-अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले स्वास्थ्य उपकरण र सामाग्री अगष्ट २७ मा नेपाल पठाउँदै

अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले स्वास्थ्य उपकरण र सामाग्री अगष्ट २७ मा नेपाल पठाउँदै

Hollywood Khabar August 16,2021 Comments

विज्ञप्ति

अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदै।

गैरआवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको छ । १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग सङ्कलन भइरहेको जानकारी गराउदछौं। आवाश्यक स्वास्थ्य सामग्री खरिद र सङ्कलनमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पदाधिकारी, बोर्ड सदस्यहरू साथै च्याप्टरका प्रतिनिधिहरूले काम गरिरहनु भएको छ।

नेपाल पठाउन लागिएको स्वास्थ्य सामाग्रीको सङ्कलन, खरिद र ढुवानीका सम्बन्धमा गैर आवासीय नेपाली सङ्घ अमेरिका अन्तरगतका २९ वटा च्याप्टरहरूको सक्रियतामा अगष्ट १५ तारिख जुम मिटिङ आयोजना गरियो । धेरै जसो च्याप्टरहरूले अक्सिजन कन्सन्टेटर, पीपीपीइ सेट र मास्क खरिद र सङ्कलन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ। कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष बुद्धि सागर सुवेदीले कार्यसमिति र आफ्नो तर्फबाट समेत अधिकतम सहयोग जुटाउन पहल गर्ने बताउनु भयो।

अगष्ट २७ तारिख अमेरिकाको युटाह राज्यबाट संकलित सहयोग सामाग्री नेपालका लागि पठाइँदै छ । त्यसका लागि २३ तारिख भित्र सबै सामाग्री युटाहा पुगिसक्नु पर्ने हुन्छ। कार्यक्रममा उपाध्यक्ष सुमन थापाले छोटो समयमा सहयोग सामग्री सङ्कलन र खरिद साथै युटाहसम्मको ढुवानीका लागि आफ्नो पहलमा भइरहेका कामको जानकारी दिनु भएको थियो । उपाध्यक्षद्वय गोपेन्द्र भट्टराई र दीलु पराजुली महासचिव अन्जन कुमार चौलागाई, सचिव अनुप खनाल,युवा संयोजक त्रीभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, बोर्ड सदस्य डाक्टर प्रकाश श्रेष्ठले सहयोग पठाउने अभियानमा आफ्नो तर्फबाट गर्ने काम र सहयोगका लागि प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

अमेरिकी सेनाको जहाजबाट ढुवानी

गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल सरकारलाई सहयोग स्वरूप पठाउन लागेका स्वास्थ्य उपकरण र सामग्रीको ढुवानी अमेरिकी सरकारले गरिदिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रम मार्फत सहयोग सामग्री नेपाल पठाउन लागिएको हो । अमेरिकामा रहेका प्रतिष्ठित गैर नाफा मूलक संस्थाले सङ्कलन गरेको दान सहयोगलाई सम्बन्धित देशसम्म पुर्‍याउन सहयोग गर्ने छ।

एनआरएनए अमेरिकालाई अमेरिकी सरकारको डेन्टोन कार्यक्रमसम्म जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व सल्लाहकार टेक्सस निवासी संकेश सुवेदीले कार्यसमिति र च्याप्टरहरुलाई अधिकतम सहयोग सामाग्री जुटाउन समेत आग्रह गर्नु भएको छ । सुवेदीले कार्यसमितिलाई अमेरिकी सेनाको धेरै क्षमता भएको के सी १३५ जहाजले समान ढुवानी गरिदिने हुँदा ठुलो परिमाणमा पठाउन सकिने जानकारी गराउनु भएको छ ।

डेन्टोन कार्यक्रमसँग गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सम्बन्ध जोडिनुलाई राम्रो उपलब्धिको रूपमा लिइएको छ । नेपाल समान ढुवानी गर्ने अमेरिकाको युटाह राज्यमा रहेको युटाह नेशनल गार्डको परिसर भित्र अगष्ट २३ तारिख समान पुर्‍याइसक्नु पर्ने हुन्छ। युटाह नेशनल गार्डका स्टेट पार्टनरसिप कार्यक्रम निर्देशक वीलियम के बाइसीन्जरले एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीलाई इमेल मार्फत सामान आइपुग्नु पर्ने समय, जाँच पडताल र उडान तालिकाको जानकारी गराउनु भएको छ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री लिएर अगष्ट २७ तारिख युटाह राज्यको साल्ट लेक सिटीबाट अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भर्नेछ। नेपाल पुगेपछि सबै स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरिने छ। गैरआवासीय नेपाली सङ्घ अमेरिकाले सहयोग स्वरूप पठाएका स्वास्थ्य उपकरण र सामग्रीको सही वितरण र प्रयोग होस भन्नका लागि अमेरिकी सहयोग नियोग युएनडीपीले नेपाल सरकारसँग मिलेर सम्बन्धित पक्षसम्म पुर्‍याउन सहयोग गर्ने छ ।

जहाजको ढुवानी क्षमता अधिकतम भएका कारण गैर आवासीय नेपाली सङ्घ अमेरिका सहयोगी, दाता र सरोकार राख्ने सबै पक्षलाई छिटो भन्दा छिटो धेरै सहयोग सङ्कलन र खरिद गरी स्वास्थ्य सामाग्री २३ तारिख भित्र युटाह नेशनल गार्डको परिसरमा पुर्‍याउन अपिल गर्दछ ।

तोया दाहाल

प्रवक्ता, गैरआवासीय नेपाली सङ्घ अमेरिका

मिति ०८–१६–२०२१