NRNA अमेरिका: आफ्नै कार्यकाल जोगाउन नसक्नेसंग के आशा गर्ने ?

Hollywood Khabar June 02,2017 Comments

कृष्ण के सी
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को इलेक्शन कमिशनको सूचना आनुसार, चालु बिधानको #३९ को व्यवस्थाले संस्थाको २०१५-२०१७ कार्यकालको बैधानिक अबधि मे ३१, २०१७ बाट समाप्त भएको छ।
यो कार्यसमितीको काम भनेको काम चलाउको रुपमा एलेक्शन कमिशनलाइ सघाएर नयाँ नेतृत्वलाइ हस्तान्तरण गर्न समय कुर्नु मात्र हो। अझै भन्नुपर्दा पदिय मर्यादा समेत सकिएको छ। कोमाबाट पनि अगाडि गएको व्यक्तिलाई भेण्टिलेरमा हालेर मृत घोषणा नगरेको अवस्था। यो अस्वस्थाको सृजना हुनु सर्मिन्दाको कुरा हो। जब आफ्नै पदको कार्यकाल जोगाउन नसक्ने व्यक्तिबाट हामी ५ लाखको अनुमानित नेपाली अमेरिकन समुदायले के आशा गरेर फेरि अर्को कार्यकालका लागि मत दिनु ?  
सुमन तिमिल्सिनाको अध्यक्षतामा सुरु भएको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) उहाँको पालामा को को थिए भन्ने कुरा सबैलाई याद नहुन सक्छ। तर सुमन तिमिल्सिना नै संस्थापक अध्यक्ष हो भन्ने कुरा सबैलाई थाहा छ, इतिहास र सत्यता दुवै त्यही हो।
बिचमा रहेका प्रल्हाद के सी को कार्यकालमा मैले दुइ-दुइ पटक अन्तर्वार्ता गरेको हो, प्रल्हाद के सी सँग। उल्लेखनिय रुपमा NRNA अमेरिका आएको होइन तर इतिहासमा प्रल्हाद के सी अमेरिकाको अध्यक्ष हो भन्ने तथ्य छ र रहन्छ। भलै उहाँको कार्यकालमा को को थिए त्यो स्मरणमा रहँदैन।
शिव राइको अध्यक्षतामा पहिलो पटक प्रजातान्त्रीक रुपमा NRNA अमेरिकाको निर्वाचन भएको हो। त्यो कुरा सबैलाई थाहा छ। तर अध्यक्ष राइको कार्यकालमा कार्यसमितिमा को को थिए भन्नेकुरा सबैलाई थाहा नहुन सक्छ। पब्लिक स्मरणमा त्यो जस राइको कार्यकालका अरुले नपाउनन सक्छन्।
त्यसै गरी खगेन्द्र क्षेत्रीको कार्यकालमा NRNA अमेरिकाकोको सबै भन्दा छोटो समयमा धेरै काम भयो भन्ने गरिन्छ। १९ जनाको त्यो कार्यसमितिमा यो लेख्दै गर्ने व्यक्ति पनि थियो। तर को को अरु थिए भनेर नाम भन्न एक छिन घोरिनुपर्छ। जस हामीले पाउनु पर्छ भनेको होइन स्मरणमा आउने वास्तविकता खगेन्द्र क्षेत्रीमात्र हो, सत्यता त्यही हो।
अब कुरा गरौ वर्तमान कार्य समतिको। वर्तमान कार्य समति जसलाई डा केशब पौडेलले नेतृत्व गर्नुभएको हो। यसको पब्लिक छबि र स्मरण कस्तो छ त त्यो भने लामो पाटो हुन्छ।
सुचना प्रवाह नगर्ने, संस्थालाई गुम्राहमा चलाउने, कुनै योजना नभएको, समयमा काम गर्न नसक्ने, उल्लेख्य काम गर्न नसक्ने, समयमा निर्वाचन गराउन नसक्ने जस्ता कुरा पब्लिक आरोप हो। उसो त केही सकारात्मक कुरा पनि छन् यो कार्यकालका। तर ५० पटक अमृत खुवाउनेले एक पटक बिष दियो भने व्यक्ति मर्छ र ५० पटक दिएको अमृतको कुनै अर्थ रहँदैन। यो बोर्ड पनि ठीक यस्तै भयो। तपाइको हजार राम्रा काम भए पनि यो असफलताको कलंक मेटिन्न, “एउटा असफल नेतृत्व”
हरेक संस्था, हरेक व्यक्ति, हरेक समुदायको पहिचान इतिहासमा आफ्नै ढंगले रहेता पनि पब्लिकको स्मरणमा भने सबैको इतिहास जाँदैन। पब्लिकले सम्झने मात्र अध्यक्ष/सभापति या भनौ प्रमुख नेतृत्व मात्र हो। राज्य एकीकरणमा पृथ्वी नारायण शाहको नाम मात्र छ। तर पृथ्वी नारायणसंगको सिंगो फौज र सल्लाहकारको नाम इतिहासको किताबमा मात्र हो पब्लिक स्मरणमा छैन। “पृथ्वी नारायाण शाहले राज्य एकीकरण गरे”
यसर्थमा सँस्थाको गुण-दोषको भागिदार जहिले पनि प्रमुख नेतृत्व लिने व्यक्ति हुन्छ। उदाहरणको लागि, पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाले प्रजातन्त्र दरबारमा लगेर ज्ञानेन्द्रलाई बुझाए भन्ने आरोप छ। तर त्यो मन्त्रिमण्डलमा को को मन्त्री थिए भन्ने कुरा सायद स्वयं देउबाजीलाइ पनि थाहा छैन होला। दोषी, ति अरु मन्त्रीहरु पनि हुनुपर्ने हो, देउबा मात्र किन दोषी त भन्ने कुरा रहन्छ। हरेक संस्था या सरकारको नेतृत्व लिनु भनेको गुण र दोष दुवैको भागिदार हुने हो।
यसर्थ यो कार्यकालमा यो सबै हुनुको दोष माने पनि नमाने पनि पब्लिक नजरमा डा केशब पौडेललाइ जान्छ। जति होइन भने पनि पब्लिक स्मरणमा डा केशब पौडेललाई नकारात्मक पगरी जान्छ, लुकाउनु पर्ने कारण छैन। 
त्यो भन्दा पनि ठूलो कुरा जुन मैले लेखिरहँदा धेरै तीतो लाग्छ तर यथार्थमा यो नेतृत्वलाइ लाग्ने उपमा भने यस्तो हुने अवस्था छ- “पहिलो पटक समयमा आफ्नो कार्यकाल समाप्त हुँदा पनि निर्वाचन गराएर अर्को नेतृत्व दिन नसक्ने” अर्थात इतिहासमा नै नेतृत्व बिकासमा असक्षम, कलंकित नेतृत्व सावित भएको छ।
त्यो कलंक त लागि सक्यो अब धोएर अलिकति उज्यालो गर्ने ठाउँको धुकधुकी मात्र बाँकी छ। कोमाबाट बाहिर आएर निर्वाचन पुरा गर्न सहयोग गरेर आफु सम्मानजनक बाहिरिने मौका हो।
निर्वाचनको बेला छ, आयोगले मागेको थुप्रै कुरा छन्, समयमा त कुरै छाडौ पटक-पटक सम्झाउँदा पनि सुचना नदिने, कामप्रति बेवास्ता गर्ने टिम वर्तमानमा छ। यो पटकका डिपार्टमेन्ट हेडहरु- महासचिव, कोषाध्यक्ष, मिडिया कोअर्डिनेटर, प्रबक्ता, वमन कोअर्डिनेटर, यूथ कोअडिनेटरहरुको कामको नतिजा हेरौ। हामी अज्ञानीहरुको बुझाइ भनेको संस्था हाँक्ने काम डिपार्टमेन्ट हेडहरुले हो। उनीहरुलाई चलाउने अध्यक्षले हो। तर चलाउन सकेको अवस्था छैन। अनि यो कार्यकाल कति सक्षम कति असक्षम भनेर तपाइ ज्ञानीले आफै भन्न सक्नुहुन्छ।
यो स्थितिमा आफु नेपाल जानु भएका अध्यक्ष डा केशब पौडेलले कम्तिमा पनि कार्यबाहकको रुपमा बरिष्ठ उपाध्यक्षलाइ कामको जिम्मेवारी दिएर जानु पर्ने थियो। तर त्यसो भएको छैन। पदावधि समाप्तिको सुचना इलेक्शन कमिटीले समयमै दिएको थियो। त्यो अबधिमा बैठक बसेर बाँकी काम गर्नुपर्ने थियो।
सल्लाहकार, कमिटीहरु, आरसी, डिआर्सी, आइसीसी सदस्य, च्याप्टर अध्यक्ष, इलेक्शन कमिशन, जुडिसियल कमिटी लगायात सबैको बृहत संयुक्त बैठक बोलाएर अवस्थाको जानकारी दिएर सबैलाई सघाउन अनुरोध गर्नुपर्ने थियो। अनि यो कार्यकालमा घटीकमि प्रति सम्पूर्ण NRNA सदस्य र नेपाली अमेरिकन समुदाय समेतलाइ क्षमा माग्दै आफ्नो कार्यकालमा काम र सहयोग गर्नु भएकोमा सबैलाई धन्यबाद दिनुपर्ने थियो। नभए पनि कार्यसमतिको बैठक त बोलाएर तेसो गर्न सकिन्थ्यो। यति त सामान्य ज्ञान हुनेले गर्ने कुरा हो, त्यो भएको छैन। अब फेरि के आशा गरेर अर्को कार्यकालका लागि मत दिने ?
सदस्यतामा भएको भेरिफिकेशनको त कुरै छाडौ। आफै गल्ति गर्छन अनि सदस्यलाइ गाली गरेर सूचना निकाल्छन। एनसीसी कतारले डाइरेक्ट आइसीसीको सिस्टममा जाने गरि सदस्यता आब्हान गरेको छ। अमेरिकाले गत मार्च मै त्यसो गर्नुपर्ने थियो तर गरिएन, किन?
आइसिसका आइटी कमिटी र आइटी टिमले बरंबार अनुरोध गर्दा पनि सहयोग गरिएन, किन? सम्पूर्ण सुचना र पंजीकृत सदस्य मार्चमा नै आइसिसको साइटमा अपलोड भैसक्नु पर्ने  थियो। सोझै आइसिसीको IMS बाट सदस्य बन्ने हुनु पर्नेमा त्यो गरिएन। कतारको IMS सिस्टमको नमुना फर्म बुझ्नको लागि यो लिंक क्लिक गर्नुहोस:
http://qa.nrna.org/Registration यदि त्यसो गेरको भए यो भेरिफिकेशन गर्नुपर्ने जरुरि नै थिएन। सिस्टम कन्ट्रोल थियो।
अब छिटो-भन्दा छिटो, जुन १५ देखि जुलाई पहिलो हप्ता भित्र आफ्नो पंजीकृत सदस्यहरु आइसीलाइ बुझाएन भने अमेरिकाको सदस्य संख्या आइसीसीमा सुन्य हुन सक्छ। अनि को डेलिगेट्स, को उम्मेदवार? त्यो सबै कुराको जिम्मेवार को हुने? काम गरेको भनेको यहि हो? एउटै कामको लागि पटक पटक मौका दिन हुँदैन, मिल्दैन र सकिन्न पनि। स्मृति दिवस हो र पटक पटक आउने?
यो बोर्डले कति धेरै काम गर्न सक्थ्यो, गर्नु पर्थ्यो तर गरेन। विश्वका ७४ एनसीसी एकातिर अमेरिकी एनसीसी एकातिर पुर्याउनु पर्नेमा त्यो गोल्डेन मौका गुमायो गर्न सकेन।
उल्टा, सबैभन्दा बदनाम मात्र भएन, यो समयमा नेतृत्व दिन नसक्ने निकम्मा कार्यसमतिको पगरी सम्पूर्ण नेपाली अमेरिकनलाइ भिराइदियो। यो अर्थमा कि कोही नेपाली अमेरिकनले अर्को देशको NRNs संग कुरा गर्दा आफु अमेरिकाको NRN हुँ भन्यो भने जवाफमा के पाउँछ, “तेरो एनसीसी त निर्वाचन गराउन नसकेर पदवादी नै समाप्त भयो” त्यो निर्दोष व्यक्ति समेत दोषी गरायो यो नतृत्वले। यो अर्थमा पनि वर्तमान नेतृत्व कलंकित भयो। नेपाली उखान याद आयो, माफी चाहन्छु, तर भन्नै पर्ने भयो “एउटा कुलंघारले सात पुस्ता पिर्छ” भनेको पनि यही होला।
इलेक्शन कमिशनलाइ बुझाइएको सदस्यता लिस्टमा ११२ जना नपुगेको देखाएको छ। हाँसो उठ्दो कुरा त्यो पुरानो लाइफ मेम्बर ११२ (वास्तबमा १०९ जना थियो) कता गयो? फेरि २४६१ जना सदस्यहरुको इमेल/फोन आदि कि त मिल्दैन कि छैन। त्यो अर्को डिजास्टर हो। १९ जना सम्मको इमेल एउटै छ भनिएको छ।
इमेल एउटै हुनु कुनै अपराध होइन। मेरो घरका आफ्नैको एउटै इमेल चलाउंदा मैले कुनै अपराध गरको हुँदैन। तर त्यो इमेल एकाध परिवारका या एउटै ठेगानामा बस्ने या कम्तिमा थर या ठाउँ मिल्ने भए त हो। कुनै पनि कारणले मिल्दैन। उसै पनि भेरिफिकेशनमा अलिकति अनुभवी या काम गर्ने व्यक्तिहरुलाइ भोटिङ् गरेर राख्न हुँदैन भनेर हटाउने निर्णय गराउने, अब यो अवस्थामा जिम्मेवार को हुने? फेरि एउटा उखान नै छ “बोकाले दाइ हुने भएको भए गोरु किन चाइयो?”
एकातिर यो अवस्था अर्कोतिर वर्तमान कार्यसमिति कै धेरैजना अर्को कार्यकालमा होमिदै गर्दा कम्तिमा पनि सर्मिन्दा हुनुपर्ने हो। पुन आकांक्षी मध्य जम्मा एकजनाले मात्र यो बिषयम बक्तब्य मार्फत जानकारी गराएको थियो। “NRNA NCC USA को सदस्यताको पछिल्लो अवस्थाप्रति, रबिना थापाको ध्यानाकर्षण, मे १९, २०१७” अरु सबै कता गए?
त्यो सर्मिन्दा अब मतदिनेले हुने कि तपाई बोर्डले? काम गर्छु भनेर गए पछि काम गर्नुपर्छ कि पर्दैन? वेबसाइटमा त १/२ % पनि सुचना छैन। भएको पनि गुमाइएको छ, लुकाइएको छ, छिपाईएको छ। त्यो कुरा कतिजनाले हेरेका छन्? बोर्डमा भन्ने बेला अब आएको छ।
यो सबै हुँदा-हुँदै पनि अध्यक्ष डा केशब पौडेल दोश्रो कार्यकालका लागि अध्यक्ष कै प्रत्यासी हुनुभएको छ। अब त्यो भन्दा ठूलो कुरा के आशा गरौ त डाकटर साप? अब इतिहासको कलंकित नेतृत्व दिने व्यक्ति हुने कि थोरै भए पनि केही काम गरेर सम्मान जनक, भविष्य हामीले पनि नाम लिने ठाउँ राखेर बाहिरिने हो त्यो तपाइँको हातमा छ।
तपाई माथि हामीले आइसीसीको अध्यक्ष हुने सपना देखेको हो। तपाइले त आफ्नै खुट्टामा बन्चरो हान्नुभयो, बाटो मै हामीलाइ चुप्पी हानिदिनु भयो-आफ्नैलाइ, आफैका लागि सपना देख्नेलाई लात मारिदिनु भयो, आफ्नै काँध थाप्नेलाइ तरवार हान्नुभयो। यो भन्दा ठूलो कालीदास दुनियाँमा अर्को को खोज्नु? कृपया अब हामीलाइ बैतर्नी तर्न दिनुहोस, थप सर्मिन्दाको भारी बोकाएर नरकमा नधकेल्नुहोस।
आम मतदातालाइ एउटा अनुरोध भने गर्छु, “यो या त्यो जो कोही पनि होस- पहिला कुनै पनि समयमा आफ्नो जिम्मेवारी पुरा नगर्ने, पदाधिकारी/पदिय व्यक्ति, संस्थालाई मुद्धा मामिला गर्ने लगायत व्यक्ति पुन अर्को पटक निर्वाचनमा आएको छ, कुनै संघ-संस्थामा हिनामिना गरेको छ, पदिय आचरण ठीक सुनेको छैन, अराजक छ या काम गर्दैन तर पनि उम्मेदवार भएको छ भने, कृपया आफ्नो मत तिनीहरुलाई  नदिनुहोस।” अन्यथा दोषको कलङ्कको भारी तपाइ र मेरो भागमा बराबरी पर्नेछ।
“तीतो पोख्नु परेकोमा क्षमा प्रार्थी हुँदै”-अस्तु !