आइएलओको डाम्ना मिलीजुली खाम्न, भेरोले थाम्न-राउतलाइ सिइओ-एनआरएनका डाम्ना-भाग-४

Hollywood Khabar August 04,2023 Comments

कृष्ण के सी अमेरिका, अगष्ट ४, २०२३ 

चोरलाई चौतारी साधुलाई शुली भन्ने प्रसिद्ध नेपाली उखान समाजमा चरितार्थ हुन्छ तर गैरआवासीय नेपाली संघको नाममा विभिन्न काण्ड र निजि स्वार्थको चरितार्थ त सबै माझ छर्लङ्ग हुँदै आएको छ।

कोरोनाको महामारीको समय आइएलओ सहायता परियोजनामा १० करोड भन्दा धेरै रुपैयाँ घोटाला गर्नमा संलग्न भनी कारवाहीका लागी सिफारिस गरिएका राजेन्द्र कुमार राउतलाई अहिले डामेको साँढे बनाएर प्रमुख कार्यकारी नियुक्त गरिएको रहेछ।

खुल्ला प्रतियोगिताबाट छनोट गरिएका सीइओ रवि किरण अधिकारीलाई राजीनामा गर्न वाध्य पारे पछि बिना कुनै प्रतिस्पर्धा डा बद्री केसीले राउतलाई सीइओमा नियुक्त गरेका हुन्। अन्तरराष्ट्रिय क्षेत्रमै एनआरएनएहरुको बेइज्जति गराएको उक्त घोटालाको विरुद्धमा अख्तियारमा पनि उजुरी परेको थियो।

त्यसबारे हलिउडखबरमा प्रकाशित धेरै मध्ये तीन (३) वटा आर्टिकलहरु अहिले पनि आइएलओको मुख्यालमा पुगेको खबर त निवर्तमान अध्यक्ष कुमार पन्तले बताउनु भएकै हो। त्यो समय उहाँले भन्नुभएको थियो, हाम्रो लागि कठिन तर तपाइको लागि राम्रो होला-आइएलओले तपाइको हलिउडखबरमा पोस्ट भएको लेखनलाइ थप प्रमाणको रुपमा स्वीकार गरेको रहेछ।

राउतलाइ साँढे बनाएर मिलेमतोमा गरिएको आइएलओ घोटाला डाम्ना काण्डको केहि अंश:

१. कोरोनाप्रभावित नेपाली मजदूर तथा श्रमिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच एक संझौता भएको थियो। त्यसमा मध्य पूर्वका विभिन्न मुलुकमा सञ्चालित परियोजनामा व्यापक आर्थिक एवम् प्रशासनिक भ्रष्टाचार भएको पाईएको थियो।

२. सम्झौता अनुसार आईएलओले नेपाली श्रमिकहरूको राहत तथा उद्धारको लागि आइसीसीमार्फत चार चरणमा युएई दिराम २१ लाख ६ हजार ५९१ (करिब ७० लाख नेपाली रुपैयाँ) रकम उपलब्ध गरायो र परियोजनाको शुरुवात सन् २०२० सेप्टेम्बर पहिलो हप्ताबाट भयो।

३. संघको विधान अनुसार कार्यसमितिको अनुमतिमा मात्र अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोल्नुपर्नेमा एनआरएनए दुबईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाको नाममा काठमाडौंस्थित माछापुच्छ्रे बैंकमा ६० हजार डलर (करिब ७० लाख रुपियाँ) राखी संयुक्त खाता खोलियो तर कोइरालाले यसको जानकारी कार्यसमितिलाई दिएनन्। एकपछि अर्को विवास्पद निर्णयहरू आएपछि गैरआवासीय नेपाली संघ युएइका अध्यक्ष कोइराला र द्वित्तीय उपाध्यक्ष शेर्पालाई एनसीसी यूएईको बैठकले बहुमतद्वारा निलम्बन गरी प्रथम उपाध्यक्ष निरन्जनप्रसाद सिलवाललाई कार्यवाहक अध्यक्ष बनायो ।

४. त्यसपछि संघले एनआरएन युएईमा देखिएको आर्थिक अनियमितताका बारेमा छानबिन गर्न गत १९ फेब्रुअरी २०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य राजु केसीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। जसको सदस्यहरूमा भुवानीप्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरी, लक्ष्मण खनाल र महेश मोक्तान रहेका थिए।

५. छानविन समितिले करिब एक महिनासम्म अनुसन्धान गरेपछि ६२ हजार ७ सय युएई दिराम (करिव २० लाख रुपैयाँ) आर्थिक अनियमितता भएको प्रतिवेदन एनआरएनएलाई बुझायो।

परियोजनाअन्तर्गत केही तलबी स्वयंसेवक राख्नुपर्ने थियो। एनआरएनए युएईका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पाले आफूनिकट आईसीसी संयोजक प्रवीण पोखरेललाई मासिक नौ सय डलर दिने गरी कर्मचारी तोके। पोख्रेलले कोइरालाको सिफारिसमा मासिक ६ सय डलर खाने गरी समीक्षा तिवारी, मोहन राई, सुशन आचार्य र सुदर्शन खड्कालगायतलाई स्वयंसेवक नियुक्त गरे। यी सबै भिजिट भिसामा युएई पुगेका बताइन्छ। तर, युएईको कानुनअनुसार भिजिट भिसामा गएकाहरूले काम गर्न नपाउने प्रावधान रहेको छ।

६. प्रवितवेदनले पोखरा हार्ड एन्ड इलेक्ट्रोनिकबाट विद्युतीय सामग्रीहरू खरिद गरिएको उल्लेख भए तापनि उक्त पसलले ल्यापटप, प्रिन्टर, माउस आदि बिक्री नगरी निर्माण सामाग्रीहरू मात्र बिक्री गर्ने देखिएको छ । यसबाट समिति नक्कली बिल भर्पाइ पेश गरिएको ठहरमा पुगेको थियो।

७. परियोजनाअन्तर्गत समस्यामा परेका नेपालीहरूको लागि आश्रयस्थल (सेल्टर) र खानामा समेत व्यापक अनियमिता भएको प्रतिवेदनले देखाएको छ। सेल्टरमा बस्नेहरूका अनुसार केही पीडित श्रमिकहरू २८ नोभेम्बर २०२० मा सेल्टरमा बस्न गएको र डिसेम्बर २४, २०२० मा कोठा छोडेको जानकारी दिएका बताइएको छ। हरेक पटक एयरपोर्ट गएको र फर्केको ट्याक्सीको मिटरमा ठ्याक्कै ८०० नै हुने गरेको छ। तर समितिलाई आईसीसीबाट उपलब्ध गराइएको बिल भर्पाइमा अक्टुबर, नोभेम्बर र डिसेम्बर गरी ३ महिना राखेर सोहीअनुसारको भुक्तानी दिएको देखिएको छ। सेल्टरका लागि मासिक २ ओटा कोठा लिएको भनिए पनि उपाध्यक्ष पासाङ शेर्पाले कोठाधनी उत्तम भण्डारीसँगको मिलेमतोमा पीडितहरू तथा अन्य भाडामा बस्नेहरूलाई सगोलमा राखेको र अन्य व्यक्तिहरूसँग मासिक ५०० का दरले ५ जनासँग भाडा २५०० लिएको देखिएको छ। सेल्टरमा बसेका नेपालीहरूलाई उपाध्यक्ष पासाङ शेर्पाद्वारा सञ्चालित कंचनजङ्घा रेष्टुरेण्टमा भाँडा माझ्ने काम लगाएर श्रम शोषण गरेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, खानाका लागि होटलले तीन सयका दरले कोटेशन दिएको तर बिल भुक्तानी गर्दा मासिक चार सय पचासका दरले भुक्तानी गरिएको उल्लेख छ। यसरी खानामा प्रतिव्यक्ति मासिक १५० दिराम र खाना एवम् कोठामा गरी १० हजार ५०० दिराम आर्थिक अनियमितता गरेको देखिएको छ । वितरण गरेको खाना प्याकेटमा २५ हजार दिराम अनियमितता भएको औंल्याइएको छ।

८. समितिले आफ्नो निष्कर्षमा उल्लेख गरेको छ- समितिले गरेको छानबिनको प्रक्रियामा बयान, छलफल, अनुसन्धान, खोज र अध्ययनपश्चात ६२,७०० युएई दिराम आर्थिक अनियमितता भएको देखिन आउँछ। समग्रमा हेर्दा एनआरएन आईसीसीको पहलमा आइएलओमार्फत कोभिडप्रभावितहरूको लागि राहत तथा उद्दार शीर्षकमा एनआरएन एनसीसी युएईमार्फत भएको आर्थिक क्रियाकलापमा बिलहरूको कीर्ते, छली गरी अनियमितता गरेको भनी छानविन समितिको ठहरसहित यो प्रारम्भिक प्रतिवेदन पेश गरेका छौँ।

९. उक्त प्रतिबेदनले तत्कालिन केन्द्रीय उपाध्यक्ष एवम् वैदेशिक रोजगार टास्कफोर्सका संयोजक बद्री केसी तथा उनैले नियुक्त गरेका परियोजना प्रबन्धक राजेन्द्र कुमार राउत लगायत उपर नैतिक र आर्थिक प्रश्न खडा ग-यो । तर केसीले कुनै पनि अनियमितता नभएको दावी गरे भने राउतले संघको नियम विपरित लेख तथा अन्तरवार्ता मार्फत घोटाला भएको पुष्टि गर्न चुनौती दिए। तर प्रतिवेदनअनुसारको आर्थिक अनियमितता वा भ्रष्टाचार सकार भएमा परियोजनामा संलग्न रही आर्थिक अनियमितता गर्नेहरू जेलसम्म जान सक्ने देखिएको छ ।

१०. जुलाई १, २०२० देखि २८ फेब्रुअरी २०२१ सम्म नेपाल, मलेसिया, साउदी अरब, कतार र युएइमा उक्त परियोजना सन्चालन गर्न स्विस सरकारको आर्थिक सहयोगमा आइएलओले एनआरएनएलाई रु ५ करोड १० लाख सहयोग दिएको थियो। तर ८ महिना भित्र ५ करोड खर्च गरेको देखाउन व्यापक अनियमितता गरिएको परियोजनाका कर्मचारीहरुले नै बताएका थिए।

१०. युएइ बाहेक अन्य मुलुकहरुमा पनि करोडौं घोटाला गरिएको जानकारहरु बताउँछन्। तर एनआरएनएको तत्कालिन नेतृत्वले यो पुरै प्रकरणलाई गुपचुपमा राख्यो। त्यसैको फलस्वरुप डा केसीले लाजशरम केही नमानी अरु कसैको पनि सुझाव समेत नलिएर गर्दै भ्रस्टाचारमा पोख्त राउतलाई सीइओ नियुक्त गर्ने हिम्मत गरेको उताका सूत्रहरुको भनाइ छ।

************************************

भेरोले डामेका एनआरएनका डाम्नाहरु:

मोहम्मद मुक्तदा सहित २ दर्जन डाम्नाहरुले दूतावासहलमा नै नेपाली कुटे:एनआरएनका डाम्नाहरु भाग ३

भेरोले १ दर्जन पटक डामिएको अमेरिकाका एनआरएन, आजीवन सदस्य भएका डाम्नाहरु-भाग २

भेरोले डामेका एनआरएनका डाम्नाहरु-भाग १