कवि रत्न मिमोसा बायोङ राई 

अर्थभित्रको आफु

Hollywood Khabar January 11,2020 Comments

मैले अब के नै गर्न सक्छु भनेर नसोच्नु
यहाको यस्तै चालचलन हो भनेर नबस्नु
मेरो सपनाको डोरी चुट्यो सोच्दै नसोच्नु
हिड्दै गरेको बाटो छुट्यो भन्दै नबस्नु
आफुभित्रको भय र लज्जा हेर्दै नहेर्नु

नियाल्नु आफुभित्र पनि एउटा यस्तो शक्ति छ
र यो नबिर्सनु कहिल्यै
म जन्मिनुको पनि जरुर एउटा अर्थ छ

जहासुकैको माटोमा जन्मेको भएपनी
यात्रामा जतिसुकै पर्खाल रहेपनी
टेक्दै गरेको जमिन भासिदै गएपनी
आफन्तहरुको निकटता मेटिदै गएपनी

सिङ्गो लक्ष्य मै अल्मलिए सोच्दै नसोच्नु
दर्दमै निस्सासिए भन्दै नबस्नु
हेर्नू, आकाशमा पनि त कालो बादलको वरिपरि
चादीको घेरा छ
र यो नबिर्सनु कहिल्यै
म जन्मिनुको पनि जरुर एउटा अर्थ छ

गन्तव्य बिर्सदा दिउसै हराइन्छ
हैन भने जुनै बाटो हिड्दै पनि पुगिन्छ
पुर्खाहरुको आशीर्वाद शिरैमा रहेपनी
समालिएन भने गोडाहरु सम्मैमा पनि लडिन्छ

बुझेर बुझाएर राम्रोसग आफुलाइ
गलत हो भनी बुझेर फेरि पनि गलत नगर्नु
र के के भन्दै छ दुनिया सबै पनि नसुन्नु
सम्झनु कि दियो आफू जलेर पनि
अरुलाइ उज्यालो छरेकै छ

र यो नबिर्सनु कहिल्यै
म जन्मनुको पनि जरुर एउटा अर्थ छ
जे भयो भएर गयो हिजो सकियो
तर हिजोकै कारण आज
र आजको कारण भोलि हुनेछ

हिजोले मसग के लिएर हैन दिएर गयो त्यो सम्झनु
भौतिक चोला मरेर, जलेर सकिन्छ
तरपनी जहिल्यै बाचिरहने आशा जग्मगाउनु
बुझ्नु कति धेरै ठक्कर खाएर नै
कोइलाले हिराको रुप लिएको छ

र यो नबिर्सनु कहिल्यै
म जन्मनुको पनि जरुर एउटा अर्थ छ
सुन्दर सपना बोकी उचालिएका पाइलाहरु
रोकिएर बिचमै सारा कुरा टुटीगए
सम्झेर मनमा घाउ बल्झाएर नदुखाइदिनु

रातको आकार पनि घटेर जानेछ
दिनको ज्योती पनि हटेर जानेछ
जीवन भन्नू नै त संघर्ष हो
यसैले बनेको जीवनको आकार तर हार नखानु कहिल्यै
हेर्नू ढुङ्गाले पनि त कति चोट सहेर नै मुर्ती बनेको छ

नियाल्नु आफुलाइ पनि
र यो नबिर्सनु कहिल्यै
म जन्मनुको पनि जरुर एउटा अर्थ छ