बलिरहेको बस्ती

Hollywood Khabar May 11,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, अप्रिल २०, २०२३

हाम्रो पुर्खाहरूले
बडो कष्टले तयार पारेको इतिहास
जगेर्ना गरेको केही समय पश्चात् रित्तिदैँ छ
इतिहासको पाना पुरानो भएर होला
केही इतिहासमा गाता छैनन्
केही इतिहासमा गाथा छैनन्
केही इतिहास
बाढीपहिरो र भूकम्पले पनि बगाए, पुरे
चिराफारा पारेर फालिएको छ
डाँडापाखा, थुम्काहरूमा
अक्षरहरू छरपस्ट छन्
इतिहासको ठेलीहरूमा
वर्णविन्यास नमिलेर
विचारको तालमेल नमिलेर !!

सहरका केही विकासे योजनाले
गाउँघरमा गोरेटो बाटो भत्किएको छ
आयआर्जनको फाँटवारीमा
धमिराहरू सुरेली खेलिरहेका छन्
पाखापखेराहरू सर्वाङ्ग देखिन्छन्
पानीको मुहान र कुवाहरू सुकेका छन्
आकाश आकुल व्याकुल भएर
सूर्यको तेज प्रकाश छोडिएको छ
मौसम अनुकूल छ
देशको ढुकुटीबाट छुट्याएको
मोटो-बजेटको लागत नसकिएसम्म
डोजर लगाउन छोड्दैनन्
हाम्रा ठेकेदारहरु !!

आशाको दियो
जगमगाएको छ गाउँबस्तीहरुमा
हावाले पनि निभ्न सक्छ
दियोमा तेल थपिन पनि सक्छ
नथपिन पनि सक्छ
विश्वास हुँदैन
आकाश कुनबेला गड्गडाउँछ
कुन बेला पानी पर्छ
मौसमविद्ले अनुमान गर्न सक्दैनन्
मरेको ठुटोमा आँकुरा कसरी
पलाउँछ भन्नु !!

दैवीप्रकोपले थिचोमिचो पारेको गाउँबस्तीमा
ढलेका घरहरू उठ्न सकेका छैनन्
परदेशी छोरो घर फर्कन सकेको छैन
यी आँखाले सुक्खा पहिरो खसेको देख्छु
आकाशमा उड्ने चराहरू पनि
आफ्नो ठाउँ छोडेर दूर पुगेछन्
दूर देशका मुसाफिरहरु पनि
आउँदैनन् आजभोलि
विश्वास टुटेको छ
नाता टुटेको छ
पहिले जस्तो प्यास मेट्ने ढुङ्गेधारा छैन
पहिले जस्तो शीतल बस्ने चौतारी छैन
पहिले जस्तो सुन्दर हरियाली छैन
यहाँ त केवल
माटो बिनाको पत्थर
खोला बिनाको बगर
अन्न बिनाको पेट
हिमपातले सखाप पारेको
अजङ्ग पहाड छ
जुन चिज अब
यो संसार हेर्न रुचाउँदैन
इतिहास खोज्दाखोज्दै
इतिहास हराएको बस्ती
निरन्तर बलिरहेको छ
निरन्तर जलिरहेको छ

शीतल निश्चलका कविताहरु