इशानी

*** तिम्रो र मेरो सम्बन्ध *** इशानी

Hollywood Khabar February 22,2017 Comments


जब हावा चलेको आभास हुन्थ्यो
अनि म फर्फराउथे
तिमी सुस्तरी आउदा
मपनि सुस्तरी चलमलाउथे
तिमि सुसाएर आउदा
म पनि सकेको हलिन्थे ।

तिम्रो र मेरो सम्बन्ध
आकाश र धर्ती जस्तो
तिमी मलाई हेर्थेउ
म तिमिलाइ
न तिमी मलाई हेरेर थाक्थेउ
न त म तिमिलाइ हेरेर
तिमि घामको रुपमा आउदा
मैले मस्तले तापेकै हो
तिम जूनको ज्योति भएर आउँदा
मैले शितलता  कहाँ छोडे र ।।

तिम्रो र मेरो सम्बन्ध
नदि र किनार जस्तो
तिमी आउँछौ भनी
एक सेकेन्ड किनार छोडिन मैले
तिमिले छोएर जान्थ्यौ
मलाई काउकुती लाग्थ्यो,आनन्द आउथ्यो
जाडाे होस या गर्मी एक पल पनि
म तिमीबिना अलग कहाँ बसे र।।।

एक दिन यस्तो समय पनि आयो
तिम्रो र मेरो बीचमा
तिमी हावाको बेग झैं सुसाउदै आयौं
तिम्रो स्वागतमा पलाएको पातको के कुरा
तिमिले त हाँगै भाचिदियौ
फेरि आयौ रुखै ढालिदियौ ।।।।

आकाशलाई हेरेर मुस्कुराउदै थिए
तिमिले बेसरी पानी पार्यौ
म खुशीले धित मरिन्जेल रुझे
अन्धाधुन्ध असिना बर्सायौ
म घाइते भएर सहेरै बसे
फेरि तिमिले चट्याङ प्रहार गर्यौ ।।।।।
 
किनारमा तिमी संगै जिस्कदै थिए
अचानक तिमी त
डरलाग्दो गरि सुसाउदै,उर्लदै आयौ
बिनासको क्रुरता संगै
मेरो अस्तित्व र मित्रताको जरो
कत्ति पनि बाकी नराखी
बढारेर,पुरेर, खोतलेर के के गर्यौ गर्यौ ।।।।।

तिम्रो र मेरो सम्बन्धमा
तिमिले पुर्णविराम लगाएपनी
तिमिले ढालेको रुखमा
पालुवा पलाउदै छु
तिमिले प्रहार गरेको चट्याङको
घाउमा खाटा बसाउदै छु
अस्तित्व मेटाएको किनारमा बसि
विश्लेषण गर्दैछु म
तिम्रो र मेरो सम्बन्ध
जे भो राम्रै भो।।।