-Tirtahraj Adhikari

हतार छ हजुर ! हतार छ !!

Hollywood Khabar June 26,2020 Comments

-तीर्थराज अधिकारी, गोरखा लप्सीबोट, हाल:सरस्वतीनगर, काठमाडौॅं-६//२७/२०
विवाहको अलमलले
केटी माग्न नबिर्सिएको भए
केटालाई दुलहा बन्न हतार छ
केटीले केटा रोज्न
नबिर्सिएको भए
उनलाई दुलही बन्न हतार छ
कसलाई , कहाॅं फुर्सद छ र ?
जन्त जान हतार छ
गहना र पोसाक देख्न हतार छ
देखाउन हतार छ
भोज खुवाउन हतार छ
खान हतार छ
उपहार दिन हतार छ
लिन हतार छ !

साइतै साइतले भरिएको
सारपूर्ण यस मासलाई
बुझ्दै नबुझी
असार भन्ने को होलान् ?

कतै कसैलाई
घुम ओढ्दै
मुठी रोपेर
मुरी उब्जाउने हतार छ
मेला जान र फर्कन हतार छ
कतै कसैलाई
जुममा जम्दै
कुरा रोपेर कुरा फलाउन हतार छ
भेलामा भेट हुन हतार छ
भेलाबाट छुट्टिन हतार छ !

मूललाई फुट्न हतार छ
खोलालाई जुट्न हतार छ
कुहिरालाई दौडिन हतार छ
पातलाई पौडिन हतार छ
इन्द्रेणीलाई फुल्न हतार छ
हलीलाई गोरु चुट्न हतार छ
बाढीलाई बस्तीमा डुल्न हतार छ !

सत्ताका शासकहरूलाई
गमलाका बिउ गमलामै रोप्न हतार छ
किन चाहिन्छ र मल ?
किन चाहिन्छ र स्थल ?
आफ्ना कृषिप्रेमी तस्बिरहरूले
संजाल ढाक्न हतार छ !
 

बजेट-दिनेलाई दिन हतार छ
बजेट- लिनेलाई लिन हतार छ
ठेकेदारहरूमा एकाएक जाॅंगर पलाएर
देशमा विकासको लहर ल्याउन !
रोकिएका तमाम काम
दिनरात केही नभनी सक्ने हतार छ
बिल-भौचर बनाउने हतार छ
कान र मुख मिलाउॅंदै
साउती मार्न हतार छ !

रविलाई घुम्टो ओढ्न हतार छ
कविहरूलाई
बाजेकविका गुणगान गाउन हतार छ
घाॅंसीले घाॅंस काटिसकेको
नारदजी सत्यलोक पुगिसकेको
खुसीको खबर !
गाउॅं-सहर सबैतिर सुनाउन हतार छ
बाजेका सालिक र तस्बिरहरूमा
फूलमाला चढाउॅंदै
कर्मकाण्डका विधि पुऱ्याएर
श्राद्धको प्रसाद खान हतार छ !

फुर्सद होला र कसलाई ?
कोही कसार बाट्दै होलान् !
कोही बेसार बेच्दै होलान् !
सबैलाई हतारै हतार छ
सारै सारको यस असारमा !!