-एनआरएनको महाधिवेशन प्रतिनिधिको कुरा पन्छाएर महाधिवेशन हुन सक्दैन:क्षेत्रीय संयोजक आचार्य

एनआरएनको महाधिवेशन प्रतिनिधिको कुरा पन्छाएर महाधिवेशन हुन सक्दैन:क्षेत्रीय संयोजक आचार्य

Hollywood Khabar September 21,2021 Comments

जीएनएन, सेप्टेम्बर २२, २०२१

गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यले अमेरिका, अष्ट्रेलिया र युकेका २५ प्रतिशत डेलिगेट्सलाई पन्छाएर एनआरएनको दशौं महाधिवेशन हुन नसक्ने बताएका छन्।

संघकै केहि पदाधिकारीहरुको भनाइ माथि टिप्पणी गर्दै आचार्यले क्षेत्रीय संयोजकको समेत अधिकार खोसिएकोमा चिन्ता व्यक्त गरे। खुला डबलीमा आयोजित अन्तरक्रियामा बोल्दै आचार्यले भने, एनआरएनको विधानलाई आफू अनुकूल बनाई परिवर्तन गर्ने गरिएको छ । यसलाई एनआरएनए संस्था कब्जा गर्ने नियतको रुपमा बुझ्न सकिन्छ । विधान अनुसार क्षेत्रीय संयोजकहरुको पनि केही अधिकार छ। तर पटकपटक विधान परिवर्तन गर्दा क्षेत्रीय संयोजककै अधिकारहरु कटौती भएका छन् । म यसको कडा शव्दमा विरोध गर्छु । आचार्यले आगामी अधिबेशनमा केन्द्रीय सचिवको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

परराष्ट्रमा उजुरी

केही पदाधिकारीहरुले विधान विपरित गरेको काम रोक्न परराष्ट्रमा उजुरी परेको आचार्यले स्पष्ट पारे । निवेदन दिनेहरुको आसय भनेको एनआरएनएको महाधिवेशन एकपक्षीय नहोस् भन्ने हो, उनले भने, यसअघि पटकपटक आइसीसीमा निवेदन दिएर गलत क्रियाकलाप रोक्न आग्रह गर्दा सुनुवाई नभएपछि साथीहरु बाध्य भएर परराष्ट्रमा जानुभएको हो।

गत जनवरी महिनामा विशेष महाधिवेशन आयोजना गर्ने बेला पनि अहिलेकै आइसीसीका साथीहरु परराष्ट्र मन्त्रालय गएको कुरा बिर्सन नहुने उनले बताए । त्यसबेला अनलाईनमार्फत विशेष महाधिवेशन नगर्न अनुरोध गर्दा पनि तत्कालीन परराष्ट्र मन्त्रीले ठाडो हस्तक्षेप गरी भर्चुअल कार्यक्रमलाई मान्यता दिने निर्णय गराएका थिए । विधानको गलत व्याख्या गर्दै त्यति खेर ९ औं महाधिवेशनमा भाग नलिएका व्यक्तिहरुलाई प्रतिनिधि बनाइएको थियो ।

एनआरएनएभित्र अहिलेको नेतृत्वले आफु अनुकूलको निर्णय गराउन जस्तोसुकै गलत काम गर्न पनि तयार रहेको बुझिन्छ। हालको विवादलाई समाधान नगरी अगाडी बढ्ने कोशिश गरेमा विशेष महाधिवेशनको वैधता माथी पनि छानविन गर्नु पर्ने स्थिति आउन सक्ने कुरा उनले बताए । आचार्यले भने, अध्यक्ष कुमार पन्तजीले आफ्नो कार्यकाल सकिंदै गर्दा गलत व्यक्तिहरुको प्रभावमा नपरी सहज र वैधानिक बाटोबाट समस्याको समाधान गर्न लाग्नु पर्दछ। उहाँ आफैमा राम्रो मान्छे भएतापनि केहि व्यक्तिहरुले नेतृत्व हात पार्न उहाँलाई चेपुवामा पारिरहेका छन्।

अहिले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रतिनिधि छनोटमा देखिएका विवाद समाधान गर्नु पर्ने पनि उनले बताए । विवाद भएका ठाउँमा प्रक्रिया अघि बढाएर भए पनि समयमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा आचार्यले जोड दिए । अहिले २५ प्रतिशित प्रतिनिधिलाई बाहिर राखेर एनआरएनएको महाधिवेशन भने कुनै पनि हालतमा हुन सक्दैन, उनले भने।