आकाशको जून

Hollywood Khabar May 19,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, अप्रिल २०, २०२३

छरेर
विचारको मलिलो माटोमा
आशाका बिस्कुनमा सुकेका
स्वाभिमानका ती सुनका अक्षरहरू
र रोपेर माटामा सम्भावनाका शिखरहरू
तासेर खुर्पाले औँसीका ती काला हाँगाहरू !!

अझै भनूँ
उखेलेर अभिमानका
भूकम्पका गहिरा ती जराहरू
पिसेर सिलौटामा नछरी उम्रेका
ती तितेपातीहरू
र हत्केलामा वर्तमानका बिहानी
च्यातेर अस्तित्वको पहिचान
गाउनु छ हजुरियाको भोको गीत
र पस्कनु छ आँफैले आँफैलाई
असरल्ल परेर लाचारीका थालमा !!

अझै भनूँ
रोपेर कलमहरू
उमार्नु छ मलाई
अग्राखका अग्ला ती रूखहरू
उफ्....!
बुझ्नु साथी
त्यतिकै कठिन छ
जति कठिन छ
आलीमा उभिएर जून टिप्न !!

शीतल निश्चलका कविताहरु