-Rani Pokhari, Kathmandu

खानेपानी मन्त्रालयको सहयोगमा रानीपोखरीमा पानी भरियो, मनमोहक रानीपोखरी

Hollywood Khabar September 19,2020 Comments

संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ।

खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो। विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ। खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ। जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ।

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो। जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिनुभयो। पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो।

मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताउनुभयो। थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए। भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ, थापाले भन्नुभयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ। प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन्।