-NRNA:यो पटकको विश्व अधिवेशनमा काँग्रेस र वामपन्थी प्यानलमा चुनाव हुने-धारणा सहित

NRNA: विश्व अधिवेशनमा काँग्रेस र वामपन्थी प्यानलमा चुनाव हुने-धारणा सहित

Hollywood Khabar April 07,2019 Comments

कृष्ण के सी/अमेरिका/४/८/१९

गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अधिवेशन अक्टोबर १३-१६, २०१९ मा काठमाण्डौमा हुने निर्यण भइसकेको छ। यो पटक संघको नयाँ नेतृत्वको लागि काँग्रेस र बामपन्थीहरुको बीच सोझै प्यानलमा चुनाव हुने कुरा उठेका छन्। आज यसै बिषयमा विभिन्न व्यक्तिहरुसंग गरिएको कुरा र उनीहरुको धारणा प्रस्तुत गर्ने प्रयास गरेको छु।

हुन त अबको यो ६ महिनाको अवधिमामा संघले कम्तिमा पनि तीनवटा मुख्य कुरा टुंगो लगाउनु पर्ने भएको छ। लाप्राक नमुना बस्ति हस्तान्तरण, हेडक्वाटर क्याम्पस निर्माण र गैरआवासीय नेपाली नागरिकताको छिनोफानो।

यस बाहेक भिजन २०२० एण्ड बियोण्ड, लगानी संबन्धि नयाँ प्रोजेक्ट प्रमुख छन्। त्यसैगरी आन्तरिक प्रशाशनको लागि बनाइने बिधानको परिमार्जन, नीति र नियमावली, एनसीसीहरुको मास्टर बाइलज जस्ता कुराहरु पनि जोडिएका छन्। अर्को ठूलो बिषय नेपाल बाहिरका नेपालीहरुले नेपालको मतदानमा मतदिन पाउने ब्यबस्था गर्ने कदम चाल्नको लागि पहल सुरु गरिएको छ।

उतातिर आगामी नेतृत्वको लागि चुनावको रन्को पनि चलेकै छ। यो पटक अध्यक्षका उम्मेदवार वर्तमान उपाध्यक्ष्य कुमार पन्त हुन भने उनका लागि प्रतिद्वन्दी को हुने भन्ने बिषयले पनि एकाथरि मानिसहरुको पेट पोलेको छ। कतिप बिचौलियाहरुलाई टेको खोज्ने दोमन अझै कायम छ। कतिपयलाइ सिटिङ अध्यक्ष भबन भट्ट नै दोश्रो कार्यकालमा चुनाव लड्छन भन्ने आशा पनि छ। अनि कतिपयलाई भने अघिल्लो चुनावको भट्ट र पन्तबिचको संझौता कायम रहन्छ र भट्ट दोहोरिन्नन भन्ने विश्वास छ।

तर यो पंक्तिकारको अध्ययनले भने फरक अवस्था पाएको छ। त्यसैको आधारमा यो हाइप्थेटिक गर्न सकिन्छ कि- पहिलो, भबन भट्ट भर्सेस कुमार पन्तको निर्वाचन। दोश्रो, कुल आचार्य भर्सेस कुमार पन्तको निर्वाचन। अनि ति दुवैभन्दा फरक काँग्रेस भर्सेस कुमार पन्तको निर्वाचन। तर बिर्सन नै नहुने कुरा के हो भने कुमार पन्त अनिवार्य रुपमा अध्यक्षका उम्मेदवार हुन्। उनका लागि कि मैदान छोड्ने कि चुनाब लड्ने भन्दा विकल्प छैन। अर्को कुरा, यदि काङ्ग्रेस भर्सेस कुमार पन्तको चुनाव भयो भने केहि नेपाली कांग्रेसका समर्थकहरुलाई मखंचे पर्ने भने पक्का छ। यसै बिषयमा अन्तिमको १० दिनमा विभिन्न व्यक्तिहरुबाट लिइएको विचारलाइ यहाँ प्रस्तुत गरेको छु। कतिपयले भने आफ्नो विचार सार्वजनिक गर्न मानेनन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतका पूर्व अध्यक्ष तथा संघका पूर्व आइसीसी सदस्य योगेन क्षेत्रीको भनाइमा यो पटक कांग्रेस र वामपन्थीहरु बीच खुलेर चुनाव लड्ने हो। यस अगाडि नेपाली काँग्रेसको नाममा केहि बिचका व्यक्तिहरुले फाइदा लिएको अवस्था भएकोले अब त्यसो नहुन खुलेर जाने हो क्षेत्रीले भने।

यसै कुरालाई नेपाल बिधार्थी संघका पूर्वमहामन्त्री तथा न्यूक्लियर साइन्सका साइनटिष्ट डा यादब पण्डितको विचारमा-एनआरएनमा हुने सबै चुनावहरुमा कुनै न कुनै खालको राजनीति हुने नै गरेको छ। अन्य खालको जस्तो की जात, धर्म, सम्प्रदाय र भोगोलिकताको राजनीति भन्दा विचार र कार्यक्रमको आधारमा हुने पारदर्शी राजनीति बरु तुलनात्मक रुपमा उत्तम होला। यति ठुलो संरचनामा सबै खालको राजिनितीबाट मुक्त भएर चुनाव चुनाव हुने-गराउने भन्ने कुरा कर्णप्रिय होला तर ब्यबहारिक छैन जस्तो लाग्दछ। विचारधारात्मक रुपमा गैरआवासीय नेपाली नेपालीहरुका मुद्दामा अलि उदार विचार राख्ने लोकतन्त्रबादी र अलि अनुदार विचार राख्ने अनुदारबादी यो भित्र नेपालमा बामपन्थी भनिनेहरुमा अधिकांस पर्दछन। उनीहरुको बिचमा या पक्ष-विपक्ष निर्वाचन हुनु स्वाभाविक छ ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक विष्णु सुवेदीले आफू यसका लागि लवी नै गर्न समेत तयार रहेको बताए। जनसम्पर्क समिति जापान र अमेरिकाका संस्थापक सदस्य नारायण थापाले यो पटक बोल्ने होइन गरेर देखाउने बताए। हाल अमेरिका रहेका, नेविसंघका अस्कल क्याम्पसका पूर्व नेता गोविन्द कुमार श्रेष्ठले अब वामपन्थीहरुसंग सोझो रुपमा प्यालमा जाँदा नै राम्रो हुने मात्र होइन यसको विकल्प नै छैन भने।

प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापाले एनआरएनलाई विचारको आधरमा विभाजन गर्नुहुदैन र सबै वर्ग, पेसा र विचारका योग्यता र क्षमतावान प्रवासी नेपाली मनहरूको साझा चौतरी बनाउनुपर्दछ भने। उनले एनआरएनको ९ औ विश्व सम्मेलनमा प्यानलमा जानु हुँदैन, यो संस्थाको मर्म अनुसार छैन भन्ने धारणा उनको थियो।

एनआरएनए यूरोप क्षेत्रका क्षेत्रीय संयोजक शिव कुमार बरुवालले एनआरएनमा कुनै पनि राजनैतिक बिचार समूह वा पार्टीको समूह बनाएर चुनाब लड्न बिधानले नै दिदैन। उसैपनि एनआरएनए सबै बिचारको साझा मंच बन्नुपर्दछ, यसमा राजनैतिक भागवण्डा होइन। त्यसैले काग्रेस भर्सेस बामपंथीको प्यानल बनाएर जान सकिँदैन।

एनसीसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले यो बिषय २०१७ मा नै उठाएका हुन्। अमेरिकाका वर्तमान अध्यक्ष डा केशव पौडेलले यसको सपोर्टमा भए पनि विचार सार्वजनिक गरेका छैनन।

संघका वर्तमान आइसिस सदस्य तथा संघको अभियन्ता बेलायतका रामशरण सिमखडाको भनाइ फरक छ। यस्तो प्राक्टिशबाट संघमा विभाजन आउने छ। अनि गैरआवासीय नेपाली संघमा यस्तो गर्नु हुँदैन। यसबाट संघमा असमान्जस्यता आउनेछ, हामीहरु बीच विभाजन आउनेछ, विचार भन्दा फरक गएर सक्षमलाइ छान्ने विकल्पको बाटो बन्द हुनेछ। अन्तत्वगत्वा खिचातानी र चरम राजनीतिले गर्दा संघ नै धारासाहि हुनेछ सिमखडाले भने।

संघका उपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङ, सहकोषाध्यक्ष सोम सापकोटाले जवाफ दिएका छैनन्। तर यहाँनेर बिर्सन नै नहुने कुरा के हो भने- भोलि प्यानलमा चुनाब भयो भने काँग्रेसको भनेर अगाडि आउने उम्मेदवारहरु मध्येका यिनीहरु पनि हुन्।

संघका कतारबाट आइसीसी सदस्य तथा जनसम्पर्क समिति कतारका पूर्व अध्यक्ष विमल सुवेदीले लुकेर र छिपेर भन्दा खुलेर वाम-कांग्रेस प्यानलमा चुनाव हुनु सहि हुने कुरा बताए। उसै पनि हामी गैरराजनीतिक धार अपनाउनुपर्छ भन्ने अनि थुप्रै सल्लाकारहरु अमुक रुपमा पार्टीको सदस्य, सांसदलाई नियुक्त गर्ने गरिएको छ। जो चाहिँ संघका सदस्य नै होइनन। यसो भन्दा त खुला रुपमा प्यानलमा नै निर्वाचनमा उपयुक्त हुन्छ, सुवेदीले भने।

संघका पुर्व प्रवक्ता तथा वर्तमान बिधान कमिटी संयोजक डा हेमराज शर्माले भने-हाम्रो निर्वाचन नियमावली अनुसार कुनै दलगत वा समुहगत प्यानल बनाएर निर्वाचनमा लड्न पाईदैन। राजनितिक रुपमा प्यानल नै बनाएर चुनाव लडेको (आइसिसिमा) को अबस्था अहिले सम्म छैन । उम्मेदवारहरुले मत आकर्षण गर्न कुनै दलसँग आबद्द भने गर्ने गर्छन। तर एनआरएनमा कुनै योगदान नगरी दलको झण्डा बोकेर कसैले निर्वाचन जितेको उधाहरण छैन।

संघको पुर्व युवा उपसंयोजक अष्ट्रेलियाका कृष्ण राज गिरीले विल्कुलै प्यानलमा चुनाब लड्ने पक्षमा आफू रहेको बताए। एनसीसी जर्मनी अध्यक्ष विजय मोक्तानले कांग्रेसको प्यानल बनाएर जान आफू पूर्ण रुपमा सहमत भएको बताए।

संघको पूर्व प्रवक्ताहरु रन्जु वाग्ले थापा, मन के सी, एनसीसी हङकङकी अध्यक्ष टिका गुरुङ्, एनसीसी कोरिया अध्यक्ष लक्ष्मी गुरुङको जवाफ आउन बाँकी छ।

यसबाहेक अरु थुप्रै व्यक्तिहरुलाई सोधिएको प्रश्नको जावाफ हाल सार्वजनिक नगर्ने तर अक्टुवरमा आफू प्यानलमा खुलेर लाग्ने कुरा बताए। अनि कतिपयको जवाफ भने आएको छैन। यदि उहाँहरुको धारणा प्राप्त भयो भने अर्को पोष्टमा थप गरिनेछ।

*******************************

गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अधिवेशन अक्टोबर १३-१६, २०१९ मा आयोजना गरिने भएको छ।

https://hollywoodkhabar.com/nrna-faceface-meetingjan19