साङ्केतिक तस्बिर:साभार वेब

उपत्यकामा काम गर्ने ६ सय स्वास्थ्यकर्मीलाई कोरोना

Hollywood Khabar September 18,2020 Comments

३ असोज काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी बढी प्रभावित बनेका छन् । उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उपत्यकामा अहिलेसम्म १५ हजार १३८ जना सङ्क्रमण भइसकेका छन् । शुक्रबार मात्रै ८५९ जना सङ्क्रमित भएका थिए । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उनले सङ्क्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए । अहिले उक्त अस्पतालमा २७ जनामात्र स्वास्थ्यकर्मी सक्रिय सङ्क्रमित छन् ।

मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो ।सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ ।सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । यस्तै वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् । सङ्क्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स रहेका छन् । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्सको निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिए ।