-पत्रकार महासंघ युकेको निर्वाचन कमिटीबाट साराङकोटी बर्खास्त

पत्रकार महासंघ युकेको निर्वाचन कमिटीबाट साराङकोटी बर्खास्त

Hollywood Khabar May 27,2021 Comments

लन्डन, मे २८, २०२१

नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त रमेश सिं साराङकोटीलाई पदबाट बर्खास्त गरिएको छ।

गत मे ९, २०२१ मा बसेको महासंघ बेलायत शाखाको पूर्ण कार्यसमितिको बैठकको म्याण्डेट र महासंघ केन्द्रीय निर्वाचन प्रतिनिधिको निर्देशन उल्लंघन गरि केही व्यक्तिलाई पदमा पुर्याउने गतिविधिमा संलग्न भएको पाइएकोले उनलाई पदबाट बर्खास्त गरिएको हो।

महासंघका महासचिव संजयभक्त कंडेलले प्रमुख निर्वाचन आयुक्त साराङकोटीलाई निर्वाचन आचार संहिता विपरित काम गरेको पाइए पछि शाखाको बिहिबार बसेको आकस्मिक बैठकले पदबाट हटाएको जनाएका छन्।उनी माथि निर्वाचन समितिमा बसेर कार्यसमितिको म्याण्डेट विपरीत काम गरेको, केन्द्रीय प्रतिनिधि र महासंघ बेलायत संस्थापक अध्यक्ष र वर्तमान अध्यक्षले सहमतिको प्रयासका लागि आकांक्षीहरुविच सहमति खोज्दा पनि धाधली गर्न पोष्टल भोटिङलाई कार्यान्वयनमा ल्याएको आरोप लगाइएको थियो।

त्यस्तै बेलायतमा कोभिड १९ का कारण सरकारले कडा प्रतिबन्धहरु लगाइ रहेकै अवस्थामा ल्याण्डलर्डको लिखित अनुमति, स्थानीय काउन्सिलको लिखित अनुमति, इन्सुरेन्स तथा रिस्क असेसमेन्ट जस्ता अत्यावस्यक कदम विना नै नेपाल पत्रकार महासंघ युकेका सदस्यहरुको जीवन र स्वास्थ्य माथि नै गम्भीर जोखिम उत्पन्न हुने गरी 'इन्डियन भेरियन्ट’ बाट सबै भन्दा बढी प्रभावित पश्चिम लन्डनको साउथ ह्यारोस्थित एउटा रेस्टुरेन्टलाई निर्वाचन स्थल तोक्ने जस्तो गैर जिम्मेवार कार्य गरेको र त्यस्तो कार्यले संस्था कब्जा गर्न खोज्ने निहित स्वार्थी तत्वहरुको मतियार बन्न पुगेको प्रमाणित भएको पनि महासचिव कंडेलको पत्रमा उल्लेख छ।

निर्वाचन समितिमा बसेर स्वतन्त्र भएर काम नगरि अनावश्यक चलखेल र विवाद सिर्जना गर्ने काममा तपाई संलग्न हुनु भएको पाइएकाले आजको मितिबाटै तपाईलाई निर्वाचन समितिबाट बर्खास्त गरिएको जानकारी गराउँछु। केन्द्रसंग समन्वय गरी तोकिएको मितिमै भर्चुएल अधिवेशन हुने म सम्पूर्ण साथीहरुलाई सूचित गर्दछु," महासचिव कंडेलले पत्रमा भनेका छन्।

महासचिव कंडेलले नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौ अधिवेशन आउँदो १३ जुन मै भर्चुएल मध्यमबाट आयोजना गरिने पनि स्पष्ट परेका छन्।

महासचिव कंडेलको पत्र जस्ताको तस्तै:

श्री रमेश सराङकोटी

नेपाल पत्रकार महासंघ यूकेको सदस्य शुद्धिकरण समिति र कार्य समितिको पूर्ण बैठकले दिएको म्याण्डेट , नेपाल पत्रकार महासंघ यूकेका केन्द्रिय प्रतिनिधिले दिएको निर्देशन , बेलायत सरकारको स्वास्थ मापदण्ड र नेपाल पत्रकार महासंघ यूकेको विधान विपरित सहमति र सहकार्यलाई पूर्ण वेवास्ता गर्दै एउटा समुहका लागि मात्रै सक्रय हुनु भएकोले आजैका मितिबाट तपाईलाई नेपाल पत्रकार महासंघ यूकेको प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराउँछु ।

एउटा पक्षका प्रभावम परि गरिएका तपाईका सम्पूर्ण कार्यहरू मान्य नहुने जानकारी गराउँदै निर्वाचन समिति भङ्ग भएको जानकारी गराउँछु ।

यो पत्रलाई वेवास्ता गरि निर्वाचन प्रक्रियामा सहभागि भएमा नेपाल पत्रकार महासंघ र बेलायत सरकारको स्वास्थ मापदण्ड विपरित कार्यमा दोषी ठहर गर्दै आवश्यक कानुनी उपचार खोजीने जानकारी गराउँछु ।

नेपाल पत्रकार महासंघका जिम्मेवार व्यत्तित्व, शाखाका कार्यसमितिका साथीहरु, नेपाल पत्रकार महासंघ यूकेका प्रतिनिधि तथा कानुनी सल्लाहकारको परामर्शमा निर्णय लिइएको अवगत गराउँछु।

धन्यवाद;

महासचिव

सञ्जयभक्त कँडेल

नेपाल पत्रकार महासंघ यूके