काठमाडौँमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

काठमाडौँमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

Hollywood Khabar September 30,2021 Comments

उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ । आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।

कोभिड(१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १० देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी भने राति १० देखि बिहान ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ ।