-फोटो: कारोबार दैनिकबाट

NRNA:एनआरएन लघुवित्त संस्थाको केन्द्रिय कार्यालय धनघढीमा सुरु

Hollywood Khabar April 22,2019 Comments

एनआरएन नामक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा धनगढीमा सञ्चालनमा आएको छ ।

गैरआवासीय संघ (एनआरएनए) को लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्था एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय धनगढीमा स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तीय अनुशासन र वित्तीय सुशासन कायम गर्न नसकेसम्म आर्थिक रूपमा मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए । उनले आफ्नो खेतबारी बाँझो राखेर छिमेकी मुलुक भारतका खेतबारीमा फलेका तरकारी किनेर उपभोग गर्ने नियतका कारण मुलुक आयातमा निर्भर बन्न पुगेको बताए । “नेपालमा पैसाको कमी छैन, वित्तीय अनुशासन मात्रै कायम गर्न सक्ने हो भने छोटो समयमै आर्थिक रूपमा सम्पन्न बन्न धेरै समय लाग्दैन,” उनले भने ।

गभर्नर नेपालले नेपालमा तुलनात्मकरूपमा महिलाले सञ्चालन गरेका वित्तीय संस्था राम्रो अवस्थामा चलिरहेकाले वित्तीय पहुँचभित्र महिलाको सहभागिता बढ्नुपर्नेमा जोड दिएए । राष्ट्र बैंकले पछिल्लो समय लघुवित्त संस्थाको लाइसेन्स दिने काम बन्द गरेको भन्दै उनले लघुवित्त संस्थाहरूले नाफा मात्रै आर्जनभन्दा सेवाग्राहीको आर्थिक उन्नति हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । “एउटै व्यक्तिलाई पटक–पटक ऋण दिने काम कहिँकतैबाट हुनुहुँदैन,” उनले भने ।

कार्यक्रममा एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव इन्द्रकुमार शाहले संस्था सञ्चालनको दुई महिनामा अपेक्षाअनुरूपको प्रगति हासिल भएको बताए । उनका अनुसार यो अवधिसम्ममा १२ जिल्लामा शाखा विस्तार गरेर २५ शाखा स्थापना गरिएको जानकारी दिए । ४१ वटा स्थानीय तहमा गरी ३ सय ५६ केन्द्र तथा १ हजार ३ सय ५६ समूह गठन गरिसकेको उनको भनाइ थियो । यो अवधिसम्ममा एनआरएनका ४ हजार २ सय ५ सदस्य संख्या पुगेको बताइएको छ । संस्थाको लगानीमा रहिरहेको कर्जा रकम ६ करोड ६ लाख ७५ हजार पुगेको छ । अनिवार्य बचततर्फ ४७ लाख रहेको भन्दै कम्पनी सचिव शाहले गरिवी निवारणको प्रमुख औजार भनेकै लघुवित्त भएकाले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियस्तरको संस्था सञ्चालनमा ल्याइएको बताए ।

संस्थाका मर्जर समितिका संयोजक शम्भुप्रसाद घिमिरेले नेपालमा वित्तीय संस्था थोरै तर सबै क्षेत्रबाट बलियो हुनुपर्ने भनेर सुदूरपश्चिम प्रदेशबाट संस्था सञ्चालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) का महासचिव डा. बद्री केसीले सँगसँगै मिलेर अघि बढ्न सकिएमा पैसाका लागि विदेश पलायन हुनु नपर्ने बताए । एनआरएन लघु वित्त वित्तीय संस्थाका अध्यक्ष प्रमोद उप्रेतीले वित्तीय सु–शासन कायम गर्दै संस्थालाई बलियो बनाएर राष्ट्रियस्तरमै नमूना संस्थाको रूपमा पहिचान दिलाउन र रोजगारीका अवसर सिर्जना गर्न व्यवस्थापन पक्षलाई अझ बलियो बनाएर लैजाने बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निश्चल अधिकारी, एनआरएनका सदस्य शिशिर भट्ट, राष्ट्र बैंकका उपप्रमुख मनोज पोखरेल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, कञ्चन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय कञ्चनपुरका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसी तथा विभिन्न उद्योगी व्यवसायी एवं बैंक तथा वित्तीय संस्थाका पदाधिकारी सहभागी थिए ।

**यो समाचार कारोबार दैनिकबाट उहाँहरुको अनुमतिमा पोष्ट गरिएको हो**