छ भने अपेक्षा राखेको छु।

संस्थाको आफ्नै खाता हुनुपर्छ र सोही खाताबाट मात्रै आर्थिक कारोवार गर्नु पर्छ भन्ने सामान्य भन्दा सामान्य बिषयको हेक्का नहुनेले विवादित जनसम्पर्क मिलाउछ र सबै प्रजातान्त्रिक छाता संस्था हुन्छ भनेर आशा गर्नु सोम प्रसादको सातुको कथा जस्तै हो। तर पनि कार्य समितिका मेरा केही इमान्दार साथीहरुलाई मुलभूत प्रश्न छ।

  • कति जनाले र क-कसले क्रियाशील सदस्यता भरे र सो वापतको रकम कति उठ्यो भनेर माग्ने अविच्छिन्न तपाइँको अधिकार हनन भै सक्यो। किनकि नियम अनुसार अरु कसैको निजी खाताको बिबरण माग्नु बन्चित छ।
  • अब मानौ दश हजारले शुल्क बुझाए रे सो मध्ये ५०० को रकम केन्द्रिय कार्यलय बुझाए पछि सात जान प्रतिनिधि जान पाईन्छ। अनि बाकी ९,५०० को पैसा कहाँ जान्छ? अनि नियमानुसार लाग्ने शुल्क भन्दा बढी उठाएको पैसा कहाँ गयो भनेर जान्न मन लाग्यो भने कसरी मनिटरिङ्ग गर्नु हुन्छ?
  • भोली नेपाली कांग्रेस केन्द्रिय कार्यलयले वा यहाँ कै आधिकारिक नियामक निकायले सोध्यो भने पदाधिकारीको रुपमा यहाँहरुको जवाफ के हुनेछ ?
  • यी यावत नैतिक र कानुनी प्रश्नको जिम्बेबारीबाट तपाइले पन्छिन मिल्छ ? स्वस्थानी ब्रतकथाको महिमा चर्चा गर्ने यो माघ महिना जहाँ सात बर्षे बालिका गोमाले त अन्जानमा गरेको गल्तीको सजाय भोग्नु पर्यो भने तपाई बोर्डका साथीहरुले यस्ता गहन बिषयमा अनविज्ञता प्रकट गर्दैमा सजिलै उन्मुक्त्ति मिल्ला र ?
  • यसरी अर्काको खातामा पैसा जम्मा गर्न लगाउने बिश्व भरिका ३५ वटा जनसम्पर्क मध्य तपाईहरु मात्रै एक भएकोमा के तपाईहरुलाई गौरवको महसुस भएको छ ?
  • म जस्तो क्रियाशील सदस्यता नबिकरण गर्न एक कार्यकर्ताले तपाई र ओली ट्रान्सपोर्ट लिसंग के सम्बन्ध छ भनेर सोधे भने के जवाफ दिनु हुन्छ ?
  • प्रष्ट रुपमा भन्छु, कांग्रेस कार्यकर्ताले नबिकरण वापतको दस्तुर बिधानले तोके भन्दा बढी किन तिर्ने अनि पैसा सिधै जन सम्पर्कको खातामा जम्मा नभएर किन अमुक कम्पनीमा जम्मा गर्न बाध्य पारियो जन सम्पर्क समन्वय विभागको समेत ध्यान जाओस।

अन्त्यमा, रूपचन्द्र बिष्ट (थाहा) संग सम्बन्धित एउटा सत्य कथा जुन मेरा परम आदरणीय नेता प्रदीप गिरीको मुखार बिन्दुबाट करिव अठारबर्ष अघि गणेशमान अध्यन प्रतिष्ठानका अध्यक्ष्य नविन्द्रराज जोशीले आयोजन गरेको एक कार्यक्रममा सुनेको थिएँ। एक बिहान अघिल्लो रातको बर्षातले मकवानपुरबाट निलो गगन र त्यसको सानिध्यतामा रहेको सेतो हिमाल खुबै मनमोहक देखिएछ रे। निकै बेर कुरे तर त्यो चौतारीमा कुनै बटुवा आएनछ सो मनमोहक दृश्य कसलाई देखउँ भनेर बसेका उनको धैर्यताले बाध टुटेछ। अन्तमा एउटा कुकुर आएछ र बिष्टले दुइवटा कान पक्रेर उचालेछन र सो मनोरम दृश्य देखाएछ्न। तर त्यो कुकुर न पर्यो त्यसले त्यो मनोरम दृश्यको के वास्त गरोस चुई चुई गरेर रुदै भुइ तिर पो हेरेछ। त्यसैले बिष्टले देखाए झैँ बिधिसम्बत काम गर्ने र छाता संस्था बनाउने अनि अगाडीको मनोरम दृश्य हेर्ने कि मन लाग्दी गर्दै हिड्ने अनि कुकर झैँ भुइँ तिर हेरेर रुने तपाईहरुकै जिम्मामा। उदहरण जस्ताको तस्तै प्रस्तुत गर्नु परेकोले बिम्बको रुपमा कुकुर प्रयोग गर्नु परेको हो। तपाईहरु भने मेरो मर्दा पर्दाको अभिन्न मित्र हुनुहुन्छ।

**शंकरदेव क्याम्पसको ने बि संघ पुर्व अध्यक्ष्य तथा नेपाल राष्ट्र बैंकका पुर्व उपनिर्देशक रहिसक्नु भएका लेखक हाल क्यानाडामा एक बहुराष्ट्रिय कंपनीमा चार्टर्ड एकाउनटेण्टको रुपमा कार्यरत हुनुहुन्छ**