-एनआरएनए आइसीसीको महासचिवमा अमेरिकाका डा केशव पौडेल उम्मेदवार हुने

एनआरएनए आइसीसीको महासचिवमा अमेरिकाका डा केशव पौडेल उम्मेदवार हुने

Hollywood Khabar July 19,2021 Comments

कृष्ण के सी, अमेरिका, जुलाई १९, २०२१

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आगामी कार्यकाल २०२१-२०२३ को लागि महासचिवमा डा केशव पौडेल उम्मेदवार हुने भएका छन्।

नेपालको तनहुँ जिल्लामा जन्मेर टिचिङ हस्पिटल महाराजगंजबाट एमबिबीएस गरेका डा केशव पौडेलले अमेरिकाबाट मेडिकल डाक्टर डिग्री (एमडी) अनि एमबिए समेत पुरा गरेका छन्। बिगत लामो समय देखि अमेरिकामा मेडिकल पेशामा कार्यरत डा पौडेलले आफू यो पटक महासचिवमा उम्मेदवार हुने बताएका छन्।

उसो त डा पौडेल बिधार्थी कालमा नेपाल बिधार्थी संघको राजनीतिमा पनि सक्रिय थिए। नेपाल बिधार्थी संघको केन्द्रिय सदस्य पनि भएका हुन्। नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना काल देखिने सक्रिय डा पौडेल विभिन्न संघ-सँस्थामा समेत संलग्न हुँदै आएका छन्। नेपाल र अमेरिकामा दुवै देशमा थुप्रै क्षेत्रमा लगानी समेत गरेका डा पौडेल ब्यबसायिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ता पनि हुन्।

एनआरएनको अभियानमा भने उनि २०१३ देखि आधिकारिक रुपमा संलग्न भएका हुन्। २०१३-२०१५ कार्यकालमा डा पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सल्लाहकार थिए। २०१५ -२०१७ र २०१७-२०१९ मा गरि दुइ-दुइ कार्यकाल एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित अध्यक्ष भएर काम गरेका छन् डा पौडेलले।

२०१५ मा निर्वाचित भएर पदभार लिन नपाउँदै नेपालमा गएको महाभूकम्पको पिडामा सेवा दिन नवनिर्वाचित टोलि नै लिएर लामो समय नेपाल गएर काम गरेका थिए। २०१७ को निर्वाचनमा नै आफू आइसीसी महासचिवको दावी गर्दै-गर्दा पनि एनसीसी अमेरिकाको अध्यक्षमा नै दोहोरिएका थिए डा पौडेल। गत २०१९ को निर्वाचनमा थोरै मतले आइसीसीको उपाध्यक्षमा पराजय भोगेता पनि संघको अभियानमा निरन्तर छन् डा पौडेल। यो पटक भने उनी महासचिवकै लागि उम्मेदवार हुने भएका छन्।

एनआरएनएको अभियानमा २०१५ पछि संघबाट धेरै काम गर्न सकिन्थ्यो तर खासै रुपमा उपलब्धिका काम गर्न सकेको छैन। केहि भएका काम नियमित भनौं या दैनिक रुपमा गर्ने काम मात्र भएका छन्। केहि पुराना कुरा निरन्तर दिने र केहि प्रोजेक्ट सम्पन्न गर्ने काम भएको छ। त्यो पाटो राम्रो हो तर गर्नुपर्ने धेरै काम बाँकी छन्। एनआरएनहरुको मुख्य एजेण्डाहरु नै छायाँमा परेका छन्। कतिपय त बिषयको उठान नै भएको छैन।

गैरआवासीय नेपाली नागरिकता र अन्य हक-अधिकारको बिषय नेपालको संबिधानमा लेखिएर आएको यतिका बर्षभयो तर पनि त्यसको ऐन बनाउन पहल पुगेको छैन। मध्येपूर्वमा श्रमिकका बिषय हरेक पटक उठाइन्छ तर पहल कम हुन्छ। अष्ट्रेलिया र सो क्षेत्रमा बिधार्थीहरुको कुरा सुनिएकै नै छैन। यूरोपमा नेपालीहरुको आप्रवासी समस्या धेरै आएका छन् त्यसलाई उठाएको नै छैन। अफ्रिकामा नयाँ लगानी मात्र होइन थुप्रै देशमा रहेका पातलो नेपाली समुदायको सक्रियता अत्यन्तै धेरै छ तर संयोजन गर्ने ध्यान पुगेको छैन। एशियाका धेरै देशमा नेपाली उत्पादनको ब्यापार र नेपालसँग जोडिएको धार्मिक-सांस्कृतिक बिषय कहिल्यै पनि उठेको नै छैन।

संघमा संचार र अन्य थुप्रै बिषयमा पारदर्शि छैन। नेतृव बिकास, एनसीसीहरुको विवादलाइ न्यूनिकरण, सहजीकरण जस्ता भन्दा रोक्ने, विभेद गर्ने जस्ता काम धेरै भएका छन्। यस्तै थुप्रै बिषय छन् त्यसलाई एउटा सफल प्रशाशक भएर मात्र पुरा गर्न सकिन्छ। संघमा धेरै सँस्थागत बिकासका दर्जनौ काम बाँकी छन्।

त्यसैले पनि यस्ता धेरै काम गर्न आफू यो पटक महासचिवको लागि आकांक्षी भएको हुँ। यो पटक आफू विश्वो भरिका अन्य आकांक्षीहरुसँग सम्पर्कमा रहेको, एनसीसीका नेतृत्व र आकांक्षीहरुसँग संयोजन गरेर अगाडी आएको छु। अब संघका एकदम सफल र सक्रिय व्यक्तिहरुको आगमनले हाम्रो संघलाइ उद्येश्यप्रति केन्दित गराउने हो, डा पौडेलले भने।

आफू यो पटक तयारीका साथ महासचिव पदमा उम्मेदवार हुन लागेको छु। मेरा कामका बिषय निर्दिष्ट छन्। मेरो बानी बिचलित हुने खालको छैन, म अडानमा नडग्ने मान्छे हुँ। यसमा मेरो कुनै अन्य स्वार्थ छैन। केवल एनआरएनहरुको बिषयलाइ उठाएर समाधान गर्नेतर्फ लागि पर्ने हो। संघको प्रमुख मुद्धालाइ टुंगोमा पुर्याउने हो। त्यसलाई पुरा गर्न महासचिव मात्र होइन भविष्यमा अध्यक्षकै लागि पनि तयार भएर आएको छु, डा पौडेलको दावी छ।

सम्पूर्ण एनआरएनए एनसीसीहरुलाई एउटा सजिलो, स्वतन्त्र तर उस्तै खालको ब्राण्डको प्रडक जस्तै स्ट्याण्डर्ड बनाउनुपर्छ। हरेक देशका कानुनलाइ सम्मान गर्दै त्यो अनुसार प्राक्टिस गर्नुपर्छ। संघका पूर्व अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोण्ड २०१७ को महाधिवेशनबाट नै पारित भएको हो। त्यसका केहि टुक्रा मात्र लिएर केहि व्यक्तिहरुको फाइदाको लागि मात्र प्रयोग भएको छ। तर त्यो सिंगो स्वरुप भने लुकाईएको छ। यदि संघलाइ साँच्चै अगाडी लैजाने हो भने त्यो बिषय फेरी पनि छलफलमा अल्याउनु जरुरी भएको छ। त्यो अनुरुपको नीति-बिधि तयार पारेर सोहि अनुरुपको संघको शशक्त प्रशासन बनाएर चलाउनुपर्छ। म आफूमा त्यसप्रति विश्वस छ, डा पौडेलले भने।

परिस्थतिका आधारमा विश्वका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई फरक-फरक खण्डमा राखेर त्यसैका आधारमा संघका सदस्यहरुको सुविधाको ब्यबस्था गर्नुपर्छ। अमेरिका, क्यानाडा, बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलिया जस्ता एउटा खाले प्रकृति भएका देश र केहि ठुला सदस्य संख्या भएका देशहरुमा फरक रुपमा नीति तय गरिनुपर्छ।

नेपाली मुलक बिदेशी नागरिक, स्थायी वासिन्दाहरुको लागि फरक रुपमा सक्रियता बढाउने काम गर्नुपर्छ। तर यसको सट्टा हाल उनीहरुलाइ दबाइएको छ। कुनै स्थान नै दिने काम भएको छैन। उनीहरु नै सहि अर्थमा छुटाउन नहुने अभिन्न भाग हुन् तर त्यसलाई हाल संघको नाम गैरआवासीय नेपालीसँग नै बाझिने गरेर छुटाईएको छ।

नेपालमा गैरआवासीय नेपाली संघको अधिवेशन गर्दा केहि हजार छनोट गरिएका प्रतिनिधिहरु लगेर होइन ५० औं हजार नेपाली लगेर भब्य सेलिब्रेशन गर्दा नेपालको शान र आर्थिक पाटोमा नै फरक रुपले योगदान दिन सकिन्छ। यसतर्फ हाम्रो ध्यान पुगेको नै छैन। यति मात्र होइन नेपालमा लगानी संबन्धि नै धेरै काम गर्न बाँकी छ। गैरआवासीय नेपालीहरुको यस्ता अरु धेरै मुख्य मुद्धाहरु समेत उजागर गर्नुपर्छ। यस्ता दर्जनौ बिषय लिएर आफू महासचिवको लागि उम्मेदवार हुन लागेको कुरा डा पौडेलले बताएका छन्।