संस्कार

Hollywood Khabar April 09,2023 Comments

-सूचना तिमल्सिना, ललतिपुर/अप्रिल ९, २०२३

पछिल्लो समय सबै संस्कार प्रति शंका हुँदै थियो । किन संस्कार छ ? प्रश्न लिएर दृष्टा बनिरहेको थियो । संस्कार र थिति खासै नमान्ने भने पनि दिमाग कुनै न कुनै संस्कार टिपेर हिड्थ्यो, मान्थ्यो । शंका उत्पन्न भएपछि आफै छाड्थ्यो । दिमागलाई संस्कार मान्नैपर्छ भन्ने कुनै पारिवारिक दबाब थिएन । कहिलेकाही आएका सामाजिक दबाब उसलाई बशमा पार्न सक्दैनथे । क्षणिकतामा बिलाएर जान्थेँ । यद्यपी संस्कार के हो ? संस्कार किन रहिआएको छ ? प्रश्न सत्यको खोजीमा थियो । 

मृत्यु संस्कार

अक्सर दिमाग मृत्यु बारे खोजतलास गर्न रुचाउदैन । डर मृत्यु बारे प्रश्न वा बहसबाट भगाउछ । तर वेदना मृत्यु बारे प्रश्न गर्न डराउदैन । मृत्युसँगै वेदना देखिन्छ । असमायिक मृत्युमा झन् वदेना तीब्र गतिमा देखिन्छ । मृत्यु के हो जान्न गरिएको विधि मृत्यु संस्कार हो। 

जब मानिस मर्छ । उसलाई हिन्दू संस्कार अनुरुप जलाइन्छ । शरीर जल्छ । सकिन्छ । आफ्नो भनिएको मानिएको मानिस जलेर सिद्धिन्छ । मन छक्क पर्छ । एक जलेर जाने शरीरलाई उसले किन आफ्नो मान्यो । मोह राख्यो । अब ऊ एक्लोपनको बोध गर्छ । वेदना भावुक भएर पीडा पोख्छ । मानिससँग किन वेदना छ? 

बर्खी बार्ने मतलब मन तथा शरीर शुद्धिकरण गर्ने विधि हो । यो विधि ध्यान तथा योग हो । यो मरेर गएकालाई होइन कि बाँचेकाले आफूमा रहेको वेदना र डरको जड बुझ्न गरिएको बनाइएको संस्कार हो । तेह्र दिनसम्म एकान्तमा अरुबाट छुट्टिएर बसाइन्छ । खानामा फलफूल तथा शुद्ध खाना खाइन्छ । शुद्ध खाना भनेको शरीरले सहज रुपमा पचाउने र ताप कम निकाल्ने  खाना हो । शरीर सहज रुपमा रहेपछि मन पनि स्फूर्त रहन्छ ।   

बारखी कसले बार्ने विवाद रहदै आएको देखिन्छ । बारखीको प्रयोजन वेदना दिमागमा आउनुको राज बुझ्नु हो । जसकारण वेदना हुनेले बारखी बार्ने हो । वेदना आफैमा पुरुष वा महिला भनेर फरक हुँदैन । त्यसैले विवाद व्यर्थ देखिन्छ । मानिस छोरो वा छोरी परिचय प्रति जिम्मेवार होइन कि वेदनाप्रति जिम्मेवार हुनुपर्छ भन्न खोजिएको हो । यही वास्तविकतालाई बुझ्न नसकेकोले छोरा चाहिनै पर्ने कुप्रथा चलेको देखिन्छ । 

तेह्र दिन भित्र विष्णु गरुड भन्ने प्रचलन देखिन्छ । विष्णु पुराण ठेट वेदना र मृत्यु बारे नभनी काल्पनिक दुनियाँमा दौडाउछ । यमराज र यमलोक काल्पिनिक चित्रण गरेर बताउछ । वेदनाको छटपटी यसको नरकको कहानीले भुलाउन सक्दैन । वेदना किन छ ? मृत्यु के हो ? प्रश्न घुमिरहन्छ । विष्णु पुराण भट्टाइरहन्छ । वेदनाको मर्म पाठ पुराणले दिन नसकेपछि केहीको पनि औचित्य रहदैन । वास्तविकता देखिएपछि प्रश्नमा अल्झेर विवादित विषय बनाइराख्न पर्दैन । चाहिन्छ चाहिदैन भुमरीमा गइराख्नुको आवश्यकता हुँदैन । 

मानिस सदैव व्यस्त हुन खोज्छ । मनोरञ्जन भनेर दौडिन्छ । काम भनेर दौडिन्छ । तर बर्खीमा उसलाई एक वर्षसम्म छुट दिइन्छ । शरीर तथा मन शुद्ध गरेर जीवन बुझ्न दिइन्छ ।  बारखीमा छुन हुँदैन भनेको विचार वा भावलाई हो, कुनै पनि जातिको मानिसलाई होइन । मनको शुद्धता भनेको पनि यही हो; दिमाग वा वरिपरि चलेको कुनै पनि विचार वा भावलाई नचलाइ शान्त हुनु हो । यस तथ्यलाई नबुझेर छुवाछुतको चलन चलाइएको देखिन्छ । 

अञ्जान बानी संस्कार भनेर शास्त्र वाचन गरेर, सुनेर बसिरहन सक्छ । वेदना शब्दका खेलमा कम भएको देखिन सक्छ। तर पुन फेरी पटक पटक आइरहन्छ । यसलाई नै कर्म भनिएको देखिन्छ । कर्मकाण्ड गरिनुपर्छ मतलब वेदना, डरलाई पूर्ण रुपमा बुझ्नुपर्छ भनिएको हो । तबसम्म जबसम्म वेदना र डरको कुनै पनि शंका रहदैन । दिमाग वा मनले सुरक्षित हुन बनाएको बानी मतलब वेदना वा डर देखिएपछि त्यसबाट भाग्न बनाएको चलनलाई संस्कार हुन दिनु नै विवादमा जानु हो । बुझ्ने विवादमा फसिरहदैन मनन भएपछि त्यस्तो संस्कार स्वतः सकिन्छ । 

विवाह संस्कार

विवाह सामान्य रुपमा वयस्क पुगेकाको लागी पुरुष वा स्त्री शरीरको प्राकृतिकता बारे जान्न दिइएको सङ्केत देखिन्छ । फेरी विवाह संस्कारमा भने अजिव सम्मिश्रण देखिन्छ । विवाह संस्कारको प्रक्रिया तथा विधिका लागी प्रयोग गर्ने साधन तथा फलफूल हेर्दा दक्षिणी भारतबाट सुरुवात भएको हो कि अनुमान लगाउन सकिन्छ । अर्को साइपाटो आज हामीले गरिने विवाह दर्ता जस्तो देखिन्छ ।  

विवाह संस्कारले सही साङ्केतिक रुप नै गुमाएको देखिन्छ । त्यसैले होला संस्कार धेरै अलमलमा गुज्रिएको देखिन्छ । बच्चामा विवाह गरिदिने चलन देखि अहिलेसम्म आउदा दाइजो दिनैपर्ने चलन चलेको देखिन्छ । भने अर्को विवाह संस्कारले नबुझेको सौभाग्यको अर्थ । वेद, उपनिषद र गीताले मनमा रहिआएको शरीरको परिचयलाई स्पष्टसँग नकार गरेका छन् । यही ज्ञान अध्ययनबाट बुज्रुक बनेको भन्ने विचारले पुरुष शरीर परिचयमात्रलाई सौभाग्यशाली बनाइनु नै भ्रम थियो । यो यति साधारण कुरा छ कि जो कोही व्यक्तिले वेद वा उपनिषद वा गीता जुन कुनै पुस्तक पढ्दा पनि बुझ्न सक्छ । तर विधुवा बन्न पर्ने चलन यति लामो समय अञ्जानमै जाना जानमै अजीव तरिकाले चलिरह्यो । अझ पनि चल्दै छ ।

अर्को दाइजोकै कुरा गरौँ । दान परिणत भइ दाइजोमा पुगेको देखिन्छ । दान के हो ? कथा उपनिषदले दान बारे स्पष्ट बताउछ । कथा उपनिषद सप्ताह लगाउदा पटक पटक सुनाइएको भेटिन्छ । सप्ताह यसमा नै आधारित बनाइएको देखिन्छ । तर सुनाउने र सुन्ने व्यक्ति किन यथार्थ भन्न र सुन्न चुक्छन् ? भन्न पवित्र भनिरहे पनि ध्येय नै लोभ देखिन्छ । त्यसैले दानको अर्थ लोभले बताउन नसकेको हुनसक्छ । किनकी कथा उपनिषदले स्पष्ट भनिदिएको छ, दान दिनुपर्ने लोभको हो । दान दिनुपर्ने भावमण्डलीसँग उठ्ने विचारको हो। 

अब दान अर्थ नबुझेर दाइजो शब्दमा पुगेको दान केही देख्दैन । अन्धाधुन्ध भइ अलमलमा लोभको भट्कारोमा परिरहेको छ । बाढी आउदा हिडेको पानीको बहाव जस्तो । जसले जति माग गरेपनि हुने । आफूसँग दान गर्न धन नभएपनि नाइ भन्न नसक्ने । दिनुपर्छ भनेर दगुर्ने। किन दिनुपर्छ थाहा छैन । दिनुपर्छ कहाँबाट सुरुवात भयो नखोज्ने। नयाँ मानिएको पुस्ता होस वा पुरानो पुस्ता सबै यही भट्खाल परिरहेका देखिन्छन् । प्रश्न गर्ने वा प्रश्न मनमा बोकेर हिड्ने जो कोही पार गर्न सकेको देखिदैन । चाहे महिला परिचयात्मक विचार वा पुरुष परिचयात्कमक विचार बुलन्द भएर मलाई विवाहमा सम्पति चाहिदैन भन्न सकेको देखिदैन । एकाध कहिले कहिले कोहीले पार गर्छन् ।

जन्म संस्कार

छैठौ दिनमा भावी कोर्ने चलन रहेको छ । यसको सूचक दिमागको विकाशको सुरुवात हो । न्वारन पनि दिमागको सुरुवातीको संङ्केत देखिन्छ । पहिला नामाकरणको प्रयोजित गोत्र र थरसँग थियो कि अनुमान लाउन सकिन्छ । जुन विवाह सँस्थागत गर्न प्रयोग गरिएको हुनुपर्छ । किनकी सात पुस्तासम्म विवाह गर्न नदिनेजस्तो चलन चलाउनका प्रयोग गरिएको अनुमान गर्न सकिन्छ । हाम्रो एक पुस्ता अघिसम्म पनि नामाकरण अरु खासै महत्व थिएन । पछिल्लो समय प्रभुत्व पाउन थालेको हो । डिजिटल टेक्नोलोजी र सामाजिक सञ्जालसँगै यसप्रति मोह बढेर गएको देखिन्छ । 

यो लेख विपश्यना जानु अघि पठाउन खोज्दै थिएँ । तर मिलेन । यसपछि लेखेको लेख विपश्यनाबाट आएपछि लेखेको लेख हो । बाहिरी संस्कार बारे लेखिएपनि मनले बनाएको संस्कार लेख्न छुटेको थियो ।

मनले बनाएको संस्कार

दिमाग संस्कारको भोगी हो । आवाज, चित्र र अनुभव बराबर मनलाई बशमा पार्छन् । वास्तविकता बुझ्न नपाउदै एक अर्कामा अनुबन्धित भएर क्षणिक वास्तविकता तयार पार्छन् । चित्रले अनुभवलाई तान्छ । अनुभवले चित्र । आवाज अनुभवलाई तान्छ । अनुभव आवाज तान्छ । अजिव तरिकाले अञ्जानमा यो चक्र चलिरहन्छ । 

यदि दिमागमा गहिरिएर हेर्ने हो भने अनुभव हरबखत रुपमा चलिरहेको हुन्छ । अनुभवलाई बिना आवाज, बिना चित्र मतलब बिना कल्पना हेर्ने हो भने शरीर कम्पनको रुपमा रहेको हुन्छ । पीडा भने चिसोको रुपमा जमेर बसेको हुन्छ । भने धड्कन, र्ससराहट, चिरचिर, अनेक अनुभव शरीरमा रहेको हुन्छ । त्यसलाई बिना कल्पना लगातर हेर्ने हो भने तिनीहरु सकिन्छन् । मुख्यतय पीडा र डरको स्वरुप हेर्न गाह्रो पर्छ । पीडासँग जम्मा भएको यादका विगत शब्द बनेर निस्कन्छ । कहिले चित्र बनेर निस्कन्छ । यसलाई लगातार हेरिरह्यो भने तिनीहरु आउछन् र जान्छन् । काही बिचमा पीडा यस्तो हो भन्न बस्यो भने अड्किन सकिन्छ । पीडा सकिएको नहेरिकन पीडा कस्तो हो भनेर बयान गर्दैमा जान्छ । 

त्यसैले लगातार अनुभवलाई हेरिरह्यो भने त्यसमा भएको शक्ति क्षण हुँदै सकिन्छ । एकचोटि शरीर र दिमागमा भएको यो वास्तविकतालाई राम्ररी बुझेपछि, अनुभवको रुपमा दिमागमा संकलन भएको भन्ने देखेपछि, दिमाग अब अनुभव हेर्न डराउदैन। तर बेला बेलामा देखिने शब्द र कहानी अनुभव हेर्न भुलाइदिन्छन् । ला अब म हेर्न सक्दिन । दुखेर मरे । म त भाउन्न नै हुन्छु कि क्यो हो । अनेक शब्द अनुभवलाई हेर्न खोज्दैनन् । यदि शब्दलाई हेर्ने हो भने पनि शब्दहरु पनि आउछन् र जान्छन् । उनीहरु बानी स्वरुप मतलब संस्कार स्वरुप आउछन् र सकिन्छन् । शरीर चङ्गा हलुका हुँदै गएपछि मन शान्त भएपछि शब्द, चित्र र भाव  आएको र गएको देख्न सकिन्छ । त्यसपछि अनुभव शब्द र भावमा कसरी मानिसमा भ्रम पैदा गर्छन । भेउ पाउन सकिन्छ ।

क्रमशः

****************

सूचनाका अरु लेखहरु

चन्द्रमाको उज्यालोमा बसन्तपुर

म को हूँ ?

पुतलीको नाच

फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ 

उपद्रो मन

अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ