साईबर अपराधमा बिधुतीय कारोबार ऐन र नियमावलीको कार्यान्वयन पक्ष

Hollywood Khabar March 20,2017 Comments

-अधिवक्ता दिपक कुमार बिष्ट
मलाइ एक दिन सामाजिक सञ्जालमा एउटा नचिनेको नामले फ्रेण्ड रिक्वेष्ट आयो । नचिनेको भएर मैले त्यो फ्रेण्ड रिक्वेष्टको कुनै वास्ता गरिन । फेरि केहिदिन पछि मेसेन्जरमा मेरो फ्रेण्ड रिक्वेष्ट किन नहेरेको भनेर ईन बक्समा मेसेज आयो । अनि मैले को हो भनेर पुरा केरे पछि बल्ल थाहा भो उनी त केहि समय अघि मैले अन फ्रेण्ड गरेको साथी रहेछ । अनि मैले किन गलत नाम र ठेगाना अनि गलत तस्बिर राखेको भनेर सोधेको त सहज उत्तर आयो सबैले फेक आइडि खोलेर चलाउदा कसैले चिन्दैन जे  गरे नि हुन्छ भने अनि मैले नि खोली हेरेको साथी । 
त्यो सुन्ने बित्तिक्कै मैले उसलाइ बेस्करी गाली गरे । पछि उसले त्यो आइडि बन्द गरेछ । यो त एउटा प्रतिनीधी घटना मात्र हो । अचेल समाजमा यस्ता सामाजिक सञ्जालमा आफ्नो फेक आइडि खोलेर अर्काको बद्नाम गर्ने अर्काको बेईज्जत गर्ने अर्कालाई गाली गलौज गर्नेहरु थुप्रै भेटिन थालेका छन । त्यहि प्रवृति बढ्दै गएर अपराध पनि दिन प्रतिदिन बढ्दो छ ।

 शुरु शुरुमा रमाईलाका लागि फेक आइडि खोल्ने । यसो गर्दा के हुन्छ त्यसो गर्दा के हुन्छ भन्ने सिक्दा सिक्दै अपराध हुन पुगीसक्छ जुन आफुलाइ फेक आइडि भएका कारण कसैले थाहा पाउदैन चिन्दैन भनेर मक्ख पर्नेहरु प्रहरीको फन्दामा परेपछि बल्ल अनि आँखा खुल्छ । जतिबेला आँखा खुल्छ त्यतिबेला ढिला भईसकेको हुन्छ ।आफुलाई लुकाउन छद्मभेसी नाम दिएर अर्काको फोटो प्रयोग गरेर कसैले नक्कली फेसबुक खाता खोलेको छ ? वा अर्काको फेसबुक खातामा कसैले अश्लील तस्बिर, शब्द लगायत कुनै पनि आपत्ति जनक कुराहरु प्रयोग गरेको छ भने अब चिन्ता मान्नु पर्दैन ।

विद्युतीय कारोबार ऐन ०६३ र बिधुतीय कारोबार नियमावली ०६४ बमोजिम कार्वाही त्यस्ता अपराध गर्नेलाई कार्बाही हुने कानुनी व्यवस्था भएकाले सामाजिक सञ्जालमा आफ्नो छद्मभेसी नाम दिएर वा सहि नाममा नै भए पनि अर्काको फेसबुक खातामा कसैले अश्लील तस्बिर, शब्द लगायत कुनै पनि आपत्तिजनक कुराहरु प्रयोग गरेको छ भने उजुरी दिएमा तत्कालै कारबाही हुने कानुनी व्यवस्था छ ।
बिधुतीय कारोबार ऐन ०६३ र बिधुतीय कारोबार नियमावली ०६४ बमोजिम सामाजिक सञ्जालमा त्यस्तो अपराध गर्ने व्यक्तिलाई तीन वर्ष कैद वा दुई लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । यस्ता अपराधको नियन्त्रणका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत प्रमाणीकरण नियन्त्रकको कार्यालयले नियन्त्रण अभियान समेत थालेको भएता पनि यस किसीमका साईबर अपराध भने झन झन बढ्दो छ ।
जति जति नियमनकारी निकाय यस्ता अपराधको नियन्त्रणका लागि सक्रिय हुन्छ त्यति त्यति अपराधका तरिका प्रवृति फरक हुने गरेका घटनाक्रमहरुले देखाउदै आएका छन् । साइबर अपराध नियन्त्रण गर्न सजग गराउने उद्देश्यले विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत प्रमाणीकरण नियन्त्रकको कार्यालयले बिभिन्न जिल्लामा गरेको ‘बिधुतीय हस्ताक्षर, सूचना संरक्षण तथा साइबर अपराध नियन्त्रण’ अन्तरक्रियामा सूचनासँग नजिक रहेका सबैलाई सजग गराउने गरि कार्यक्रमहरु गर्दै आएको देखिएता पनि यस्ता खाले अपराध भने न्यूनिकरण हुनुको साटो झन झन बढ्दो देखिदै आएको पाईन्छ। 

‘ऐन सार्वजनिक भएको दशक पुग्न लागि सक्दा पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको पाईदैन । ऐन र नियमको कार्यान्वयन फितलो हुनाका कारणले गर्दा पछिल्लो समय फेसबुक, ट्वीटर, इमेल लगायत सामाजिक सञ्जाल मार्फत अपराध बढ्न थालेको देखिन्छ ।’ यसको नियन्त्रण गर्न त्यस्ता सञ्जाल प्रयोगकर्ताले सकारात्मक कदम चाल्न सकून् भनेर चेतनामूलक कार्यक्रमहरु अभियान कै रुपमा राज्यले अघि बढाउनु पर्नेमा त्यो हुन नसकेको देखिन्छ ।
फेसबुकमा कसैको तस्बिर राखेर नक्कली खाता खोल्ने, फोटोमा शरीर एउटाको र टाउको अर्कैको राखेर बदनाम गर्ने, कसैको इमेल खाताको पासवर्ड ह्याक गर्ने जस्ता अपराध बढ्दै गएको परिप्रेक्ष्यमा राज्यले यसलाइ गम्भिरता पूर्वक लिएर यसको न्यूनीकरण र रोकथामका लागि विभिन्न कार्यक्रम योजनाहरु अघि सार्नु पर्नेमा राज्य यस बिषय प्रति त्यति गम्भिर हुन सकेको देखिदैन ।
साइबर अपराध गरेको जानकारी पाउनासाथ त्यस्तो प्रमाण कम्प्युटरमा सुरक्षित राखेर नजिकको प्रहरीमा खबर गर्नु पर्ने कुराको सचेतना आम जनमानसमा फैलाउनु पर्नेमा राज्य उदासिन देखिन्छ । सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, प्रहरी, सञ्चारकर्मी लगायत आम जनमानसमा बिधुतीय कारोबार ऐन ०६३ र बिधुतीय  कारोबार नियमावली ०६४ मा भएका कानुनी प्रावधान बारे प्रस्ट पार्नु जरुरी छ । 
आफूलाई अनैतिक म्यासेज पठाउनेलगायत अपराध गर्न खोज्ने व्यक्तिको फेसबुक, इमेल ओपन नगरी सुरक्षित राखेर प्रहरीमा सीधै खबर गर्न आम जनमासमा सचेतना जगाउनु जरुरी छ ।’ कानुन भएर पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा र चेतनाको कमीले कारबाहीमा समस्या देखिएको छ । बिधुतीय हस्ताक्षर, बैंक तथा वित्तीय संस्थाहरूको बैंङकङ सुरक्षा लगायत ऐनले तोकेको कुरा बिधुतीय कारोबार गर्ने मध्ये पाँच प्रतिशतलाई पनि जानकारी नभएको एक सर्बेक्षणले देखाएको छ ।
 कतिपयले जानेर वा नजानेर वा क्यूरिसिटीका कारण सिक्न खोज्दा खोज्दै गल्ती गर्ने गरेको भए पनि आखिर अपराध त अपराध नै हो भइ सकेपछि दण्डित त हुनु पर्छ नै । सचेतना कार्यक्रमहरुको प्रभावले साइबर अपराध आधा घट्ने र अपराध भइ हाले पनि त्यसमा कार्बाहीका लागी जाने चेतनामा बृद्धि हुने हुदा यस बिषयमा सचेतना कार्यक्रमहरु सञ्चालन हुनुपर्ने अत्यावस्यक देखीएको छ । नत्र ऐन नियम कार्यान्वयन झन झन फितलो हुने देखिएको छ ।