बिरोध र विवाद भएकोले प्रधानमन्त्री ओलीले सम्मान कार्यक्रममा नजाने निर्णय गरे

Hollywood Khabar September 26,2018 Comments

कृष्ण के सी/अमेरिका
देशको प्रधानमन्त्री औपचारिक रुपमा आउँदा राजदूतावासले स्वागत कार्यक्रम आयोजना गर्ने र सबै त्यसैमा सहभागी हुनुपर्ने हो। राजदूतावास नभएको ठाउँमा नेपाल सरकारको सबै भन्दा नजिकको संस्था, आफ्नै परराष्ट्र मन्त्रालयमा दर्ता भएकोले गैरआवासीय नेपाली संघले आयोजना गर्ने हो।  यो कुरा बौद्धिक र कुटनैतिक क्षेत्रका व्यक्तिहरुले बुझ्दछन तर राजनैतिक स्वार्थ र जस खाने नाउँमा त्यसलाई अनर्थ गरिन्छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) का सदस्य संजय थापाले आज पनि प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम हुने कुरा बताए। विवाद रहित ढंगले गर्न सक्दा मात्र कार्यक्रम गर्ने अन्यथा होइन भनिएको हो। कार्यक्रमबारे वैठक चलिरहेको छ। आधिकारीक रुपमा कार्यक्रम हुदैन भनेर कही पनि सूचना जारी गरेको छैन, थापाले हलिउड खबरसँग बताए।    

NRNA NCC USA, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाली आदिवासी जनजाती महासंघ र नेपाली संघीय समाज लगायतले संयुक्त रुपमा गर्ने भनिएको प्रधानमन्त्रीको सम्मान कार्यक्रम आपसी रुपमा चरम विवादमा थियो। बिरोध र विवादका समाचारले गर्दा प्रधानमन्त्रीले सो कार्यक्रममा नजाने निर्णय गरेको बताइन्छ।

प्रधानमन्त्री ओलीले कालो झण्डा सहित आफ्नो बिरोध हुने खबर पाएपछि आफू नजाने भनेर सो सम्मान कार्यक्रम बन्द गरिएको भन्छन तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदी। तरुण दल अमेरिकाले कार्यक्रमको बिरोधमा प्रदर्शन गर्ने समाचार यस अघि नै हलिउड खबर लगायतबाट सम्प्रेषण भैसकेको छ।