-गिरिराज जोशी, डोटी, हाल:काठमाडौँ/९/२७/२०२०

तिम्रो भए सम्मति

Hollywood Khabar September 26,2020 Comments

१)

मेरो साथ कहाँ छ कृष्ण- मुरली या कोइलीको गला
होला मौलिकता परन्तु यसमा सामान्य आफ्नै गला
आफै के म भनूँ छ छैन यसमा सङ्गीतको माधुरी
झीनो तार बजाइदिन्छु मनमा सुन्छ्यौ भने राम्ररी।
२)
मेरो निम्ति विशाल त्यो हृदयको पाटो छ खाली भने
पोख्दा निश्छल भाव यो हृदयको पाइन्न गाली भने
मेरो आग्रह यो सुनेर मुखमा झल्कन्छ लाली भने
यौटा गीत सुसेलिदिन्छु यसमा घन्कन्छ ताली भने।
३ )
बोल्ला व्यक्ति असत्य लोचन भने साँचो कुरा बोल्दछन्
बस्ला मानिस चूप नेत्रहरूले साँचो कुरा खोल्दछन्
के बोल्छन् र लुकाउँछन् कति कुरा यी जोर आँखाहरू
आऊ छेउ बताइदिन्छु यिनका सम्पूर्ण भाकाहरू।
४)
इच्छा उत्सुकता दया र ममता झल्कन्छ आँखाभरि
पीडा व्याकुलता व्यथा सब कुरा छल्कन्छ आँखाभरि
आँखाले सब भाव खोल्दछ जहाँ चाहिन्न शब्दावली
वार्तालाप गराइदिन्छु यिनको सम्झाउने झल्झली।
५)
मेरो कुत्सित स्वार्थ छैन यसमा शङ्का नगर्नू कुनै
लागेदेखि सदैव सत्यपथमा सन्तोष ता मिल्छ नै
चोखो आग्रह हो दुराग्रह भनी ठान्दै नठान्नू रति
तिम्रै भाग्य चिनाइदिन्छु यसमा तिम्रो भए सम्मति।