-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन १३, २०२०
सुगाहरू लहरै बाँकटे हानिरहेका छन्
सलहहरू पखेटा चालिरहेका छन्
दुम्सीका तीर तेर्सिरहेका छन्
बाँदरहरू खेलिरहेका छन्
निषेध छैन कतै
खेतबारीका बालीका रखबारीमा
तैपनि -बुख्याँचाहरू - उभिएकै छन् ।
ढुकुर र परेवाहरू चरिरहेका छन्
भँगेरा र कोटेराहरू खोस्रिरहेका छन्
मुसा र गँगटाहरू खनिरहेका छन्
पशुहरू मुख जोतिरहेका छन्
झुसिल्किराहरू लहराएकै छन्
लाईले आसन जमाएकै छन्
पतेराहरू अघाएकै छन्
बालीका रखबारीमा
तैपनि -बुख्याँचाहरू - उभिएकै छन् ।
चमेराहरू फन्कामारिरहेका छन्
टाउकामा कागले बिस्टा झारिरहेका छन्
काँध लाटोकोसेराले गालिरहेका छन्
बालीका रखबारीमा
तैपनि -बुख्याँचाहरू - चुपचाप उभिएकै छन्।
पराले ज्यान बैसाखीमा उठे पनि
छातीमा मुसाहरू कुदे पनि
असिना र पानीले चुटे पनि
जाडो र गर्मीले डामे पनि
आँखा र कानविनाका
मुख र नाकविनाका
मन, मुटु र मस्तिष्कविनाका -बुख्याँचाहरू
बालीका रखबारीमा
तैपनि रातदिन उभिएकै छन्।
समय बदलिँदै जाँदा
विस्थापित हुँदै गए पनि - यी बुख्याँचाहरू
तिनै उभिएका स्थलमा जग उठाइएका
वातानुकूलित भवनका छतमा
देश र जनताको सुरक्षाको जिम्मा लिएर
नयाँ अवतारमा
उसरी नै उभिएका छन्
देशका शासक/ प्रशासकहरू !!
-Tirtahraj Adhikari
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!