Hollywoodkhabar advertisement

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर !

-Suchana Timalsina, Lalitpur

सुचना तिमल्सिना, ललतिपुर, फेब्रवरी १३, २०२१

हेल्लो देअर !

मन पराउछौ रे हो ? के मन पराउछौ होला ? चकित भएकी छु। रुप ? बानीव्यहोरा? भावना, सोच वा विचार ? शरीर ? मन पराउने कुरा के भेट्यौ होला ? जसले तिमीलाई गुरुत्व केन्द्रले आफूतिर तानेझै तानिरहने छ !

म त मसंग भएका सब कुरा क्षणिक मात्र देख्छु। बानीव्यहोरा जो परिवर्तन भइरहन्छन। परिवर्तन भएर जाने कुरा कसरी, कहिले, कति दिनसम्म मन पराउछौ होला ? मन पराउदा मन पराउदै छुटेर जान्छ। अनि दुखित बन्न पर्ने हुन्छ। अनि माया दुख बन्न जान्छ।

रुप ?

रुप मन पराउदा तुलना गर्नुपर्ने हुन्छ। राम्रो र नराम्रो ट्याग लगाउनुपर्ने हुन्छ। आँखाबाट परेला छुट्टयाउनु पर्नेहुन्छ। छुट्याएर बजारमा राखेर नापतौल गरेर राम्रो देख्यो। तुलना गर्दा संख्या छुटेको हुन सक्छ । कतै संख्या छुटेछ भने फेरी नापतौल गर्दा पुरानो भावना विलय हुन्छ । अनि खै त माया ? अनि खै त मोहकता ? हेल्लो देअर मन पराउछौ ? मन पराउन सक्छौ ?

भावना ?

भावना जुन अवशेष मात्र हुन। दुइ केमिकल प्रतिक्रिया हुँदा केमिकलको साथमा निस्कने ताप जस्तो। जसमा एउटा निस्कदा अरु साथमा आउछन। जस्तै रिस निस्कदा असन्तोष/सन्तोष साथमा आउछन। फेरी जसको आयु छोटो छ। तिमी मुस्कान हेरेर मन पराउला। तिनीहरु रुवाइमा परिणत होलान्। तिमी रुवाइलाई कमजोरी ठानी बल दिन बसौला। तिनीहरु महत्वकांक्षी बन्लान्। उल्टै तिम्रै भावनालाई कज्याउलान्। अनि तिमी भावनालाई हेरेर महिलालाई बुझ्न सकिदैन भन्दै हिडौला। अब तिमी परिवर्तित भइरहने भावनालाई कसरी संगालेर कता च्यापेर कता छुटाएर कहिले सम्म मन पराउन सक्छौ होला? हेल्लो देअर मन पराउछौ ? मन पराउन सक्छौ ?

शरीर ?

शरीर मन पराउछौ ? किन ? तिमीले खोजेको उचाइ, तौलाई मिल्न गएर अथवा अंग प्रत्यंग एक एक केलाएर रसरोगनका निमित्त। विज्ञान शरीरलाई मेसिन भन्छ। उपनिषद बह्मा भन्छ। दुबैको निचोड उस्तै छ। हुन सक्छ फरक पनि ! शरीर जो उत्पादक हो। जन्माउछ, पाल्छ र मार्छ। जो बाचुन्जेल क्रियाशील रहन्छ। क्रियाशीलताले शक्ति क्षीण हुन्छ। शक्तिको क्षीणतासंगै परिवर्तन आउछ। परिवर्तनले क्षणिकता जन्माउछ। त्यो क्षणिकतलाई; त्यो आयुलाई कहिलेसम्म मन पराउने ? मन पराउने विचारको समेत आयु हुन्छ। हेल्लो देअर के मन पराउने ? कसलाई ? किन ? के का लागि मन पराउने ?

स्वास प्रस्वास

मसंग निरन्तर रहने भनेको स्वास प्रस्वास मात्र हो । त्यो त तिमीसंग पनि छ। आकाशसँग पनि छ। पृथ्वीसंग पनि छ। सजीव प्राणी सबैसंग छ। म त उदेक भएको छु। अब तिमी के मन पराउने ? अँ मैले पढेको विषय।

मेरो ज्ञान

ज्ञान त समाजमा यत्रत्यत्र छरिएको विचार सिद्धान्त टिपेको कुरा हो। हो वा होइन भनेर छुट्याएर दिमागमा भरेको कुरा हो। त्यो आफै समाज हो। प्रकृति हो। फेरी ज्ञान चाहिएको बेलामा आउन पनि सक्छ। नआउन पनि सक्छ। आएको बेलामा क्या बुद्धिजीवी भनेर जान्छन्। नआएको बेलामा बुद्धु भनेर जान्छन्। बुद्धिजीवी भन्दा फुरंग परेर चम्कने मन, बुद्धु भन्दा निसृक्क पर्न जान्छ। त्यसैले म त खुसी भएर पनि दुखी हो। दुखी भएर पनि सुखी हो। मसंग केहि पनि अजीव कुरा छैन। केहि पनि नयाँपन छैन। म त प्रकृति जस्तै छु। म त तिमी जस्तै छु।

हेल्लो देअर कसलाई मन पराउछौ ?

आफैलाई वा मलाई ? आफ्नो अपुग भावनालाई वा अपुग भावना मसंग रहेको ठान्ने विचारलाई? तिमीलाई लाग्ला कस्तो बेइमानी ! कस्तो भावनाको उलटपुलट ! लाग्छ। लाग्नदेउ त्यही त सधा बाँचिरहने परिवर्तन भन्दा मसंग अरु केहि छैन। मैले लिने हावा समेत अदलबदल भैरहन्छ। हेल्लो देअर के परिवर्तनलाई मन पराउछौ ? के परिवर्तन थेग्न सक्छौ ? पलपलको परिवर्तन र परिवर्तनसंग गुडुल्किएर समय रोकिएको भान लिन सक्छौ ?

परिवर्तन नबुझेर परिवर्तनसंग साझेदारी गर्न पुग्लाउ । साझेदारी गर्दा माया परिवर्तन भयो भन्दै हिड्लाउ। परिवर्तन भएको त चाहना हो। वैशमा मन पराएको कुरा स्वभावत चाहनासँग मिसिएर प्रकृति बन्न खोजेको भन्लाउ। के चाहना माया हो र ? चाहना त चाहना मात्र हो। माया श्रीप माया मात्र हो। नछुटिदा अनेक रुप लिन्छ। हेल्लो देअर अझ मन पराउछौ ? सबै छुट्दा, सबै परिवर्तन हुँदा, सबै सकिदा के मन पराउछौ होला ? अझ केही तिमीले मन पराउने कुरा भेट्यौ ?

ADVERTISEMENT-----