ऊज्यालोको पर्खाई

Hollywood Khabar January 22,2024 Comments

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, जनवरी २२, २०२४

रात्रीको अन्तिम प्रहरमा
निद्रादेवीको आगोसबाट
ओर्लिएर म समुद्री तटमा
उज्यालोको पर्खाईमा ऊभिएको छु !

घोर अन्धकारदेखि बिरक्तिएर,
छालहरु नथाकिकन किनारा
भिजाईरहेछन् निरन्तर …
अंध्यारोलाई चिर्दै देखिई लालीमा
सम्पूर्ण रंगियो पर क्षितिजमा
त्यो रातो रंग सागरभरी छरिए
भाष्करको आगमनको संकेत दिदै ।
मेरा नयन एकटकले त्यही
पूर्वी क्षितिजमा केन्द्रित छन् !
 
म पलपल उल्लासित भैरहेछु
मुटुको ढुकढुकी तीब्र हुदैछन्
अधिर मन पुलकित हुन थाल्यो
जब रविले आफ्नो प्रज्ज्वलित
आभा लिएर सुस्त सुस्त गगनमा
प्रकट भई धर्तीमा नजर फिराए
समुद्री जलमा स्वर्ण असर्फि छर्दै !

यो सुर्योदयको अपूर्व छटा देखेर
आत्मविभोर हुदै म अनायास चिच्याएं
आहा ! केवल एक सुर्य
जसको तेजले सारा जगत
प्रकाशमान भयो
जो एक भई अनेकको प्राण पोशक बन्यो !

हामी मानव ग्रहण गर्न सकौं
यस्तै प्रकाश ! अनि छर्न सकौं ज्ञान,
विवेक र सदबुध्दिको ऊज्यालो !!!

**इन्दु पन्तका अरु कविता**