प्याड र ढाल

Hollywood Khabar May 03,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, अप्रिल २०, २०२३

एकाबिहानै
आफ्नी छोरी पहिलो पटक
रजस्वला भएको थाहा पाएपछि
आमाले घरदेखि पर एकान्तमा
छोरीलाई छाउगोठमा राखेकी छन्
कुन उद्देश्य लिएर
प्रपञ्च रचेका थिए पुर्खाहरूले
यो थाहा भएन
तर, छोरी मान्छेलाई
घरदेखि पर राख्नु भनेको
घर न घाटको बनाउनु हो !!

दिन होस् या रात होस्
सधैँ अन्धकार र भय देखिने छाउगोठ
प्रज्वलनशील शक्ति बोकेर
एकरफ्तार बलिरहेछ टुकीमा दार
मन्द आवाज सुनिन्छ
दुखाइ र पीडाको आवाज
कसले सुन्छ एकान्तको आवाज
कसले बुझ्छ दिल दुखेको आवाज
आउनेहरू एकादुई आउँछन्
सपनीमा जस्तै
झुलुक्क देखिन्छन् फर्कन्छन्
सान्त्वना दिएर !!

एकमन त लाग्छ
के रजस्वला हुनु पाप हो ?
नत्र यो नियम कसले बनायो ?
यो कानुन कसले बनायो?
सोध्नु छ धर्मशास्त्रका ज्ञाता पिताहरूलाई ?
वेद, व्यास र कुरानमा के लेखिएको छ भनेर !!

व्यर्थै!
यो दुनियाँको रङ्गमञ्चमा
नाटक प्रदर्शन गर्नको निम्ति
प्रेम अस्त्र भनौँ
या युद्ध बिरामको वार्ता भनौँ
के भनौँ
लडाइको मैदानमा
युद्ध लड्नेहरूका लागि
सौलियतपूर्ण ढाल
निशुल्क वितरण गरिएको छ
रोग, त्रास र इज्जतका लागि
अकालमा ज्यान नगुमोस् भनेर !!

थाहा छ
यो देश पितृसत्तात्मक देश हो
यो देश पुरूषहरूको देश हो
आजसम्म स्वतन्त्रता नभएको देश
नत्र महापुरुष जस्तै
आफ्नो हक, हित र अधिकार
महिलाले कहिले पाउने ?
महिला अधिकारको आवाज
कसले उठाउने ?
स्वास्थ्य सुरक्षाको लागि
प्याड कहिले पाउने ?
प्राकृतिक रूपमा रजस्वला भएका
निरीह बालिका
कहिले छाउगोठबाट घर फर्कन्छन् ?
यो आवाज
सुदूरपश्चिमको लागि हो
यो आवाज
देश चलाएका छौँ भन्दै
घुम्ने कुर्सीमा बस्नेहरूका लागि हो
जसले आजसम्म न्याय
पाएको छैन
यो आवाज
उसैको आवाज हो !!
========